काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालले चीनले आधुनिक विज्ञान र प्रविधिमा आधारित नवप्रवर्तनलाई निरन्तरको सुधार र खुलापनको केन्द्रमा राखेको बताएका छन् ।

चीनको ग्वाङ्झाउमा आयोजित अन्डरस्टान्डिङ चाइना कन्फरेन्सको आठौं श्रृंखलाको प्लेनरि सेसनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले चीनले शिक्षा, दिगो विकास र प्राविधिक प्रगतिलाई अघि बढाएर चीनले नवप्रवर्तनमा आफूलाई विश्वको सर्वोत्कृष्ट मुलुकको रूपमा आफ्नो स्थिति सुदृढ गदै लगेको बताए ।
‘चीनको सुधार र आधुनिकीकरणको मार्ग केवल आर्थिक सूचकांकहरूका बारे मात्र केन्द्रीत छैन, यो त भविष्यमा आउन सक्ने यावत् चुनौतीहरूलाई सामना गर्न सक्ने सन्तुलित र समावेशी समाज सिर्जना गर्ने मार्ग पनि हो। खुलापन र सुधारलाई अँगालेर चीन विश्वलाई योगदान दिन सक्ने मुलुकको रूपमा अगाडि बढिरहेको छ’, नेता खनालले भने, ‘चीनले अन्य सझेदार मुलयकहरुसँगको व्यापार, लगानी, र सहयोगका लागि विशाल अवसरहरू समेत प्रस्ताव गरिरहेको छ । जसले गर्दा प्रगतिका लाभहरू चिनियाँ जनतासँग र विश्वभरका जनतासँग व्यापक रूपमा बाँड्दै विश्वभरका जनताहरूको साझा भविष्यको सुनिश्चितताको दिशातर्फ अगाडि बढिरहेको छ ।’
उनले बीआरआईले मात्र १० वर्षको अवधिमा १५० भन्दा बढी देशहरूसँग ३००० भन्दा बढी सम्झौताहरू गरेको भन्दै एक ट्रिलियन डलर भन्दा बढी लगानीमार्फत विभिन्न देशहरू र क्षेत्रहरुको विश्वव्यापी आर्थिक एकीकरणलाई प्रवर्द्धन गरिरहेको बताए ।
उनले भने, ‘चीनको यो बढ्दो विश्वव्यापी प्रभावले पश्चिमी साम्राज्यवादी शक्तिहरूको चौतर्फी शोषणमा आधारित प्रभुत्वलाई चुनौती दिइरहेको छ । चीनको यस्ता वैश्विक पहलकदमीले विभिन्न मुलुकहरूलाई आफ्नो आवश्यकता र क्षमताका आधारमा स्वतन्त्र ढङ्गले आफ्नै मौलिक विकास मार्गहरु निर्माण गर्न बलियो आधार समेत निर्माण गरेको छ। साथै, चीनको यो पहलकदमीले ग्लोबल साउथलाई सुदृढ बनाउन, विकास र विस्तार गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।’
चीनको नेतृत्वमा अगाडि बढेको नयाँ विकास बैंक, एशियन पूर्वाधार लगानी बैंक, साङ्घाई सहयोग संगठन र बीआरआई जस्ता संगठनहरूले ग्लोबल साउथलाई व्यापक रूपमा सुदृढ गरिरहेको बताए ।
नेता खनालले प्लेनरि सेसनमा राखेका धारणाको पूर्णपाठ
यस महत्वपूर्ण प्लेनरी सत्रका अध्यक्ष कमरेड,
सीपीसीको स्थायी समिति सदस्य कमरेडहरु,
विश्वभरबाट यस कन्फरेन्समा सहभागी हुन ग्वाङ्झाउमा भेला हुनुभएका वरिष्ठ नेताहरु,
मेरा प्रिय साथिहरु!
बुद्धभूमि हिमालयन देश नेपालको तर्फबाट तपाईँहरू सबैलाई हार्दिक अभिवादन !
अन्डरस्टान्डिङ चाइना कन्फरेन्सको आठौं श्रृंखलाको यस महत्वपूर्ण प्लेनरि सेसनलाई सम्बोधन गर्न पाँउदा मलाई खुशी लागेको छ । आज हामी समाजवादी मुलुक चीनको जीवन्त शहर ग्वाङ्झाउमा यस महत्वपूर्ण कन्फरेन्सको सन्दर्भमा भेला भएका छौं । फुलैफुलको यो ग्वाङ्झाउ सहर समुद्री सम्पदाको प्रतीक र विश्वव्यापी व्यापारको एउटा गतिशील केन्द्र पनि हो । यो महत्वपूर्ण कन्फरेन्स चीनको व्यापक सुधार र खुलापन मार्फत आधुनिकीकरणको यात्रा र यो यात्राले चीन र समग्र विश्वको विकास र आधुनिकीकरणमा प्रस्तुत गर्ने विशाल अवसरहरूको सन्दर्भमा छलफल गर्ने उपयुक्त समयमा आयोजना गरिएको छ । म यो उपयुक्त समयमा आयोजित ऐतिहासिक र महत्वपूर्ण अन्तर्राष्ट्रिय कन्फरेन्स आयोजनाको लागि आयोजक ग्वाङ्झाउ जनसरकार साथै, साझेदार संस्थाहरु सीआईआईडियस र विश्व प्रसिद्ध थिंक ट्यांक सीपिआइएफए लाई हार्दिक धन्यवाद दिन चाहन्छु । आधुनिक विकास र निरन्तर रुपान्तरणको वैज्ञानिक र प्रविधिको यो समयमा आयोजित यो महत्वपूर्ण कन्फरेन्समा मलाई आमन्त्रित गरेकोमा म आयोजक ग्वाङ्झाउ जनसर र साझेदार संस्थाहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।
प्लेनरि सेसनका अध्यक्ष कमरेड,
यस प्लेनरि सेसनको विषयवस्तु, “व्यापक सुधार, यसको अर्थ, सम्भावना र अवसरहरु” ले चीनको खुलापन र आधुनिकीकरणप्रति चीनको अडिग प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । चीनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं केन्द्रीय समितिको तेस्रो प्लेनरी सत्रले पास गरेको प्रस्ताव सन् १९७८ देखि सुरु भएको चीनको महान् समाजवादी यात्राको अर्को ऐतिहासिक घटना हो। यसको उद्देश्य समाजवादी बजार, अर्थतन्त्र र आधुनिक शासन प्रणाली निर्माण, विकास र विस्तार गर्नु रहेको छ।
चीनको यो समाजवादी प्रयास पश्चिमाहरुले अंगिकार गरेको एकाधिकार पूँजीपति वर्गलाई मात्र सेवा गर्ने, विर्गिय ध्रुवीकरण बढाउने र अन्तत गरिबी बढाउने आधुनिकिकरण भन्दा विल्कुलै फरक छ ।
चीनको समाजवादी आधुनिकीकरणको यात्राले सामूहिक समृद्धि र आम जनताको भलाइलाई विशेष प्राथमिकता दिएको छ। व्यापक सुधार र खुलापन मार्फत आधुनिकीकरणमा प्रवेश गरेको मात्र वितेकि ४६ वर्षमा, चीनको यस समाजवादी मोडलको आधुनिकीकरणले राजनीतिक, आर्थिक, प्राविधिक, सैन्य, सांस्कृतिक, सामाजिक र अन्तर्राष्ट्रिय आयामहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ । यो अभुतपूर्व प्रगतिलाई पश्चिमी विश्लेषकहरूले समेत चमत्कार मान्दछन् ।
यो छोटो अवधिमा चीनले आफ्नो जीडीपी ५३ ट्रिलियन बाट १४४ ट्रिलियन युआनमा वृद्धि गरेको छ। विश्व अर्थतन्त्रमा चीनको योगदान ११ प्रतिशतबाट वढेर १८.५ प्रतिशत पुगेको छ। विश्वको आर्थिक विकासमा चीनको योगदान लगभग ३९ प्रतिशत पुगेको छ।
यो छोटो अवधिमा चीनमा करिव १० करोड जनताहरु गरिबीबाट मुक्त भएका छन्। यो विश्व गरिबी उन्मूलनमा ७० प्रतिशत भन्दा बढी योगदान हो। आज चीन १४० भन्दा बढी देशहरू र क्षेत्रहरूको व्यापारिक साझेदारको केन्द्र बनेको छ। चिनियाँ समाजमा मध्यम आय भएका जनसंख्याको समूह पनि ४० करोड भन्दा बढी विस्तार भएको छ। यो साच्चिनै चीनको असाधारण, अभूतपूर्व र चमत्कारी विकास, आधुनिकीकरणको र रुपान्तरणको उन्नत मोडल हो। यो आश्चर्यजनक सामाजिक, आर्थिक र राजनैतिक रूपान्तरण कुनै संयोग होइन। यो रुपान्तरणको पछाडि विशाल र अनुशासित चिनियाँ कम्युनिष्ट पार्टी (सीपिसि), सक्षम र दुरदर्शी पार्टी नेतृत्व र त्यहि जगमा निर्माण भएको जनवादी सरकार रहेको कुरा हामिले भुल्नु हुँदैन।
उपस्थित प्रतिनिधि साथिहरु,
राष्ट्रपति सी जिनपिङको नेतृत्वमा सीपीसीले समाजवादी निर्माण, आधुनिकीकरण र ५००० वर्षको समृद्ध चिनियाँ संस्कृतिको ऐतिहासिक विकासको ठोस अभ्यासलाई मार्क्सवादको सार्वभौमिक वैज्ञानिक सच्चाइसँग कुसलतापुर्वक एकाकार बनाउन सफल भएको छ । यो सीपिपिको सक्षम र दुरदर्शी नेतृत्वमा भएको विल्कुल नयाँ र वस्तुगत विकास हो। यो सीपीसीको सहि कार्यदिशा, सहि नीति र सिद्धान्तहरूले निर्माण गरेको खुलापन र सुधारको निरन्तरको प्रयासले मात्र संभव भएको हो। चीनको आधुनिकीकरणको प्रयास र यसले समाजवादी व्यवस्थामा गहिरो गरि जरा गाडेको छ। यसले चीनका जनतालाई मात्र सशक्त बनाएको छैन, यसले त विश्वव्यापी गतिशीलतालाई पुनः आकार दिइरहेको छ। चीनको यो प्रयासले समग्र मानवताका लागि लाभदायक हुने आधुनिकीकरणको विराट अवसर सृजना गरिरहेको छ।
प्रिय मित्रहरू,
चीनको व्यापक सुधार र खुलापन समाजवाद निर्माणका चार आधारभूत सिद्धान्तहरूमा आधारित रूपान्तरणको महत्वपूर्ण यात्रा हो। सन् १९४९ को नयाँ जनवादी क्रान्तिबाट सुरु भएको सधारको कर् क्रम सन् १९५७ को भूमि सुधार र समाजवादी रूपान्तरणसम्म आइपुग्दा चीनले आफ्नो आधुनिकीकरणको आधार तयार गरिसकेको थियो । तर त्यो सुधार प्रयाप्त थिएन । सन् १९७८ मा चीनले कामरेड देङ स्याओ पिङको दूरदर्शी नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा एउटा भिन्न मोडल प्रस्ताव गर्यो। कामरेड देङको व्यावहारिक र दुरगामी दृष्टिकोणले उत्पादक शक्तिहरूमा आएको विकासलाई वुझ्न र सोहि अनुरुपको उत्पादन शक्तिहरूसँग मेल खाने उत्पादन सम्बन्धमा निरन्तर सुधार गरेर अगाडि वढ्न साथै, सामाजिक उत्पादक शक्तिहरूको विकासलाई सबै प्रकारका अवरोधहरूबाट मुक्त गर्न प्रसस्त मार्ग निर्माण गर्यो । उक्त कार्यनीतिले चीनलाई विश्वव्यापी बजारमा खुला हुन, विदेशी लगानीलाई चीनमा आमन्त्रित गर्न साथै अत्याधुनिक प्रविधि र ज्ञानलाई एकीकृत गर्न ऐतिहासिक आधार समेत निर्माण गर्यो। सोहि कार्यनीतिले चीनमा समाजवादी मूल्यहरूलाई कायम राख्दै अभूतपूर्व आर्थिक वृद्धिको सुरुवात समेत गर्यो। यस ऐतिहासिक सम्मेलनमा सहभागी मित्रहरू,
कामरेड सी जिनपिङको सफल, सक्षम र दुरगामी नेतृत्वमा सन् २०१३ बाट सुरु भएको सुधार र आधुनिकीकरणको चिनियाँ यात्रा आज नयाँ युगमा प्रवेश गरेको छ। सीपीसीको २० औं राष्ट्रिय कांग्रेसको मार्गदर्शन र तेस्रो प्लेनरी सत्रको ऐतिहासिक प्रस्तावहरूको आधारमा चीन सन् २०४९ सम्ममा आधुनिक समाजवादी देश स्थापना गर्ने आफ्नो दोस्रो शताब्दीको ऐतिहासिक लक्ष्यतर्फ उन्मुख छ। व्यापक सुधारको यो प्रतिबद्धता चीनको लचिलोपन र अन्तर्राष्ट्रिय अनुकूलनशीलताको मात्र प्रतीक होइन यो त विश्व व्यवस्थाको रूपमा समाजवादी मार्गको अपरिहार्यताको प्रमाण पनि हो। निरन्तर सुधार र खुलापनले कसरी आधुनिक समाजवादी देश निर्माण गर्न सकिन्छ, कसरी तुलनात्मक रूपमा छिटो र वलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिन्छ, अन्तर्राष्ट्रिय सम्बन्ध कसरी विस्तार गर्न सकिन्छ साथै कसरी समग्र मानव जातिको साझा समृद्धिको भविष्यको मार्ग प्रशस्त गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरणको रूपमा आज चीन र चिनियाँ समाजवादी मोडल विश्व सामु खडा छ।
यस सेसनका अध्यक्ष कमरेड, सुधारलाई अझ गहिरो र व्यापक बनाउने चीनको प्रतिबद्धताको अर्थ चीनले अगाडि सारेको नीतिहरूको गतिशीलता र त्यही नीतिहरुको जगमा विकसित भएको समाजवादी व्यवस्थामा निहित छ। समाजवादी व्यवस्थाको साँचो सुधारको लागि राजनीतिक, आर्थिक, वित्तीय, प्राविधिक, रक्षा, यातायात, पर्यटन, संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्धहरू सहित सबै क्षेत्रहरूमा निरनर रूपान्तरण आवश्यक छ। सुधार र खुलापन आन्तरिक रूपमा एकआपसमा जोडिएका छन। व्यापक खुलापन बिना सुधारहरू सुदृढ हुन सक्तैनन् । हामीले के बुझ्नुपर्दछ भने चीनको खुलापन पश्चिमी संरक्षणवादबाट मौलिक रूपमा नै फरक छ। चिनियाँ खुलापनले आपसि सहयोग, सहकार्य, र सहअस्तित्वलाई जोड दिन्छ साथै यसले बहुध्रुवीयतालाई अँगाल्दै, समाजवादी राष्ट्रिय पहिचान कायम राख्दै, सवै पक्षको जीत-जीतको स्थिति हासिल गर्ने वातावरणको सिर्जना गर्दछ।
सीपीसीले चीनको अद्वितीय समाजवादी आधुनिकीकरणका विशेषताहरूसँग मार्क्सवादका ऐतिहासिक र वैज्ञानिक सच्चाईहरूलाई एकीकृत गरेर असाधारण उपलब्धि हासिल गरेको छ। परम्परा र नवीनताको सन्तुलन कायम राख्दै विशिष्ट रूपान्तरणको लागि प्रसस्त मार्ग सिर्जना गरेको छ। विभिन्न व्यवस्थाहरू समयसँगै निरन्तर विकसित हुनुपर्छ भन्ने कुरा बुझेर नै चीनले विज्ञान, प्रविधि, व्यवस्थापन र विश्वभर विकसित भइरहेको सबै नयाँ ज्ञानमा अनुकूलन गर्न निरन्तर सुधार र खुलापनलाई अँगाल्ने नीति अख्तियार गरेको खुलापन र सुधारद्वारा संचालित यो निरन्तर रूपान्तरण प्रक्रियाले समाजवादी चीन विश्वव्यापी विकास र समावेशी प्रगतिका लागि प्रेरणाको स्रोत र विश्वव्यापी शान्ति र स्थिरताका लागि विश्वासयोग्य शक्तिको एक मोडेलको रुपमा विश्वसामु उभ्याएको छ ।
प्रिय मित्रहरू,
चीनको व्यापक सुधारले गतिशील, समावेशी र दिगो विकासमा केन्द्रित विशाल र रूपान्तरणकारी सम्भावनाहरूको ढोका खोलेको छ। यद्यपि, पश्चिमा देशहरूले चीनको वृद्धिलाई रोक्न अनुचित प्रतिबन्ध, आर्थिक घेराबन्दी, व्यापार युद्ध, प्रविधि युद्ध र चिनियाँ सामानहरूको लागि उच्च कर लगाइरहेका छन्। यस्ता अन्तर्राष्ट्रिय चुनौतीहरूका साथ साथै कोभिड-१९ पछि केहि सुस्त आर्थिक वृद्धिको आन्तरिक समस्याका बाबजुद समेत चीनले औसतमा ९% भन्दा बढी आर्थिक वृद्धि कायम गर्नुले चीनको सुधार, खुलापन र आधुनिकीकरणको मार्ग जारी राख्ने दृढ संकल्पलाई उजागर गर्दछ। यहि दृष्टिकोण अन्तर्गत नै चीन आधुनिक समाजवादी समाजमा विकसित हुँदैछ । यसर्थ चीनले आफ्नो राष्ट्रिय विकासलाई मात्र सुदृढ बनाएको छैन, यसले त वाँकी विश्वलाई समेत ठूलो अवसर प्रदान गरिरहेको छ । चीनको यो निरन्तरको सुधारले आम जनताको जीवनस्तरमा व्यापक सुधार, शिक्षा र स्वास्थ्य सेवामा उल्लेख्य प्रगति, उल्लेखनीय पूर्वाधार विकास, सबै क्षेत्रमा राष्ट्रिय शक्तिको वृद्धि, र अन्तर्राष्ट्रिय सम्बन्धको विस्तारमा नयाँ आयाम निर्माण गरेको छ। आगामी दिनहरूमा समेत चीनको यो निरन्तरको सुधारले वास्तविक र डिजिटल अर्थतन्त्रलाई एकीकृत गर्ने, औद्योगिक आपूर्ति शृंखलाहरूलाई आधुनिकीकरण गर्ने, दिगो वृद्धिलाई प्रवर्द्धन गर्ने साथै, उच्च-गुणस्तरीय विकासलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
चीनले आधुनिक विज्ञान र प्रविधिमा आधारित नवप्रवर्तनलाई निरन्तरको सुधार र खुलापनको केन्द्रमा राखेको छ। शिक्षा, दिगो विकास र प्राविधिक प्रगतिलाई अघि बढाएर चीनले नवप्रवर्तनमा आफूलाई विश्वको सर्वोत्कृष्ट मुलुकको रूपमा आफ्नो स्थिति सुदृढ गर्दैछ।
चीनको सुधार र आधुनिकीकरणको मार्ग केवल आर्थिक सूचकांकहरूका बारे मात्र केन्द्रीत छैन, यो त भविष्यमा आउन सक्ने यावत् चुनौतीहरूलाई सामना गर्न सक्ने सन्तुलित र समावेशी समाज सिर्जना गर्ने मार्ग पनि हो। खुलापन र सुधारलाई अँगालेर चीन विश्वलाई योगदान दिन सक्ने मुलुकको रूपमा अगाडि बढिरहेको छ । चीनले अन्य सझेदार मुलयकहरुसँगको व्यापार, लगानी, र सहयोगका लागि विशाल अवसरहरू समेत प्रस्ताव गरिरहेको छ । जसले गर्दा प्रगतिका लाभहरू चिनियाँ जनतासँग र विश्वभरका जनतासँग व्यापक रूपमा बाँड्दै विश्वभरका जनताहरूको साझा भविष्यको सुनिश्चितताको दिशातर्फ अगाडि बढिरहेको छ। चीनका व्यापक सुधार र आधुनिकीकरणको प्रयासहरूले चीन र विश्वव्यापी समुदाय दुवैका लागि व्यापक अवसरहरू प्रस्तुत गरिरहेको छ। एक आधुनिक र शक्तिशाली चीनले अन्तर्राष्ट्रिय व्यापारका लागि विशाल बजार प्रदान गरेको छ साथै चीन विश्वव्यापी प्रगति, शान्ति र स्थिरतामा प्रमुख खेलाडी को रुपमा विकसित भइरहेको छ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई), ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई), र ग्लोबल सिभिलाइजेशन इनिसिएटिभ (जीसीआई) जस्ता पहलकदमिहरू मार्फत चीनले विश्वव्यापी सहयोग र समृद्धिको लागि बलियो आधार निर्माण गरेको छ।
बीआरआईले मात्र १० बर्षको अवधिमा १५० भन्दा बढी देशहरूसँग ३००० भन्दा बढी सम्झौताहरू गरेको छ। एक ट्रिलियन डलर भन्दा बढी लगानी मार्फत विभिन्न देशहरू र क्षेत्रहरुको विश्वव्यापी आर्थिक एकीकरणलाई प्रवर्द्धन गरिरेको छ । चीनको यो बढ्दो विश्वव्यापी प्रभावले पश्चिमी साम्राज्यवादी शक्तिहरूको चौतर्फी शोषणमा आधारित प्रभुत्वलाई चुनौती दिइरहेको छ । चीनको यस्ता वैश्विक पहलकदमीले विभिन्न मुलुकहरूलाई आफ्नो आवश्यकता र क्षमताका आधारमा स्वतन्त्र ढङ्गले आफ्नै मौलिक विकास मार्गहरु निर्माण गर्न बलियो आधार समेत निर्माण गरेको छ। साथै, चीनको यो पहलकदमीले ग्लोबल साउथलाई सुदृढ बनाउँन, विकास र विस्तार गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। चीनको नेतृत्वमा अगाडि बढेको नयाँ विकास बैंक, एशियन पूर्वाधार लगानी बैंक, साङ्घाई सहयोग संगठन र बीआरआई जस्ता संगठनहरूले ग्लोबल साउथलाई व्यापक रूपमा सुदृढ गरिरहेको छ। आधुनिकीकरण र निरन्तर सुधारको अगुवाइ गर्ने चीनले यिनै प्रयासहरु मार्फत नयाँ विश्व व्यवस्थालाई आकार दिइरहेको छ । चीनले ग्लोबल साउथलाई थप सशक्त बनाउन र विश्वव्यापी रूपमा न्यायपूर्ण र दिगो विकास प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। तसर्थ, चीनको यो निरन्तरको सुधार र पहलकदमिहरूले विश्वका सामु साझा अवसरहरू, आपसी सम्मान, सहअस्तित्व र समावेशी प्रगतिमा आधारित नया विश्व व्यवस्था निर्माणप्रति चीनको प्रतिबद्धतालाई उजागर गर्दछ।
प्लेनरि सेसनको अध्यक्ष कमरेड,
नेपाल भौगोलिक हिसावले चीन र दक्षिण एशियाको बीचमा पर्दछ र नेपालले चीन र दक्षिण एसियाको प्रवेशद्वारको रूपमा काम गर्दछ। तपाईँलाई थाहा छ, दक्षिण एशिया र चीन यो हरियो ग्रहका सबैभन्दा धेरै जनसंख्या भएका क्षेत्रहरू हुन्। विश्व नै विकास र रूपान्तरणको प्रकृयामा तिव्र गतिले अगाडि बढिरहेको यो वर्तमान सन्दर्भमा, यी दुई विशाल क्षेत्रहरूको बहुपक्षीय कनेक्टिविटी उल्लेखनीय ढंगले कमजोर छ । सन् २०१९ मा महामहिम राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका प्रतिबद्धताहरूलाई म सम्झिरहेको छु। महामहिम राष्ट्रपति सीले भ्रमणका क्रममा भन्नुभएको थियो अब चीन र नेपालको विचमा ट्रान्स-हिमालयन कनेक्टिविटी निर्माण गर्नु पर्दछ, ट्रान्स-रेलवे कनेक्टिविटी विकास गर्नु पर्दछ र नेपाललाई एक भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकको रूपमा रूपान्तरण गर्नु पर्दछ। राष्ट्रपति सिजिङपिङको यो एउटा दुरगामी, गहिरो र महत्वपूर्ण प्रतिबद्धता थियोे। यदि नेपाल र चीनबीच रेल सेवा सुचारु गर्न सकियो भने, यी दुई विशाल जनसंख्या भएका क्षेत्रहरू बीचको आपसी कनेक्टिविटीमा गुणात्मक विकास ल्याउने र विकासको पहलकदमिले विश्व अर्थतन्त्रमा समेत महत्वपूर्ण प्रभाव पार्ने कुरामा कुनै शंका छैन। तसर्थ, हामी समस्त नेपालीहरू यो विराट सम्भावना कहिले यथार्थमा परिणत हुन्छ भनेर तिव्र प्रतीक्षा गरिरहेका छौँ।
उपस्थित प्रतिनिधिसाथीहरु,
अन्त्यमा, सुधारलाई अझ गहिरो बनाउने चीनको प्रतिबद्धता चीनको आधुनिकीकरणको लागि मात्र नभएर समग्र विश्वका आम मानव समुदायका लागि पनि एक ऐतिहासिक र रुपान्तरणकारि प्रयास हो भन्ने कुरा म दोहोर्याउन चाहन्छु। निरन्तरको सुधार र खुलापनलाई अँगालेर चीनले पश्चिमा मुल्यमान्यता र शोषणमा आधारित पुरानो ब्रेटन वुड प्रणालीलाई प्रतिस्थापन गर्न सक्ने क्षमता भएको नयाँ विश्व व्यवस्थाको लागि मार्ग पत्ता लगाएको छ। समावेशी नयाँ विश्व व्यवस्था साझा समृद्धि, समानता, सहअस्तित्व र समावेशीतामा आधारित हुनेछ। सीपीसीको २० औं राष्ट्रिय कांग्रेसको तेस्रो प्लेनरी सत्रको निर्देशनहरूले यो दृष्टिकोणलाई उजागर गर्दै समाजवादी आधुनिकीकरणलाई विस्तार गर्ने, उच्च गुणस्तरीय उत्पादक शक्तिहरूलाई प्रोत्साहित गर्ने, नवप्रवर्तन, दिगो विकास, र उच्च गुणस्तरीय वृद्धिलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ। चीनले विश्वव्यापी मञ्चमा आफ्नो भूमिका बलियो बनाउँदै गरेको यो समयमा आपसी सहकार्य, आपसी वृद्धि, र साझा भविष्यको साथ साथै नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निर्माणको आधार समेत निर्माण भइरहेको छ । म पूर्णरूपमा विश्वस्त छु कि सीपीसी र कामरेड सी जिनपिङको सबल र दुरदर्शी नेतृत्वमा १.४ अर्ब भन्दा बढी चिनियाँ जनताले सन् २०४९ सम्ममा आधुनिक समाजवादी देश निर्माणको दोस्रो शताब्दीको लक्ष्य अवश्य प्राप्त गर्नेछन्।
मेरो व्यक्तिगत तर्फबाट र समग्र नेपालिको तर्फबाट दोस्रो शताब्दी लक्ष्य प्राप्तिको लागि सीपिसि र सम्पूर्ण चिनियाँ कमरेडहरुलाई शुभकामना।
धन्यवाद!














