Logo
Logo
कांग्रेस कोशी प्रदेश सम्मेलन

सम्मेलन बहिस्कार गरेर नेता कोइराला चितवनमा


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले कोशी प्रदेशको सम्मेलन बहिस्कार गरेका छन् । कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलन आज विराटनगरमा आयोजना हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवाको उपस्थिति हुने उक्त सम्मेलन भने बहिस्कार गरेका हुन् । विराटनगर नेता कोइरालाको गृहनगर हो ।

नेता कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार उनी आज चितवन जाँदैछन् । ‘केन्द्रीय सदस्य दिनेश कोइरालाको पिताजी बित्नुभएकाले त्यहाँ शोकसभामा सामेल हुन उहाँ चितवन जाँदै हुनुहुन्छ’ कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ‘उहाँ हिजोमात्रै विराटनगरबाट काठमाडौं आउनुभएको हो । प्रदेश सम्मेलनमा जानुहुन्न ।’

आफ्नै गृहनगरमा हुन लागेको प्रदेश सम्मेलनमा कोइरालाले अनुपस्थित रहने मुख्य कारण उनले आफूलाई वरिष्ठ नेता बनाउनुपर्ने माग गरेका छन् । उनी निकट नेताहरुका अनुसार कोइरालाले प्रदेश भेलामा आफूलाई शेरबहादुर देउवापछिको आसन र समय दिनुपर्ने माग गरेका थिए ।

शेखर कोइराला निकट कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सम्मेलनबारे कोइरालासँग छलफल र सरसल्लाह नगरेको र निमन्त्रणसमेत ढिलागरी दिएकाले कोइराला नआउने बताए ।

शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशनमा सभापति उठ्ने भन्दै गतिविधि तीव्र पारिरहेका छन् । यहीबेला विराटनगरमै हुने प्रदेश सम्मेलन उनले बहिष्कार गर्ने भएका हुन् । कोइराला पक्षले सभापतिका निकटम प्रतिस्पर्धीलाई वरिष्ठ नेता बनाउनुपर्ने माग गरिरहेको छ । देउवाले यो मागप्रति चासो देखाएका छैनन् ।

कोशी प्रदेशका सभापति उद्धव थापाका अनुसार आज हुने प्रदेश सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्