काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको प्रक्रिया सुरु भइसकेकोले भ्रम छर्ने कार्य नगर्न आग्रह गरेका छन् ।
शनिबार विराटनगरमा नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनमा बोल्दै सरकारले विधिको शासन कायम गर्न लाग्नुपर्ने बताउँदै अपराध र भ्रष्टाचार गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनै पर्ने उनले बताए ।
थापाले बिआरआईको सम्झौता बारे अनावश्यक भ्रम र आक्षेप आएकाले संसद्मा लगेर छलफल गराउनुपर्ने प्रस्ट पारे । नेपाली कांग्रेस कोशी प्रदेश समितिले आयोजना गरेको सम्मेलनमा सहभागी केन्द्रीय नेताहरूले पार्टीलाई एक जुट र एकताबद्ध बनाउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्ने जिकिर गरेका थिए ।
अहिले पनि पार्टीर्भित्र गुट उपगुटको झगडा रहेकाले पार्टी नेर्तृत्वले पार्टीलाई एकताबद्ध बनाउन योजना ल्याउनुपर्ने उनले बताएका थिए । थापाले नेता डा. शेखर कोइरालाले कोशी सम्मेलन बहिष्कार गरेकोप्रति लक्षित गर्दै सबैलाई ठाउँ र मान चाहिने बताएका छन् ।
महामन्त्री थापाले टेक्निकल कुरा गरेर पार्टीभित्र एकता हुन नसक्ने जिकिर गरे । ‘पार्टीभित्र एकता अनिवार्य छ, सबैलाई मिलाएर लैजाने कुरा अनिवार्य छ । पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, राजनीतिक कुरा हो मिलाउनुपर्छ, सबैलाई मिलाउनुपर्छ’, उनले भने ।
महामन्त्री थापाले भने, ‘सबैलाई ठाउँ चाहिन्छ, सबैको मान चाहिन्छ, जित्ने हार्ने सबैलाई मिलाएर लैजानुपर्छ, किन कि हामी सबै खालका छौँ नि त ।’ नेतृत्वले सबै पक्षलाई मिलाएर लैजानुपर्ने उनको भनाइ छ ।
कोइराला समूहले गत १८ मङ्सिरमा विराटनगरमा आयोजना गरेकाे भेलालाई लक्षित गरी गगनले भनेका छन्, ‘मोरङको एउटा पालिकाको एउटा वडाले सबै मोरङका मान्छे बोलाउँछु जिल्ला सभापति बोलाउँदिन र सुनसरीको सभापति ल्याएर गर्छु भन्यो भने त्यो गर्न पाइन्छ भन्ने कि पाइँदैन ? केन्द्रीय कार्यालयले भनेको त्यति मात्रै हो ।’