काठमाडौं । भैरहवा-तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका-३ को गुलरीमा तीन सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार लु २ ख २३१ नम्बरको तीव्र गतिको बस अनियन्त्रित भइ तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कार र कारसँग लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका-४ हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला-७ का ४३ वर्षीय निमबहादुर सारूको मृत्यु भएका हुन् ।
सार्कीको कपिलवस्तु जिल्ला अस्पताल तौतिहवामा र सारूको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा दिउँसो मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल र बसमा सवार ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनाका घाइतेमध्ये मोटरसाइकल चालक कपिलवस्तु बुद्धभूमि नगरपालिका-१० पिपरहवाका ५५ वर्षीय रामदास कुर्मी, मोटरसाइकलको पछाडि सवार ५३ वर्षीया मञ्जुकुर्मी, बसमा रूपेन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ६ का २१ वर्षीय यमा मुदिन मुसलमान र कारमा सवार दाङको राप्ती गाउँपालिका-८ बिजौरीका ४९ का गिरबहादुर घर्ती मगरको अवस्था गम्भीर छ ।
घाइतेमध्ये तीन जनाको सिटी अस्पताल भैरहवा र गिरबहादुरको मेडिकल कलेज भैरहवामा उपचार जारी छ । अन्य सामान्य घाइते ७ जनाको भैरहवाको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।