काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका थिए ।
केहि समयअघि कोशी प्रदेशको मन्त्री पदमा रहँदा अधिकारी मानव तस्करी गर्ने एक समूहसँग जापान पुगेका थिए । उनलाई जापानी अध्यागमनबाटै फ्र्काइएपछि प्रहरीले मानव तस्करीमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
अनुसन्धानका लागि मन्त्री अधिकारीलाई पनि हिरासतमा लिइएको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्दा मन्त्रीलाई विभिन्न आधार देखाउँदै मुद्दा नचल्ने निर्णय गरेको थियो ।
उक्त निर्णय बदर हुनुपर्ने र पुनः अभियोग पत्र दायर गर्नु भनी आदेश माग गर्दै अधिवक्ता त्रिपाठी सर्वोच्च पुगेका थिए । सो निवेदनमा आज सुनुवाइ हुने भएको हो ।