काठमाडौं । संघीय संसदका तीन संसदीय समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।
त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । साढे २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।