पोखरा । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थप गर्न प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । उनीमाथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुनः अदालत उपस्थित गराएको हो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवनसमेत लगेर बयान लिइएको थियो ।
सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो । पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।