काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय जग्गा विवादको मुद्दामा आज सुनुवाइ हुँदैछ । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दान दिएको जग्गा विवादको मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको इजलासमा पेसी परेको छ ।
यसअघि पटक–पटक पेसी तोकिएपनि सुनुवाइ सर्दै आएको थियो । २०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो । दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए ।
सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीे दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए ।