काठमाडौँ । सर्वोच्च अदालतले मानव तस्करीमा उन्मुक्ति पाएका कोशी प्रदेशका पूर्वकानुन मन्त्री लिलाबल्लभ अधिकारी विरुद्धको रिट दरपीठ गर्ने निर्णय सदर गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले यसअघि जिल्ला सरकारी वकिल कार्यालयबाट दरपिठ गर्ने निर्णय कानुन सम्मत नै भएको आदेश गरेको हो । सर्वोच्चको यो आदेशसँगै अब अधिकारीमाथि कुनै अदालतमा तत्काल मुद्दा नचल्ने भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिट सर्वोच्चमा पेस गरेका थिए । मङ्सिर १६ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका थिए ।
त्रिपाठीले गत शुक्रवार सर्वोच्चमा रिट पेस गरेका थिए । मानव तस्करी गर्ने एक समूहसँग मन्त्री अधिकारी पनि जापान पुगेका थिए । उनी जापानी अध्यागमनबाटै फर्केपछि प्रहरीले मानव तस्करीमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।














