Logo
Logo

चुरे अध्यक्षमाथि अख्तियारले छानविन थालेपछि वनमन्त्रालयमा हंगामा, पद जोगाइदिन हारगुहार


63.4k
Shares

काठमाडौं ।  अख्तियार अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलमाथि अनुसन्धान थालेको छ । जसले वन तथा वातावरण मन्त्रालय हङ्गामा भएको छ । 

पौडेलले पद दुरुपयोग गरी भ्रमण भत्ताको नाममा लाखौँ रकमको आर्थिक अनियमितता गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरोकारवाला निकायमा उजुरी परेको थियो । त्यसपछि अख्तियारले अध्यक्ष पौडेलमाथि अनुसन्धान थालेको हो ।

राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेल

‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको राष्ट्रपति चुरे(तराई मधेश संरक्षण विकास समिति स्थापनाकालका अध्यक्ष रामेश्वर खनालका पालामा अर्थ मन्त्रालय, वन मन्त्रालयको सहमती र स्वीकृति लिई बनाइएको समितिको आर्थिक कार्यविधि नियमावली २०७१ ,नेपाल सरकारको भ्रमण खर्च नियमावली २०६४, नेपाल सरकारको आर्थिक कार्यबिधि तथा बित्तीय उत्तरदायित्व नियमावली २०७७ बिपरीत वर्तमान अध्यक्ष पौडेलले पटक पटक भ्रमण भत्ता र इन्धन लगायतमा पद दुरुपयोग समेत गरी, नियमबिपरित दोहोरो सुबिधा लिई हालसम्म करिब ३० लाख रुपैयाँ अनियमितता गरेको’ भन्दै समितिका सदस्य डा. भेषराज आचार्यले उजुरी गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्तिक २७ गते समिति पत्र काटी समितीबाट रायसहित कागजात माग गरेको सदस्य आचार्यले जानकारी दिए । उनका अनुसार उक्त पत्र समितिमा मङ्सिर ४ गते दर्ता भएको थियो । पत्रमा १५ दिनभित्र अध्यक्षले पद दुरुपयोग गरी आर्थिक अनियमितता गरेका सम्पूर्ण कागजात माग भएकोमा समितिले मङ्सिर २० गते कागजात सिलबन्दी गरी अख्तियारमा बुझाएकोसदस्य आचार्यले जानकारी दिए ।

पौडेल ०७७ साल चैत २० गते चुरेको अध्यक्ष नियुक्त भएका थिए । त्यो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । ओलीले नै पौडेललाई चुरेको अध्यक्ष नियुक्त गरेका हुन् । समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेका प्रधानमन्त्री ओलीको मर्म र भावना विपरीत चुरे अध्यक्ष पौडेलले छलछाम र पद दुरुपयोग गरी अनियमित रुपमा भ्रमण भत्ता लिई राज्य कोषको दोहन गर्ने, पदमा बसी दोहोरो सुविधा लिने, इन्धन लगायत अन्य आर्थिक सुविधा लिई समितिलाई समेत आर्थिक भार गरेको विषय अहिले व्यापक चर्चाको विषय बनेको छ । 

रक्षक नै भक्षक भनेझैँ चुरे संरक्षण गर्ने भनी राज्य मन्त्री सरह सेवा सुविधा लिएर नियुक्ति लिएका व्यक्तिले उक्त संस्थाको नियम कानुन, नेपाल सरकारको प्रचलित नियम कानुनहरू समेतको धज्जी उडाउँदै चलखेल गरी भ्रमण भत्तामै लालाहित हुँदै अनियमितता गरेको विषय सर्वत्र आलोचना र आश्चर्यको विषय बनेको कुरा बोर्डका जानकारहरू बताउँछन् । 

चुरे संरक्षणको नाममा बर्सेनि लगभग डेढ अर्ब बजेट खर्च हुने राष्ट्रिय गौरवको यो आयोजनामा अध्यक्षबाट नै पद दुरुपयोग गरी आर्थिक अनियमिततामा उद्दत हुने विषय पटक-पटक चर्चामा आउँदा पदको दम्भ देखाई सरोकारवालहरूलाई प्रभावमा पारी ढाकछोप गर्न अध्यक्ष पौडेलले अनेक हर्कत गरेको कुरा जानकारीमा आएको छ ।

उजुरी कर्ता राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति सदस्य डा. भेषराज आचार्य

साथै यस प्रवृत्तिका चुरे अध्यक्षले आफ्नो भ्रमण भत्तासमेत नियम कानुन विपरीत र पदको दुरुपयोग गरी लिने गर्छन् भने यो डेढ, दुई अर्ब सालाखाला वार्षिक बजेट हुने यो आयोजनाको हालत के होला र यसमा झन् के कति गोलमाल गरेका होलान् भन्ने रहस्यमय विषयले अहिले चर्चा पाउन थालेको छ ।

आफ्नो बिदा, भ्रमण आदेश नियम विपरीत आँफै स्वीकृत गर्ने, आलेप प्रतिवेदनमा समेत अनियमित भनिएको आफ्नो भ्रमण भत्ताको विषय गुपचुप राखी सम्बन्धित निकायलाई दबाब दिई भ्रमण भत्ता लिने चुरे अध्यक्षले अहिले आफूलाई जोगाइदिनको लागी नेताहरूको घर दैलोमा जाँदै आफूलाई अख्तियारबाट जोगाई दिन हारगुहार गर्दै हिँडेको बोर्ड सदस्यले बताए ।

आलेपले अनियमित भनी प्रतिवेदन दिँदा समेत लेखालाई दबाब दिई अध्यक्ष पौडेलले गत आर्थिक वर्षको १९/२० ओटा बेह्रितका भ्रमण आदेश लुकाएर राखी असार १५ मा वर्षभरिको एकमुष्ट रुपमा पेस गरी भ्रमण भत्ता लिएको विषयले यो विषय झन् पेचिलो रहेको प्रस्ट हुन्छ । अध्यक्ष पौडेलले चुरे समिति र राष्ट्रिय गौरवको आयोजना अलपत्र पारेको विषय अहिले सिंहदरबार वन तथा वातावरण मन्त्रालय र सर्वत्र प्रमुख चर्चाको विषय बनेको छ ।

राष्ट्रिय गौरवको यो आयोजनामा अध्यक्षद्वारा गरिएको पद दुरुपयोग र भ्रष्ट्राचारको समाचार दृष्टि न्युजमा सुरुमा सार्वजनिक गरेको थियो । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्र लगेको अवस्थामा अब सत्य तथ्य छानविन गरी दोषी उपर कारबाही गरी राष्ट्रिय गौरवको आयोजना र वन मन्त्रालयलाई समेत अबका दिनमा सजग र सचेत भएर सुशासन कायम हुनेमा सबै आशावादी रहेका छन् ।

सम्बन्धित समाचार :

चुरे अध्यक्ष नै भ्रष्ट र पद दुरुपयोगी, कसरी हुन्छ संरक्षण ?

प्रतिक्रिया दिनुहोस्