
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ । जसमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स तथा दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।
हालसम्म चार खेल खेलेको चितवनले ३ मा जित हासिल गरेको छ भने एउटामा हार भोगेको छ । आज चितवनको प्रतिस्पर्धी रहेको लुम्बिनी लायन्स भने जितविहीन छ । अहिलेसम्म खेलेका चारै खेल हारेको लुम्बिनी अंकतालिकाको पुछारमा छ ।
आजको दोस्रो खेलमा पोखरासँग भिड्न लागेको कर्णाली याक्सले यसअघि खेलमा ४ खेलमध्ये दुईमा जित हासिल गरेको छ भने दुईमा हार भोगेको छ । जसबाट उसले ४ अंक जोडेको छ । कर्णाली चौथो स्थानमा छ ।
यसैगरी पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका ३ खेलमध्ये एकमा जित हासिल गरेको छ भने दुईमा हार बेहोरेको छ । पोखरा २ अंक जोड्दै प्रतियोगिताको पाँचौँ स्थानमा छ ।
गत आइतबारसम्म एनपीएलमा १५ खेल सकिएका छन् । यही मंसिर १५ गते कीतिपुरस्थित टियू मैदानमा सुरु भएको एनपीएलमा जनकपुर बोल्ट्स हालसम्मका चारै खेल जितेर अपराजित रहँदै अंक तालिकामा शीर्ष स्थानमा छ । उसले चार खेलबाट ८ अंक बनाएको छ ।














