Logo
Logo

मन्त्रीकाे भर्ती केन्द्र बन्यो भक्तपुर क्यान्सर अस्पताल


32.6k
Shares

काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्य गरेपछि गत असार ३० गत एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बने । 

ओली नेतृत्वको मन्त्रिपरिषद्मा कांग्रेस युवा नेता प्रदीप पौडेलले रोजेकै मन्त्रालय पाए, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय । देशव्यापी सञ्जाल भएको, नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको र धेरै बजेट पनि भएकाले स्वास्थ्य मन्त्रालय ‘आकर्षक’ मानिन्छ ।

मन्त्रालयमा पद सम्हाल्दै गर्दा मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरूको सूची सार्वजनिक गर्ने बताएका थिए । साथै एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने र सबै नेपालीलाई स्वास्थ्य बिमामा समेट्ने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता पनि गरे ।  

तर, मन्त्री पौडेलले आफ्नो प्रतिबद्धता भुल्दै अस्पतालहरूमा कार्यकर्ता भर्ती केन्द्र बनाउन थालेका छन् । यसको ज्वलन्त उदाहरण हो– भक्तपुर क्यान्सर अस्पताल । 

भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टर झन्डै एक वर्षदेखि रिक्त छ । उक्त अस्पताल निमित्त डाइरेक्टरका भरमा चलिरहेको छ । तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले अस्पताल सञ्चालन गर्नका लागि वैकल्पिक व्यवस्था निमित्त कार्यकारी निर्देशकको रूपमा डा. उज्ज्वल चालिसेलाई पठाएका थिए ।

तर, आशा गरिएको भनिएकै पौडेलले पनि अहिलेसम्म आशा जगाउने केही काम गर्न सकेका छैनन् । उनले भक्तपुर क्यान्सर अस्पतालका निर्देशक समेत नियुक्ति गर्न सकेका छैनन् । अहिले पनि उनै चालिसेको भरमा अस्पताल चलिरहेको छ । 

मन्त्री पौडेलले निर्देशक नियुक्ति नगर्नुमा पनि स्वार्थ लुकेको छ । मन्त्री पौडेल र निमित्त कार्यकारी निर्देशक चालिसे साथी हुन् । त्यसैले मन्त्री पौडेलले योग्यता नै नपुगेको डा. चालिसेलाई निमित्त प्रमुखमा राखिरहेका छन् ।

भक्तपुर क्यान्सर अस्पताल सञ्चालन गठन आदेशमा ११ तहको कर्मचारी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक हुने व्यवस्था छ । तर, मन्त्री निकट भएकै कारण नवौँ तहको चासिले झन्डै एक वर्षदेखि निमित्त प्रमुखमा रहिरहेका छन् । 

कुनै पनि कर्मचारीलाई निमित्त प्रमुख दिँदा तीन महिनाका लागि दिइन्छ । तर, राजधानीकै मुटु भक्तपुरमा रहेको केन्द्रीय अस्पताल जस्तो निकाय अहिले पनि निमित्तकै भरमा सञ्चालन भइरहेको छ ।

आफूभन्दा जुनियरलाई केही डाक्टरहरूले नटेर्दा अर्को समस्या थपिएको छ । डाक्टरहरू समयमा नआउने हुँदा बिरामीहरूले सेवा पाउन सकेका छैनन् । उनीहरू राजनीतिक नियुक्तिको चरम चपेटामा छन् । बिरामीहरू सहज उपचार नपाएर छटपटिइरहेका छन् । तर, मन्त्रीका आफन्त र कार्यकर्ताले भने अस्पतालमा सय प्रतिशतसम्म छुट पाइरहेको स्रोतको दाबी छ । 

अर्कोतिर मन्त्री पौडेललाई खुसी पार्न चालिसेले जथाभाबी कर्मचारी भर्ना गरेका छन् । जसले अस्पताललाई आर्थिक बोझ थपिएको छ । कर्मचारीको तलब आफ्नै स्रोतले खुवाउनुपर्छ । जसका कारण चिकित्सक र कर्मचारीलाई तलब खुवाउनसमेत धौधौ परेको छ । अहिले अस्पतालको ऋण झन्डै ८ करोड पुगेको छ । 

कतिसम्म भने मन्त्रालयको कार्यक्रममा मन्त्री सहभागी हुँदाको समेत भक्तपुर अस्पतालले खर्च बेहोर्ने गरेको छ । कर्मचारीलाई तलब दिन धाैधाै परिरहेको अवस्थामा मन्त्रीलाई खुसी पार्न डा. चालिसेले यसरी खर्च गर्ने गरेको स्रोतको दाबी छ । 

त्यस्तै केही समयअघि मात्रै निमित्त प्रमुख चालिसेले उम्मेरहद नाघेका डा. गिसुप प्रिसि अस्पतालको विकास समिति सदस्यमा नियुक्त गरेका छन् । समिति सदस्य २५ वर्षमाथि र ६५ वर्षमुनिका मात्रै हुन पाउने प्रावधान छ । तर, उनी ६९ वर्ष पुगिसकेका छन् । २०३३ सालमा नागरिकता लिँदा उनी २२ वर्षका थिए । प्रिसि कांग्रेस निकट भएकै कारण उनले नियुक्ति पाएको स्रोतको दाबी छ । 

डा. चालिसेलाई त्यहाँ राख्नुमा मन्त्रीका आफन्तहरूलाई जागिर दिनु पनि रहेको स्रोतको दाबी छ । हालै मात्र मन्त्री पौडेलले डा. सोविता वाँनियालाई नियुक्ति दिएका छन् भने मन्त्रीकै आदेशमा केही दिन अगाडि मनिष ठाकुरलाई रेडियोलोजिष्ट नियुक्त गरेका छन् ।

पदपूर्ति समितिलाई जानकारी नदिई जथाभाबी करारका कर्मचारी भर्ना गरिएपछि चिकित्सक र कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । मन्त्री पौडेल स्वयंले आफन्तलाई जागिर खुवाउन दबाब दिएपछि मन्त्री पौडेलसँग कर्मचारीहरू रुष्ट छन् ।

असावधानीपूर्वक हेडलाइन र तस्बिर असान्दर्भिक गएकोले सच्चाइएको छ ।- सम्पादक

प्रतिक्रिया दिनुहोस्