Logo
Logo

कांग्रेसका नेताहरूले सरकार फेर्न प्रस्ताव ल्याएको वर्षमान पुनको खुलासा


3.8k
Shares

रुकुम पूर्व । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले नेपाली कांग्रेसका नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताएका छन् ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटनमा बोल्दै नेता पुनले केपी शर्मा ओली नेतृत्वको सरकारसँग कांग्रेस र एमालेकै नेताहरू वाक्क हुन थालेकाले कांग्रेसका नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताएका हुन् ।

उनले भने, ‘एमालेका नेताहरू आएर बीआरआई पनि भयो अव कम्युनिस्टहरू मिलौँ भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरू आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ । उहाँहरू विकल्पमा छलफल गरौँ भन्न खोज्नुहुन्छ । हामी रहर गर्नुभएको छ बोक्नुस्, भनिरहेका छौँ । तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र बिचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहादैनौं । यो हाम्रो प्रतिबद्धता हो ।’

उनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने भन्दै भने, ‘हामी अव सरकारमा जाने होइन । ०८४ सम्म जाँदैनौँ भनेका छौँ । सडक र सदनबाट जनताका मुद्दा उठाउँछौँ । अव हामी समाजवादी गणतन्त्रको विकल्पसहित हामी सरकारमा भएका स्थानीय तहहरूमा काम गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्