काठमाडौं । निर्वाचन आयोगले विना प्रतिस्पर्धा खरिद गरेको करिब २५ करोडमा मेसिन अहिले अलपत्र परेको छ । २०७४ सालको वैशाख ३१ गते पहिलो चरणको र जेठमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगले बिनाप्रस्तिस्पर्धा खरिद गरेका तीनवटा मेसिन अहिलेसम्म प्रयोगमा आउन सकेको छैन ।

आयोगले २०७४ साउनमा हाई स्पिड डिजिटल कलर प्रिन्टर मेसिन १ थान र छाड स्प्रिङ्ग डिजिटल मोनोक्रोम (श्याम स्वेत प्रिन्टरण) २ थानसमेत २४ करोड ५३ लाख ९ हजारमा मेसिन खरिद गरेको थियो ।
मेसिनको मूल्य २१ करोड ८३ लाख ४० हजार रहे पनि करसहित मेसिन खरिदमा साढे २५ करोड खर्च भएको थियो । तर उक्त तीनवटै मेसिन अहिलेसम्म सञ्चालनमा आएको छैन । मेसिन खिया लागेर बसेको छ ।
मेसिन चल्ने नचल्नेमा निर्वाचन आयोग आफै अन्योलमा छ । यो विषयमा केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोजनविहिन मेसिन किनेर खिया लगाएर राखेको भन्दै निर्वाचन आयोगका तत्कालीन पदाधिकारीप्रति आक्रोश व्यक्त गरेका थिए ।
निर्वाचन आयोगले मतदाता परिचयपत्र, मतपत्र, मतदाता परीक्षणका लागि चाहिने कागजपत्र छपाइ तथा प्रिन्टका लागि भन्दै उक्त मेसिन खरिद गरेको थियो । त,र उक्त मेसिन स्थानीय तहको निर्वाचन २०७४ को तेस्रो चरण, केन्द्रीय निर्वाचन तथा त्यसपछि भएको निर्वाचनमा समेत प्रयोगमा आएन ।
मेसिन खरिद तथा प्रयोगको विषयमा महालेखको बारम्बार प्रश्न गर्दै आएको छ । महालेखाले ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मेसिन खरिद र प्रयोग विषयमा प्रश्न उठाएको थियो ।
‘आयोगले २०७४ मा हाई स्पिड डिजिटल कलर प्रिन्टर मेसिन १० करोड ५५ लाख ४० हजारमा १ थान र छाड स्प्रिङ्ग डिजिटल मोनोक्रोम ११ करोड २८ लाख मूल्यको २ थान समेत २१ करोड ८३ लाख ४० हजारमा खरिद गरेको छ,’ महालेखाको ५८ औं प्रतिवेदनमा भनिएको छ, ’ती मेसिनहरु २०७६ मा भएको उपनिर्वाचनमा समेत प्रयोग गरेको देखिएन। उच्च क्षमताका मेसिनहरु खरिद गरेतापनि प्रयोगमा नल्याई बाहिरबाट छपाइ भइरहेको छऽ मेसिनको उपयोगका लागि प्रयोग हुने कागज एवं जनशक्तिको व्यवस्थापन गरी मेसिन उपयोगमा ल्याउनुपर्दछ ।’
ओम्नी कम्पनीले २०७३ सालदेखि सरकारी कागज पत्र छपाइ, जनक शिक्षा केन्द्रसँग किताब छपाइ तथा निर्वाचन आयोगको सामान आपूर्ति तथा मतदाता परीचय पत्र छपाइको जिम्मा पाएपछि यो मेसिनको खरिद प्रकृया अघि बढेको थियो । आयोगले स्थानीय निर्वाचन २०७४ को पहिलो चरण र दोस्रो चरणमा भएको निर्वाचनका लागि मतदाता परीचय पत्र छपाइको जिम्मा ओम्नीलाई दिएको थियो । आयोगले ओम्नीलाई मतदाता परिचय पत्र छपाईका लागि प्रतिथान ९ रुपैयाँ ९९ सय पैसा ठेक्का सम्झौता गरेको थियो । तर ओम्नीले निर्वाचन आयोगले भनेको सर्त भन्दा कमसल खालको मतदाता परिचप पत्र छापेर दिएको थियो । तर कमसल मतदाता परिचयपत्र छपाइ गरेकै कम्पनीको मेसिन नै निर्वाचन आयोगले खरिद गर्ने निर्णय गरेको थियो ।
तत्कालीन निर्वाचन आयुक्तहरू अयोधीप्रसाद यादव र ईला शर्मासँगको विशेष सम्बन्धका आधारमा ओम्नीले निर्वाचन आयोगबाट कार्ड छपाइको काम लिएको थियो । सोही सम्बन्ध आधारमा उनीहरुले विना प्रतिस्पर्धामा नै ओम्नीसँग साउनमा हाई स्पिड डिजिटल कलर प्रिन्टर मेसिन १० करोड ५५ लाख ४० हजारमा १ थान र छाड स्प्रिङ्ग डिजिटल मोनोक्रोम ११ करोड २८ लाख मूल्यको २ थानसमेत २१ करोड ८३ लाख ४० हजारमा मिसन खरिद गरेको थिए ।
स्थानीय तहको निर्वाचन (तेस्रो चरण) मा नै छपाइ लगायतका कामका लागि भनिएको मेसिन संघीय निर्वाचन २०७४ मा समेत प्रयोगमा आएन। आयोगले पुनः प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मतदाता संख्या २१ लाख ७० हजार ९८५ को मतदाता परिचय पत्र छपाइ गर्न ओम्नीलाई नै जिम्मा थियो । २१ करोड रुपैयाँ भन्दा बढीमा ओम्नीसँग नै खरिद गरेको मेसिन प्रयोगमा ल्याएन ।
आयोगले ओम्नीलाई पुनः १३ रुपैयाँ ५० पैसामा प्रतिथान मतदाता परिचयपत्र छपाई गर्न दिएको थियो । संघको निर्वाचनमा मात्रै उक्त संख्यामा मतदाता परिचयपत्र छपाईमा २ करोड ८७ लाख २७ हजार रुपैयाँ भन्दा बढी खर्च गरेको स्रोतको दावी छ ।











