काठमाडौं । विनोद चौधरी नेपालको एकमात्र डलर खर्बपति कसरी बने भन्ने कुराको अर्को उदाहरण उनका छोरा निर्वाण चौधरीको राजस्व ठगी धन्दाले स्पष्ट पारेको छ । मौका पाउनासाथ राजस्व छल्ने बानी परेको चौधरी ग्रुपले विगतमा पनि अर्बौं रुपैयाँ राजस्व छल्ने गरेको समाचार आउने गथ्र्यो ।

अहिले विद्युतीय सवारी साधनमा हात हालेको चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्स प्रालिले चीनबाट आयात गरेको विद्युतीय माइक्रोबसमा करोडौं राजस्व ठगी गरेको कुरा तातोपानी भन्सारबाट खुलेको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले ‘कर दिवस’का अवसरमा सम्मानित निर्वाण चौधरीको यस्तो धन्दाले कर प्रशासनको शिर निहुरिएको छ ।
समाचार स्रोतका अनुसार, तातोपानी भन्सारबाट आयात भएका ‘किङलङ’ माइक्रोबसमा एउटै मोडलको विद्युतीय बसमा फरक फकर एचएस कोड प्रयोग गरेर करोडौं राजस्व छलेको समाचार स्रोतले बताएको छ । यसरी एचएस कोड प्रयोग गरेर भन्सार छली गरेको देखिएकोले तातोपानी भन्सारले सिजी मोटर्स ललितपुरलाई १४ करोड ५८ लाख २ हजार पाँच सय ८५ असुल गर्न पत्राचार गरेको छ ।
आर्थिक ऐन, २०८० को दफा २(१) सँग सम्बन्धित अनुसूची–१ म उल्लेखित परिच्छेद, भाग, शीर्षक, उपशीर्षकसँग समाञ्जस्य हुने गरी आयातित मालवस्तुको दर्ताका लागि प्रचलित कानुनले मापदण्ड तोेकेको छ । सो बमोजिम हुने गरी मालवस्तुको हार्मोनाइज्ड कोड निर्धारण गरी भन्सार मूल्यमा महसुल निर्धारण गरी असुल गर्न चौधरी ग्रुपलाई भन्सारले पत्राचार गरेको छ । एकै मोडलको सवारी साधनका लागि समान हार्मोनाइज्ड कोड लागू गर्नुपर्ने दाबी तातोपानी भन्सारको छ ।
समाचार स्रोतका अनुसार सिजी मोटर्स प्रालि ललितपुरले चीनबाट निर्यातक Xiamen kingLong United Automotive Ind Co. Ltd. China बाट विजकबमोजिम प्रतिगाडी २०.४९ घनमिटर (५३००–१७००–२२७५ एमएम) आयतन छ ।
प्रतिगाडी कुल तौल २०३२ किलोग्राम रहेको छ । १४ सिटे सवारी मोडेल KingLongXMQ6520 को ८० किलोवाट पिएमपी शक्तिको विद्युतीय गाडी प्रज्ञापन पत्र नं. ५४३९/१५–९–२०२३ बाट ३० थान अमेरिकी डलर २२०४०.००, प्रज्ञापन पत्र नं. ९००८/२८–१२–२०२३ बाट ५० थान अमेरिकी डलर २२०४०.००, २१७/१७–१–२०२४ बाट ५० थान अमेरिकी डलर २२०४०.०० र १९०४/२६–३–२०२४ बाट २५ थान, अमेरिकी डलर २०५५०.०० ले १५५ थान गाडी आयात गरेको थियो ।
ती सवारी साधनहरुका लागि एचएस कोड ८७०२.४०.३० को माइक्रोबस शीर्षकमा वर्गीकरण गरी भन्सार मूल्यमा महसुल दर १० प्रतिशत, मुअकर १३ प्रतिशत र सडक निर्माण दस्तुर २.५ प्रतिशतका दरले महसुल असुल गरे पनि सोही मोडेलको सवारी साधनलाई सोही निर्यातकबाट सोही आयातकर्ताको प्रज्ञापन पत्र नं. २१३६/४–४–२०२४ बाट २५ थान, अमेरिकी डलर २०५५०.०० र ४००५/९–६–२०२४ बाट २५ थान अमेरिकी डलर २०७५०.०० का दरले आयात गरेको तातोपानी भन्सारको दाबी छ ।
सो सवारी साधनलाई कार्यालयले पहिले नै वर्गीकरण गरेको एचएस कोड ८७०२.४०.३० नलगाई सो भन्दा घटी दरबन्दी १ प्रतिशत मात्र लाग्ने एचएस कोड ८७०२.४०.२० मिनीबसमा वर्गीकरण गर्दा मिनीबसका लागि आवश्यक पर्ने प्राविधिक गुण र सिटको स्पेसिफिकेशन जाँच बेगर केवल १५ सिटे आधारमा मिनीबस शीर्षकमा वर्गीकरण गरी सो मालवस्तु जाँचपास गरेर राजस्व छली गरेको देखिन्छ ।
आर्थिक ऐन, २०८० को दफा २ (१) सँग सम्बन्धित अनुसूची–१ के दफा १२ (५) बमोजिम शीर्षक ८७.०२ को प्रयोजनका लागि सिट संख्या गणना गर्नु पर्दा नियमित सिट संख्या र ड्राइभर सिट गणना गरिने तर कण्डक्टर सिट एवं अन्य अतिरिक्त सिट तथा फोल्डिङ सिटलाई गणना नगरिने व्यवस्था गरेको छ ।
समाचार स्रोतका अनुसार, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४ अनुसार चार टनदेखि दश टनसम्म वजन भएको मिनीबसलगायतका मझौला सवारीमा र सोही ऐनको दफा ५ अनुसार चार टनभन्दा कम्ती वजन भएको कार, जीप, भ्यानलगायतलाई सानो सवारीमा वर्गीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।
यात्रीबाहक मिनीबसका लागि ऐनको दफा ६ को उपदफा (४) को प्रयोजनको लागि सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १८(१)(घ) बमोजिम सिटको लम्बाइ, चौडाइ र उचाइ कम्तीमा १५ इन्च पिठ्यूँको उचाइ कम्तीमा २२ इन्च र पंक्ति बढीमा २÷२ हुनुपर्ने र सिटको एक पंक्तिबाट अर्को पंक्तिको बीचको बाटो कम्तीमा १४ इन्च र सिटको पंक्तिबाट लेग प्लेसको दूरी १३ इन्च, मिनीबसको भित्री उचाइ ६४ इन्च र बसमा स्केप ह्याचसहितको संकटकालीन निकासको व्यवस्था हुनुपर्ने उल्लेख छ ।
प्रज्ञापन पत्र नं. २१३६ र ४००५ बाट आयात गरिएका प्रति गाडीको कुनै तौल २०४० किलोग्राम उल्लेख भएको र कागजातमा प्रतिगाडीको आयातन २०.४७ घनमिटर देखाए तापनि सवारी परीक्षण कार्यालयले गरेको परीक्षणबमोजिम १९.१८ घनमिटर (५३००–१६४५–२२०० एमएम) रहेको छ ।
यसको आधारमा ती गाडी मझौला सवारीअन्तर्गत नपर्ने तथा ती गाडीमा कानुनबमोजिम अतिरिक्त सिट र फोल्डिङ सिट गणना नमिल्नेमा पनि १४ सिटको सो मोडेलको गाडीमा १ सिट थप गरे तापनि कानुनबमोजिम निर्धारित स्पेसिफिकेशनबमोजिम अतिरिक्त सिट गणना गर्न नमिल्ने र मिनीबस हुन सिटको पंक्ति र आकार, आन्तरिक उचाइ तथा संकटकालीन निकासको व्यवस्थासमेत रहेको पुस्ट्याई बेगर एचएस कोड ८७०२.४०.२० को मिनीबसमा वर्गीकरण गरेर आयात गर्दा कानुनी र प्राविधिक व्यवस्था अनुरुप नमिल्ने हुँदा छुट भएको भन्सार महसुल रु. १२५४१७८७.७४, दस्तुर रु. ३५४३०५.५० मुअकर रु. १६७६४९२.१२३ समेत कुल रकम १४५७२५८५.३७ असुल गर्नुपर्ने स्रोतले बताएको छ ।











