
काठमाडौं । नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।
अन्तरपार्टी निर्देशिका जारी गर्दै अध्यक्ष माधवकुमार नेपालले सरकारको अयोग्यताले आम नागरिकमा असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको बताएका हुन् ।
‘वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न सकेको छैन । यो सरकार देश र जनताको हित् प्रतिकूल निरङ्कुश ढङ्गले अगाडि बढ्दैछ । संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ । यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ,’ अपानीमा भनिएको छ ।
साथै एमाले र माओवादी केन्द्रले कम्युनिष्ट आन्दोलन अगाडि बढाउन नसक्ने निष्कर्ष निकाल्दै उनले कम्युनिष्ट आन्दोलनको कार्यभार सम्हाल्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आइलागेको बताएका छन् ।
‘अरु कसैले त्यो जिम्मेवारी वहन नगरेको हुँदा हामीले नेकपा एकीकृत समाजवादी गठन गरेर अगाडि बढ्नुपरेको तथ्य हामी सबैले बुझेका छौं । त्यसैले हाम्रा समस्या र चुनौती वा उपलब्धि र सफलता समग्र कम्युनिष्ट आन्दोलनकै विषय हुन्’, अपानिमा उल्लेख छ ।














