विराटनगर । क्यानडामा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने एक भारतीयसहित पाँचजना पक्राउ परेका छन् । उनीहरुले विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीबाट क्यानडा पठाउने भन्दै ६६ लाख ६७ हजार ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा राखिएको विज्ञापनमा भरपर्दा बाबुछोरा महेशकुमार चौधरी र युपेशकुमार ठगिएका हुन् । ठगिएको थाहा पाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । यो समूहले ‘भिसा लाग्यो’ भन्दै विभिन्न व्यक्तिहरुको बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा भारत जोगबनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित राय रहेका छन् । ठगीका मुख्य योजनाकार भारतीय नागरिक यादव रहेको प्रहरीको भनाइ छ ।
ती गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर क्यानडा, युरोप, अमेरिका, कुबेत, दुबईलगायत देश पठाउने भन्दै रकम असुलेर सम्पर्कविहीन हुने गरेको पाइएको डीएसपी जोशीले बताए । उनका अनुसार सामाजिक सञ्जालमार्फत जोडिएका व्यक्तिलाई विदेशी नम्बरको ह्वाटसप नम्बरबाट सम्पर्क गरी उनीहरुले ठगी गर्दै आएका थिए । उनीहरुविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेको प्रहरीले जनाएको छ ।