काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारले ल्याएका अध्यादेशहरू अस्वीकार गर्ने निर्णय गरेको । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यादेशको प्रक्रिया नै गलत भएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

सरकारले पहिला नै ल्याएको विधेयक समितिमा भएको भन्दै उनले भने, ‘सरकारले जसरी छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने कुरा पहिला नै ल्याएको विधेयक समितिमा छ । त्यहाँबाट लाँदा सजिलो हुन्थ्यो । त्यसलाई फिर्ता नलिइ अध्यादेश जारी गरिसकेपछि मात्रै फिर्ताको चिठि लेखेर लिएर गएको छ । त्यो छिटो गर्न खोजेको भनाइलाई त्यो तथ्यले आफैं खण्डित गर्छ । प्रक्रियागत हिसाबले नै यो बेठिक छ । हामीले यसलाई अस्वीकार गर्नुपर्छ भन्ने कुरा भएको छ ।’
उनले अध्यादेश प्रतिस्थापन विधेयकलाई फास्ट ट्र्याकमा पारित गर्ने तयारी समेत उचित धारणा राखे । त्यस्तै जनताका आवाजलाई व्यवस्थित र सशक्त रुपमा उठाउने निर्णय समेत भएको पाण्डेले बताए ।
भोलिबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा आफूहरू जनताका आवाजलाई व्यवस्थित र सशक्त बनाएर अघि बढ्ने निर्णय पनि भएको उनले जानकारी दिए ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सदन सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी प्रस्तुत हुन सांसदहरूलाई निर्देश समेत गरेको छ ।