Logo
Logo

ट्रम्प नीतिको नेपालमा प्रभाव


डा. दीपेश केसी

2.6k
Shares

१२ असारमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले समलिङ्गी विवाहको अस्थायी दर्ताको आदेश जारी गरे । समलिङ्गी विवाह दर्ता र तेस्रो लिङ्गीका लागि भन्दै अमेरिका, युरोपेली युनियनसहितका पश्चिमा देशहरूबाट नेपाललगायत एसियाका अधिकांश मुलुकमा आएको अनुदानले यस्ता अभियान बढिरहँदा यो घटना विकास भएको हो ।

भारतमा समलिङ्गी विवाह दर्ताको मुद्दामा त्यहाँको अदालतले कानुन नै नभएकाले संसदबाट कानुन बनाएर मात्र गर्न सकिने फैसला सुनायो । तर, नेपालमा कानुन नै नभएको समलिङ्गी विवाह दर्ताको अन्तरिम आदेश जारी गर्दा अस्थायी दर्ताको प्रावधान राखियो ।

ताइवानपछि एसियामा नेपाल दोस्रो देश बन्यो जहाँ समलिङ्गी विवाह दर्ताको व्यवस्था ल्याइयो । समलिङ्गी विवाहको अस्थायी दर्ताको सर्वोच्च अदालतको आदेशको अमेरिकी दूतावासले १३ असारमा सामाजिक सञ्जालमार्फत स्वागत गरेको थियो ।

तेस्रो लिङ्गी र समलिङ्गीको अधिकारका लागि भन्दै अमेरिकाले नेपालमा ठूला परियोजनाहरू समेत सार्वजनिक ग¥यो । एनजिओहरूलाई तेस्रो लिङ्गी, समलिङ्गीको अधिकारका लागि काम गर्न अमेरिकी सहयोग निकायले अनुदान लिन दरखास्त आव्हान नै ग¥यो । अमेरिकी राजदूत डिन आर थोम्सनले तेस्रो लिंगीका पक्षमा अमेरिकी दूतावासको सामाजिक सञ्जालमा उल्लेख गर्दै आएका छन् । २१ जून २०२४ मा उनले त्यस्तै पोस्ट फोटोसहित गरेका छन् ।

यसरी अमेरिकाले तेस्रो लिङ्गी र समलिङ्गी गतिविधिका लागि खुलेरै काम ग¥यो नेपालमा । ठूलो धनराशी पनि खर्चियो । परराष्ट्रमन्त्री आरजु राणाले त युरोप पुगेर नेपालले तेस्रो लिङ्गी र समलिङ्गीको अधिकारको लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भाषण गर्न भ्याइन् ।

यी सबै घटना अमेरिकामा उदारवादी धारका भनिएका जो वाइडे राष्ट्रपति हुँदा भएको हो । वाइडे राष्ट्रपति हुँदा नेपालमा समेत अमेरिकाले तेस्रो लिङ्गी र समलिङ्गी गतिविधिलाई प्रोत्साहित गर्ने कदमहरू चालिए । अहिले अमेरिकामा राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पुरुष र महिला गरी दुई वटा मात्र लिङ्ग हुने बताएर सरकारी कामकाजमा दुई मात्र लिङ्गलाई मान्यता दिने निर्णय लिए ।

उनले तेस्रो लिङ्गी र समलिङ्गी गतिविधिलाई निरुत्साहित मात्र गरेनन् सहयोग पनि रोकिदिए । अमेरिका नीति अन्तर्गत लैङ्गिक मामलामा व्यापक फेरबदल आइसकेको छ । यसको प्रभाव विश्वव्यापी रूपमा देखिइसकेको छ । नेपालमा पनि असर पर्ने नै छ ।

ट्रम्पले हालै मात्र अमेरिकाले गर्ने सहयोग रकम अधिकांश देशमा रोकेर त्यसको पुनरावलोकनको आदेश दिए । यस्तै कदमहरू चाल्ने नारा बोकेर चुनाव जितेका हुन् ट्रम्प । अमेरिकामा उदारवादका नाममा मौलाइरहेको अप्राकृतिक गतिविधिलाई छुट दिने अवस्थालाई रोकिदिएका छन् । तर, त्यस्ता अप्राकृतिक गतिविधिको भारी नेपालले बोकिसकेको छ ।

नेपालमा नीति निर्माताको अपरिपक्वता र स्वार्थी समूहबाट प्रभावित हुनेहरुका कारण निर्णयकर्ताहरू चुकिसकेका छन् । अब नेपालका ती नीतिबारे के हुन्छ ? चासोको विषय बनेको छ । अदालतको अन्तरिम आदेश भन्दै कतिपय नगरपालिकाहरूमा समलिङ्गीको अस्थायी विवाह दर्ता गरिएको छ । त्यसको वैधानिकतामा प्रश्न त छँदै छ । अर्कोतर्फ, बदलिएको अमेरिकी नीतिले असर पार्ने सम्भावना पनि छ ।

अमेरिकाको ट्रम्प टिममा भारतसँग नरम र चीनसँग गरम नीति राख्नेहरू हाबी छन् । विदेशमन्त्री मार्को रुबियो चीनप्रति कडा नीति राख्छन् । हिन्दू धर्मालम्बी तुलसी गब्बड जासुसी एजेन्सीहरू हेर्ने जिम्मेवारीमा छिन् । भारतीय मूलका अमेरिकी रिक्की गिल, सौरभ शर्मा र कुश देशाई ट्रम्पको टिममा छन् । यसबाट पनि ट्रम्पको भारतसँग निकट सम्बन्ध राखेर काम गर्ने रणनीति देखिन्छ ।

उनले पहिलो भेट कुन विदेशी नेतासँग गर्छन् त्यसले पनि उनको नीति प्रस्ट पार्दछ । कूटनीतिमा भेटमार्फत सन्देश नै काफी छ । वाइडे राष्ट्रपति हुँदा रुससँग नजिकिएको र चीनसँग पनि विगतको कटुता अन्त गरी निकटता बनाएको भारतलाई साथमा लिन ट्रम्पले रणनीतिहरू चालिसकेको देखिन्छ ।

एसियामा जापान र दक्षिण कोरिया जस्ता अमेरिकाका परम्परागत मित्र छँदै छन् । तर, उदयमान शक्ति भारत शक्ति सन्तुलनमा निर्णायक शक्ति बनिसकेको छ । परिवर्तित विश्व व्यवस्थामा अमेरिकालगायत पश्चिमा देशहरूको शक्ति घटेको भारतका विदेशमन्त्री एस जयशंकरले हालै सार्वजनिक रूपमा बोलिसकेका छन् ।

यो यथार्थबीच ट्रम्पको अमेरिकालाई महान् बनाउने नारा कार्यान्वयनका लागि पनि भारतको साथ अनिवार्य छ । उनले दक्षिण एसियामा भारतलाई चिढ्याउने कुनै कदम चाल्नेछैनन् भन्ने घटनाक्रमले देखाइसकेको छ ।

वाइडेनको पालामा दक्षिण एसियामा अमेरिकाको विभिन्न माध्यमले आक्रामक उपस्थिति देखिन्थ्यो । विकास परियोजनाहरूको बाढी आएको थियो । खुल्ला समाजको अवधारणा सारेर संसारभर अस्थिरता मच्चाउने आरोप खेपेका जर्ज सोरस प्रभावशाली भएकाले उनको ओपन सोसाइटीको उपस्थिति पनि बलियो देखिन्थ्यो ।

भारतलाई धक्का पर्ने गरी बँगलादेश र श्रीलंकामा भएका घटना पछाडि अमेरिकासहित पश्चिमा देशहरूको भूमिका लुकेको छैन । युरोप र क्यानडामा केन्द्र बनाएर सक्रिय खालिस्तानीहरु भारतमा प्रभावशाली देखिए । लोकसभाको चुनावमा खालिस्तानी दुई उम्मेदवार अमृतपाल सिंह र सर्वजीत सिंहले जित्नुका पछाडि भारतबाहिर रहेका खालिस्तानीहरुको भूमिका महत्त्वपूर्ण थियो ।

सर्वजीत त इन्दिरा गान्धीको हत्या गर्ने दुई सुरक्षागार्डमध्ये एक बेन्ट सिंहका छोरा हुन् । यो घटनाक्रममा क्यानडाको भूमिकामाथि प्रश्न उठाइएको थियो भारतमा । क्यानडाका प्रधानमन्त्री ट्रडिउमाथि खालिस्तानीलाई सघाएको आरोप लागेको थियो । तर, ट्रम्प निर्वाचित भएपछि ट्रडिउको राजीनामा आएको छ । खालिस्तानीहरु निरुत्साहित भएका छन् ।

अहिले बंगलादेशमा अमेरिकाले दिँदै आएको सहयोग नै रोकेको छ । भारतसँग बँगलादेशको सम्बन्ध चिसिएको अवस्थामा यो निर्णय आएको छ । यी सबै घटना ट्रम्पले भारतको साथ लिन चालेको देखिन्छ । दक्षिण एसियामा भारतलाई धक्का पुग्ने या प्रभावहीन बनाउने कदमबाट अमेरिका विस्तारै पछि हट्ने सन्देश पनि हो यो । यसको प्रभाव चाँडै देखिन सक्छ अब । क्षेत्रीय राजनीतिमा भारतको प्रभाव बढ्ने अवस्था विकास भएको छ ।

ट्रम्पले गैरकानूनी आप्रवासीलाई डिपोर्ट गर्न थालिसके । अवैध आप्रवासी पस्न सक्ने संवेदनशील नाकाहरुमा संकटकाल घोषणा गरेका छन् । जसका कारण अवैध मार्गबाट अमेरिका पस्ने र मानव तस्करहरूलाई धक्का पुगेको छ । नेपालबाट वर्षेनी हजारौंको संख्यामा अवैध मार्गबाट अमेरिका लाने गिरोह समस्यामा परेको छ । मानव तस्करीले जनशक्ति र धन दुवै गुमाइरहेको नेपालमा ट्रम्पको नीतिले सकारात्मक असर ल्याउन सक्छ ।

अमेरिकी सहयोग निकायले विश्वका अधिकांश देशमा दिँदै आएको अनुदान रोक्दा गैर सरकारी संस्थाहरूमा सिधा असर पर्दछ । यसको प्रभाव रोजगारीको क्षेत्रमा पनि देखिन सक्छ । तर, खुल्ला समाजका नाममा गैर सरकारी क्षेत्रमार्फत् नेपाली समाजमा विभाजन ल्याउने र संकट थप्ने अभियानहरूमा भने धक्का परेको छ ।

जर्ज सोरस अमेरिकामा पराजित भएको विश्लेषण हुनुले उनको गतिविधि नेपालमा पनि कमजोर हुनपुगेको छ । हुनत सोरस युरोप मुकाम बनाएर सक्रिय हुन खोजेका छन् । तर, त्यहाँ पनि उनको विरोध भइरहेको छ । ट्रम्पको प्रतिरक्षा, करलगायत विभिन्न कदम चीनका लागि चिन्ताको विषय बनिरहँदा भारतका लागि उत्साहको विषय बन्दै छ । रुस त ट्रम्पको पुनरागमनले युक्रेन युद्धको आशामा देखिन्छ ।

युद्ध अन्तदेखि दक्षिण एसियामा भारतलाई नचिढ्याउने अमेरिकी नीतिको प्रत्यक्ष अप्रत्यक्ष असर नेपालमा पनि पर्न सक्छ । तथापि राष्ट्रिय स्वार्थमा चल्ने ट्रम्प जस्ता आक्रामक नेताको कदम अपत्यारिलो र राष्ट्रलाई केन्द्रमा राखेर हुन्छ । अबको ट्रम्पको कार्यकालभर संसारमा गजबका घटनाहरू विकास हुन सक्छन् र त्यसको असर नेपालमा पनि पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्