Logo
Logo

समाजवादी भातृ संगठनको बिचल्ली


8.9k
Shares

युवा पिँढीमा बढ्दो आक्रोशप्रति राजनीतिक दलका शीर्ष नेतृत्वले किन यति साह्रै नजरअन्दाज गरिरहेका छन् ? कि उनीहरू आजको दुनियाँप्रतिको बुझाइ र बुझाइमा पूरै अन्धकार छन्, कि यिनीहरू जीवनको उत्तरार्धपश्चातको पुस्ताबारे बाल मतलबमा । यी दुई कौतुहलताका मुख्य विषय हुन् ।

विश्व दुनियाँमा सामाजिक सञ्जालको बढ्दो विस्तारसँगै मानिसमा सोच्न सक्ने, मनन गर्न सक्ने सामथ्र्यमा एकाएक परिवर्तन आएको छ । अमुक नेताको भाषण नै अन्तिम सत्य हो भन्ठान्ने पुस्तासमेत बढ्दो सामाजिक सञ्जालको प्रभावसँगै आफ्नो धारणा बनाउन सक्ने भएका छन् ।

किताबी अक्षरमा लेखिएका सिद्धान्तको रटान नै राजनीति हो भन्ने पुस्तामा आएको परिवर्तन र विश्व दुनियाँलाई बुझ्न सक्ने युवापुस्ताको प्रभावसँगै शीर्ष नेताको सोचाइ, बुझाइ र उनीहरूको काम गराइप्रति अविश्वास पैदा भएको हो । यति सामान्य विषय बुझ्न नसक्ने नेतृत्व नै हाम्रो जीवनकालकै सबैभन्दा ठुला बाधक हुन् ।

समय यस्तो आयो, केही राजनीतिक ज्ञान, विचार र चेतना बाँड्न खोज्दा झोलेको ट्याग लाग्ने परिस्थिति छ । आखिर राजनीतिक बुझाइ भएको पुस्ताले बाँड्ने भनेकै ज्ञान, विचार र चेतना त हो । पार्टीप्रतिको निष्ठा, इमानदारिता राजनीतिक कार्यकर्ताको प्राण हो । यो सत्य विषय हुँदाहुँदै आफू आबद्ध दल र त्यो दलको विचार बोक्ने युवा अहिलेको समयमा झोलेको पदवी खान विवश छन् । शीर्ष नेतृत्वकै कारण राजनीति बुझेका भनिएका युवा पनि कम पीडित छैनन् ।

विचारबाट प्रेरित राजनीतिक दलले आफ्ना भातृ संघ, संगठनमार्फत आफ्नो प्रभाव बढाउनु स्वाभाविक कर्म हो । राजनीतिक कार्यकर्ताको काम नै पार्टी विस्तार गर्नु हो । राज्य सञ्चालन गर्न सक्ने ठाउँमा एकाएक ह्वात्तै दुनियाँका कुनै पनि लोकतान्त्रिक मुलुकमा पुग्न सकिँदैन । आखिर सत्य यहीँ नै हो । तर, शीर्ष नेताकै कारण भातृ संगठन कहिल्यै नउठ्ने गरी मार्ने काम भइरहेको छ ।

कुरा नेकपा (एकीकृत समाजवादी)को हो । संविधान बचाउने मात्र नभई सिंगो कम्युनिष्ट आन्दोलन बचाउने उद्देश्यका साथ समाजवादी पार्टी गठन भएको थियो । नेकपा एकीकृत समाजवादी पार्टी के–कति कारणले गठन भएको हो, सबै यस विषयमा जागजायर नै छौँ ।

यसको चर्चा गर्नु यहाँ निरर्थक छ । समाजवादी गठनसँगै यसमा लागेका कार्यकर्तामा बेग्लै उत्साह, जोस र जाँगर थियो । भलै आम जनताले कसरी हेरेका थिए, त्यो मापनको कडी आमनिर्वाचन नै थियो । जुन निर्वाचनबाट समाजवादीको हैसियत समाजमा प्रस्टै छ । तर पनि कार्यकर्ता तवरमा समाजवादी गठन एक उत्साहको जन्म थियो ।

जुन गतिले नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो, यस पार्टीमा लागेका ४० वर्षमुनिका युवा, २५ वर्ष माथिका युवामा देखिएको उत्साह, हौसला र खुसीयालीप्रति समाजवादीका नेता कहिल्यै चिन्तित देखिएनन् ।

युवालाई सधैँ केटाकेटी देख्ने आम रोगको सिकार समाजवादीका नेता पनि भए । संसारप्रतिको बुझाइ र संसारै हाँक्न सक्ने रथ आफैँ चलाउन सक्छु, जस्तो सोच बोकेका नेताले युवाको जोस, जाँगरमाथि कसरी लात हानिरहेका छन् भन्ने विषय समाजवादीका भातृ संगठनको अवस्था हेरे पुग्छ ।

समाजवादीको एउटा संगठन छ, युवासंघ नेपाल । त्यो एउटा होइन, दुई वटा छ । फेरि अहिले होइन, एक वर्षअघिदेखि बनेको हो । युवाबीच यतिविघ्न विचलनता देखिएका छन्, यतिविघ्न समस्या छन्, यो संगठन कदापि त्यसमा चिन्तित छैन । छ त केबल सानो समूहको गुटको नेता बन्ने चिन्ता ।

आफ्नो सांगठानिक जीवनसमेत युवासंघ नेपालको क्षतविक्षत बनिसकेको छ । यसका संरचना लगभग समाप्तको दिशामा छन् । जिल्ला–जिल्लामा युवासंघसँग आबद्ध युवाहरूले यो संगठन छाडेको आजबाट होइन, तीन वर्षा पहिलादेखि नै हो । तर समाजवादीका नेता बाँच्न नसक्ने गरी थला परेको युवासंघलाई बचाउनेतर्फ पहलकदमीतर्फ छैनन् ।

अर्को छ अनेरास्ववियू । यो हराएको आजबाट होइन, २०७७ पुस १० को कार्यकर्ता भेलाको भोलिपल्टबाट हो । जन्मेदेखि तमाम गुटको जत्था बनेको अनेरास्ववियू क्याम्पस तहबाट लगभग समाप्तको दिशामा छ । यसलाई बचाउनु पर्छ भनेर लाग्नेहरू थाकिसकेका छन् ।

क्याम्पसको पढाइ छाडेका एक थान युवा भने सिंगो मुलुकको विद्यार्थी आन्दोलन आफैँ हाँकिरहेको जस्तो गरी काठमाडौँबाट हुँकार दिन भने छाडेका छैनन् । विद्यार्थी संगठन निर्माणको थलो स्कुल, क्याम्पसबाट नै सकिएको संगठनको अर्थ खोज्न जरुरी छैन ।

प्रतिक्रिया दिनुहोस्