कैलाली । भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युतराज कलौनीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । मृतकका बुवा जनकराज कलौनीले छोरालाई हत्या गरेर फालेको हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

गृहमन्त्री रमेश लेखकसँगको भेटमा उनले घटना शंकास्पद रहेको बताए । उनले ‘छोराको अन्तै कतै मारेर ल्याएर यहाँ फालेको हो कि भन्ने शंका छ ।’ घटनापछि गृहमन्त्री लेखक शनिबार कञ्चनपुर पुगेका छन् ।
कलौनीको शव फेला परेको स्थानमा रहेका घरमा मान्छे बस्ने गरेका छैनन् । त्यसरका आधारमा पनि कलौनीको हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएको हो । छोराले प्रयोग गर्दै आएको मोबाइल नभेटिनुले पनि आशंका उत्पन्न भएको बुवा जनकराजको भनाइ छ । प्रहरीले उक्त मोबाइलको खोजी थालेको छ ।
कांग्रेसका युवा नेता कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडकको पेटीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए । उनको शरीरमा बाहिर कुनै घाउचोट छैन । शव नजिकै उनको खाली ‘वालेट’ फेला परेको थियो । कलौनीको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
यसैबीच नेपाली कांग्रेस कञ्चनपुरले कलौनीको शंकास्पद मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ । विज्ञप्ती जारी गर्दै पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।
कलौनीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म महेन्द्रनगरस्थित पार्टी कार्यालयमा राख्ने तयारी कांग्रेसले गरेको छ ।
