काठमाडौं । नेपालभाषाको साहित्यिक र बौद्धिक क्षेत्रको एकमात्र प्राज्ञिक संस्था नेपालभाषा एकेडेमीको नयाँ चान्सलर मल्ल के. सुन्दर सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न एकेडेमीको चौबिसौं वार्षिक सभाबाट मल्ल सर्वसम्मत चान्सलर चयन भएका हुन् ।

एकेडेमीको विधान अनुसार सम्पन्न कार्यकारिणी समिति चयन प्रक्रियामा मल्ल चान्सलर डा पुष्पराज राजकर्णिकार भाइस चान्सलर, महेन्द्र गोपाल कर्माचार्य, सदस्य सचिव तथा वीरप्रसाद भन्सारी कोषाध्यक्ष लगायत दस सदस्यीय प्राज्ञहरुमा प्रा प्रेम शान्ति तुलाधर, शशीकला मानन्धर, राजेन्द्र महर्जन पुता, राजितबहादुर श्रेष्ठ, विद्या चित्रकार र विजयरत्न असंबरे चयन भएका छन् ।
पन्ध्र सदस्यीय कार्यकारिणी समितिमा अन्य पाँच प्राज्ञहरु निर्मल बज्राचार्य, रजनी मिला, शाक्य सुरेन, तुल्सी सायमी र कृष्णभक्त महर्जनलाई मनोनयन गर्ने नवनिवार्चित कार्यकारिणी समितिको पहिलो अनौपचारिक बैठकले निर्णय गरेको छ । बैठकले निवर्तमान चान्सलर यज्ञरत्न धाख्वाःलाई एकेडेमीको संरक्षक पदमा मनोनयन गरेको छ ।
नयाँ कार्यकारिणी समिति चयन हुनुपूर्व सम्पन्न एकेडेमीको २४औं वार्षिक सभा तत्कालिन चान्सलर यज्ञरत्न धाख्वाःको सभापतित्वमा सम्पन्न भएको थियो भने सभामा तत्कालिन भाइस चान्सलर मल्ल के सुन्दरले स्वागत मन्तव्य राख्दै एकेडेमीको कार्य योजनामा प्रकाश पारे ।
वार्षिक सभामा तत्कालिन सदस्य सचिव डा पुष्पराज राजकर्णिकारले वार्षिक र कोषाध्यक्ष वीरप्रसाद भन्सारीले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए ।














