Logo
Logo

मिसनमा गृहमन्त्रीका ड्राइभर


41.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा युएन मिसनमा गृहमन्त्री रमेश लेखकले चरम दबाब दिएका छन् । उनले आफ्नो चालकको रुपमा रहेका व्यक्तिदेखि कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा चालक रहेका व्यक्तिलाई समेत मिसन छनोट गर्न दबाब दिएको रहस्य खुलेको छ ।

मिसन छनोट (दोस्रो संशोधन) निर्देशिका, २०७३ को परिच्छेद ४ दफा ५ को उपदफा ५ (ख) मा कार्यक्षेत्रमा असाधारण, साहसिक वा वीरतापूर्वक कार्य सम्पादन गर्ने र संगठनको छवि र गरिमालाई उच्च राख्ने गरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई संगठनले शान्ति मिसनमा सहभागी गराउने उल्लेख गरेको भए पनि त्यसलाई वेवास्ता गरेर गृहमन्त्री लेखक र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको चालकको रुपमा कार्यरत रहेका व्यक्तिलाई मिसनमा पठाउन छनोट गरिएको छ ।

प्रत्येक मिसन छनोटमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरू छनौटका लागि प्रधान कार्यालयले मातहत मुख्यालय बाहिनीहरू र प्रशिक्षण प्रतिष्ठानलाई कोटा वितरण गरी सशस्त्र प्रहरी कर्मचारीहरूको नाम सिफारिस गरिने भएपछि यसलाई दुरुपयोग गर्दै दबाब र प्रभावमा छनोट गर्न थालिएको छ । मुख्यालय बाहिनीहरूले निष्पक्ष रूपमा आ–आफ्नो मातहतबाट नामावली संकलन गरी संकलित नाममध्येबाट पनि सर्वोत्कृष्ट कार्य सम्पादन गरेको कर्मचारीको नाम प्रधान कार्यालय पठाउने गर्छन ।

तिनै मुख्यालयहरूबाट प्राप्त नामको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले उत्कृष्ट कार्य कोटाअन्तर्गतको नामावली सिफारिस गर्नुमा यसपटक रमेश लेखकको दबाबलाई प्रहरी महानिरीक्षकले थेग्न नसकेको स्रोतको दाबी छ । आगामी बैशाख महिनामा १८० जना सशस्त्र प्रहरी कर्मचारीहरू साउथ सुडान प्रस्थान गर्दै छन् ।

जसमध्ये अहिले ककनीस्थित यूएन तालिम केन्द्रमा १७३ जना तालिम गरिरहेका छन् । स्रोतका अनुसार छनौटमा परेका नामहरूमा आईडी नम्बर ३९८०३ का सशस्त्र प्रहरी हबलदार कैलाशचन्द्र अधिकारी, आईडी नम्बर४२८९० का सहायक हबलदार वसन्त बस्नेत, आईडी नम्बर ५६४२८ का जवान सरिता मुसिख्वाल, आईडी नम्बर २७४४७ का सशस्त्र प्रहरी परिचर पवन गुरुङ, आईडी नम्बर २७६०७ भएका परिचर रामेश्वर दुलाल र आईडी नम्बर २७८६८ भएका परिचर हरिकृष्ण धिताल छन् ।

मानवस्रोत विभाग दरबन्दी भई निवृत्तीभरण शाखामा कार्यरत रामेश्वर दुलाल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एवं मानवस्रोत विभाग प्रमुख वंशीराज दाहालको कोटामा परेका हुन् । सशस्त्र प्रहरी हबल्दार कैलाशचन्द्र अधिकारी गृहमन्त्री रमेश लेखकको घरको सवारी चालक हुन् ।

सहायक हबल्दार वसन्त बस्नेत पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सवारी चालकको रुपमा कार्यरत छन् । उनीहरुलाई गृहमन्त्रालय र गृहमन्त्रीबाटै सिफारिस गरिएपछि आइजीपी अर्यालले बाध्य भएर उत्कृष्टको सूचीमा राखेर मिसन पठाउने गरी तालिममा खटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्