Logo
Logo

माओवादीमा प्रचण्डविरुद्ध जनार्दन दुस्साहस


5.4k
Shares

काठमाडौं । माओवादी पार्टीभित्र युवा विद्यार्थीहरूले नेतृत्व परिवर्तनको दिशा तय गर्नेगरी अग्रसरता लिइरहेका छन् । तीन दशकदेखि पार्टीमा एकछत्र नेतृत्वमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रण्चड’लाई पछिल्लो समय पार्टीका दोस्रो तहका नेताहरूले चुनौती दिन थालेका बेला उनीहरूलाई बल पुग्नेगरी यस्तो अग्रसरता लिएका छन् ।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उपमहासचिव जनार्दन शर्मापक्ष हावी भएको छ । पछिल्लो समय अध्यक्ष प्रचण्डविरुद्ध फरक मत राख्न थालेका नेताहरूले अखिल क्रान्तिकारीको निर्वाचनमार्फत् स्पष्ट रुपमा टक्कर दिएका छन् ।

आफू कमजोर बन्न थालेपछि प्रचण्डले समेत गुटको नेतृत्व गर्न थालेको आरोप लाग्न थालेकै बेला विद्यार्थीहरूको निर्वाचनमा शक्ति बस्नेत प्रचण्डकै पक्ष लिएर अघि सरेका थिए । तर पनि अध्यक्ष बाहेकका अन्य पदहरूमा प्रचण्डभन्दा शर्मा समूहको बहुमत भयो ।

माघ १२ गते भएको अखिल क्रान्तिकारीको नयाँ नेतृत्व छान्ने चुनावमा शर्माले आफूनिकटस्थ विद्यार्थीहरूको प्यानलै बनाएका थिए । जुन प्यानलले अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा बर्चस्व कायम गरेको छ । शर्माको समूहले अध्यक्षमा जित्न नसके पनि बहुमत उपाध्यक्ष, महासचिव, बहुमत सचिव र कोषाध्यक्षमा जित हात पारेपछि निकै उत्साही देखिएका छन् ।

अध्यक्षमा भने प्रचण्ड पक्षधर समूहबाट विजयप्रकाश सापकोटा निर्वाचित भएका छन् । शर्मा पक्षका हेमन्त राई झिनो मतान्तरले पराजित हुन पुगे । क्रान्तिकारीको केन्द्रीय समितिमा शर्मा पक्षधर प्यानलकै बहुमत कायम भएको छ । कम उमेरका बहुसंख्यक विद्यार्थी नेता आफ्नो पक्षमा हुनुले जनार्दनको आगामी राजनीतिक यात्रा उकालो लाग्ने संकेत देखाएको उनीनिकट नेताहरूको दाबी छ । नेकपा माओवादी केन्द्रभित्र मुल नेतृत्वको अघिपछि गर्दै राजनीति गर्नेहरूलाई काका समुह भन्न थालिएको छ । तर, यो काका समुह विस्थापन हुनुपर्ने नारालाई माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचनले सार्थक बनाएपछि जनार्दन शर्माले अब पार्टीको हेडक्वार्टर बन्ने घोषण गरेका थिए ।

प्रतिष्ठाकै लडाइको रुपमा रहेको विद्यार्थीको निर्वाचनपछि आएको उनको यो भनाइ विद्यार्थी नेताहरूका लागिभन्दा पार्टीका शीर्ष नेताहरुलाई प्रतिष्ठाको लडाइँ बनेको स्पष्ट संकेत गरेको छ । यसअघि नेतैपिच्छे प्यानल खडा गरेर माओवादी केन्द्र र उसका भ्रातृ संगठनहरूले आन्तरिक निर्वाचन गरेका थिएनन् । र अखिल क्रान्तिकारीको यो निर्वाचनमा नेताहरूले गुटको अभ्यास गरेको स्पष्ट देखियो । शक्ति बस्नेतलाई अघि सारेर अध्यक्ष प्रचण्डले गुटको नेतृत्व गरेका थिए । सोही गुटबाट अध्यक्षमा विजयप्रकास सापकोटा निर्वाचित भए । तर, पदाधिकारीमा भने उपमहासचिव जनार्दन शर्मापक्ष हाबी भयो ।

विगतमा सुसुप्त रुपमा गुट निर्माणमा सक्रिय वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनले पनि अखिल क्रान्तिकारीको निर्वाचनमा आ–आफ्ना उम्मेदवार उठाएर गुटगत अभ्यास गरे । तर उनीहरु खास हाबी हुन सकेनन । जनार्दन शर्मा र वर्षमान पुनले यसअघि पार्टी महासचिव बन्ने चाहना राखे पनि देव गुरुङलाई अघि बढाएपछि दुवै जना प्रचण्डसँग चिढिएका थिए ।

त्यसयता शर्माले खुलेरै एक गुटको नेतृत्व गरिरहँदा पुनले पनि अर्को महाधिवेशनको तयारीस्वरुप र शर्मालाई चुनौती दिन अर्को गुट विस्तार गरेका छन् । देव गुरुङ र उपाध्यक्ष पम्फा भूसाल पनि गुटको अभ्यासमा रहे पनि उहाँहरु भने त्यति खुल्न सकेका छैनन । पार्टीका दोस्रो तथा तेस्रो तहका नेताहरुले पछिल्लो समय प्रचण्डको निरन्तर नेतृत्वको महत्वाकांक्षा, राजनीतिक एजेण्डा तथा अस्थिर चरित्रलगायत विषयमा प्रश्न उठाउन थालेका छन् । प्रचण्डले भने पार्टीमा लोकतान्त्रिक पद्दति अवलम्बन गर्नुको साटो गुटलाई प्रश्रय दिन थालेका छन् ।

माओवादीको तीन दशक लामो राजनीतिक यात्रामा ‘सुप्रिमो’ प्रचण्डको एकछत्र ‘राज’ चल्दै आएकोमा अब नयाँ नेतृत्व खोजेको स्पष्ट संकेत देखिएको हो । ‘प्रचण्ड म्याराथन राज’मा फरक मत राख्दा आफ्नै वैचारिक गुरु मोहन वैद्यदेखि डा. बाबुराम भट्टराईजस्ता प्रखर समकालीन नेता पार्टीभित्र टिक्न नसकेपनि शर्माले अहिले आँट गरिरहेका छन् । वैद्य र ‘डाक्टर’(भट्टराई)हरूले फरक मत राखे पनि प्रचण्डको रौँसम्म हल्लाउन सकेनन्, आफै लाखापाखा लागे । उनीहरू आफूसँग रहेका केही थान नेता कार्यकर्ता बोकेर चोइटिएर गए । सिनियर वैद्य र समकालीन भट्टराई नै ‘पतली गली’बाट निस्किएपछि माओवादी केन्द्र भित्र प्रचण्डलाई हाइसन्चो भएको थियो। पछिल्लो समय माओवादीभित्रै प्रचण्डकै सदाबहार सहयोगी शर्माले निरन्तर चुनौती दिने दुस्साहस गरिरहेका छन् । जनार्दनकै कारण प्रचण्डले विशेष महाधिवेशनको मिति घोषणा नगरेको पनि कतिपयको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्