काठमाडौं । ३३ किलो सुन प्रकरणमा जोडिएका विमल पोद्दार काठमाडौँमा घुमिरहँदा प्रहरी मुकदर्शक बनेको छ । प्रहरीको सूचीमा उनी फरार अभियुक्त हुन् । विचौलिया व्यापारी दीपक मल्होत्राका साझेदार रहेका पोद्दारलाई तिनै मल्होत्राले संरक्षण गरेका हुन् ।

उनी लामो समयदेखि मैतिदेवी, ज्ञानेश्वर आसपासमा साँझपख देखिने गरेका छन् । कहिलेकाही सिल्भरसिटीमा रहेको रेष्टुरेण्टमा पनि देखिने गरेका छन् । ‘स्थानीय वासिन्दाले उनको गतिविधि निगरानी गरेर प्रहरीलाई बेलाबखत सूचना दिने गरेका छन् तर पक्राउ पर्न सकेका छैनन’, एक स्थानीयले दृष्टिसँग भने ।
३३ किलो सुन प्रकरणमा समेत मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा राष्ट्रबैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसुरमा मुद्दा दर्ता भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पेश गरेको रायसहितको प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दायर गरिएको छ । सिआईबीले २०८० को मंसिर ६ मा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो । छानबिनका क्रममा मुलुकको सबैभन्दा ठूलो हुण्डी र क्रिप्टोकरेन्सी कारोबारीको समूह फेला परेको सिआईबीका अधिकृतहरूले बताएका थिए ।
३३ किलो सुन तस्करीमा सरकारले अनुसन्धान गर्दैगर्दा पोद्दार जोडिएका थिए । पोद्दारसँगै व्यापारी दीपक मल्होत्रा पनि उक्त सुन काण्डमा जोडिन सक्ने सम्भावना बढेपछि अनुसन्धान रोकिएको थियो । त्यतिबेला पनि प्रधानमन्त्री केपी ओली नै थिए ।
क्रिप्टोमा ६० दिनसम्म अनुसन्धान गरेर अदालतमा मुद्दा दायर हुँदासम्म रुपेशका भाइ दिपेश श्रेष्ठ पनि प्रतिवादी बनाइएका थिए । उनले अमेरिकामा बसेर क्रिप्टो कारोबारमा सहयोग गर्ने गरेको प्रहरीको भनाइ थियो । व्यवसायी विमल पोद्दारले पनि रुपेशसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीको दाबी छ ।
पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ । उनी विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुन प्रकरणमा पनि छानबिनको दायरामा आएका थिए । यो प्रकरणमा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडालाई पनि प्रतिवादी बनाइएको छ ।
फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ पनि प्रतिवादी छन् । यो मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ बिगो माग गरेको छ ।
नेपालमा अवैधरुपमा सुनको आयात र तस्करीमा संलग्न रहेका भनिएका भारतीय नागरिक पोद्दारलाई विदेशमा अमेरिकी डलर तथा क्रिप्टोकरेन्सीको रकम उपलब्ध गराउन रुपेशले सहयोग गर्ने गरी कारोबार गरेको पाइएको दाबी प्रहरीको छ । यद्यपि, उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन । उनको शेयर स्वामित्व रहेको सिल्भर सिटीमा सञ्चालित रेष्टुरेण्ट पनि अवैध भएको छ ।