Logo
Logo

वीर अस्पतालको क्यान्टिनको ठेक्कामा मन्त्रीकै बदनाम


10.1k
Shares

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स), वीर अस्पतालको चमेनागृह सञ्चालनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल नै मुछिएका छन् । गण्डकी प्रदेश घर भएका एक ब्यक्ति संचालक रहेको गुजेश्वरी नामक फर्मलाई क्यान्टिन संचालनको सम्झौता वीर अस्पतालले गरिसकेको छ ।

क्यान्टिन संचालनका लागि आह्वान गरिएको सूचनामा खाद्य स्वच्छताको प्रमाणपत्र आवश्यक उल्लेख गरिएकोमा उक्त प्रमाणपत्र नै नभएको गुजेश्वरीसँग अस्पतालले सम्झौता गरेको छ । सरकारका कुनै पनि निकायमा ब्यवसाय दर्ता नै नभएको गुजेश्वरी कम्पनी रजिष्टार कार्यालयमा मात्र दर्ता छ । महंगो दररेट पेश गरेको गुजेश्वरीले अनुभवका कागजात पनि कीर्ते पेश गरेको स्रोतको दाबी छ ।

योग्यता नै नपुगेको उक्त कम्पनीलाई क्यान्टिन संचालनको जिम्मा दिनुमा मन्त्री पौडेलको चर्को दबाब नै मुख्य कारण मानिएको छ । गुजेश्वरीले ठेक्का लिएर बीचमा कमिसन खाने र यसअघि क्यान्टिन संचालन गरिरहेको जीएनबी कम्पनीलाई काम गर्न दिनेगरी सेटिङ गरिएको छ ।

लामो समय नवीकरण नै नगरी जीएनबीले क्यान्टिन संचालन गरेको, पछिल्लो समयमा उसको नवीकरण गरिएको थिएन । ठेक्का हत्याउनका लागि जीएनबीका संचालकले मन्त्री पौडेलका निकटस्थलाई आर्थिक प्रलोभन दिएका थिए ।

जीएनबीले बिप्लवका कार्यकर्तालाई परिचालन गरेर प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्र बस्नेतलाई दबाबसमेत दिएका थिए । आफूले हालेको प्रस्ताव महंगो भएकाले असफल भएपछि कुनै पनि हालतमा क्यान्टिन नछाड्ने रणनीति बनाएको जीएनबीले बनाएको छ ।

हाल स्वीकृत गरिएको गुजेश्वरी होटल प्रालिले नक्कली अनुभव पेश गरेको छ । ओम अस्पतालमा काम गरिरहेको भन्ने कागजात उक्त होटलका सञ्चालकले पेश गरे पनि ओम अस्पतालका प्रशासन स्रोतका अनुसार चमेनागृह सञ्चालनका लागि रमाइलो चौतारीका विजय खड्काले सम्झौता गरेका छन् । गुजेश्वरीले ओममा क्यान्टिन चलाएकै छैन ।

हाल रमाइलो चौतारीकै बिल आफूहरुले प्राप्त गरेको हुँदा अर्को सञ्चालक नभएको ओम अस्पतालका कर्मचारीले बताए । गुजेश्वरी होटलले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट कुनै प्रमाण पनि नलिएको बताइन्छ । तथापि त्यही कीर्ते अनुभवको प्रमाण पेश गर्ने गुजेश्वरीलाई बीर अस्पतालको क्यान्टिन सञ्चालनका लागि मन्त्री पौडेलकै दबाबमा क्यान्टिन संचालन गर्न दिइएको छ । गुजेश्वरी होटल प्रालिलाई बोलपत्र स्वीकृति दिँदा नै करोडौं रकमको चलखेल भएको एक प्रतिस्पर्धीले लिखित उजुरी नै हालेका छन् ।

वीर अस्पतालमा चमेनागृह सञ्चालनका लागि सुरुदेखि नै चलखेल भएको हुँदा आफूले उजुरी दिएको तर, कतैपनि सुनुवाई नभएको सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसलका सञ्चालकले बताए । उजुरीमा आर्थिक चलखेलकै कारण मापदण्ड बिपरीतको कम्पनीलाई स्वीकृति दिएकोमा आफूहरु कानूनी उपचारका लागि जान तयार भएको बताएका छन् । उनको भन्दा हाल स्वीकृति दिइएको गुजेश्वरी होटल प्रालिको दररेट उच्च छ ।

वीर अस्पतालमा मासिक भाडा २ लाख ४५ हजार भनिए पनि खानाका अन्य परिकारहरुमा सस्तो दररेटमा उपलब्ध गराउनुपर्ने हुन्छ । तर, कम दररेटको अर्काे प्रतिस्पर्धीलाई नदिएर उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेत, प्रशासनका उपसचिव सीताराम खड्का, लेखाअधिकृत महानराज ओलीलगायतका टीम आर्थिक प्रलोभनमा फस्न पुगेको बताइन्छ ।

चमेनागृह सञ्चालनका लागि उपकुलपति बस्नेतले सिधै डिल गरी दोस्रो नम्बर प्राप्त फर्मलाई उक्त चमेनागृह सञ्चालन गर्न दिइएको छ ।

बिरामी र कुरुवाहरुले खाने अस्पतालका कतिपय चमेनागृह सञ्चालनमा ठूलो रकमको चलखेल हुँदै आएको छ । खासगरी यो प्रचलन सरकारी अस्पतालमा अझ बढी छ । निजी अस्पतालहरु न्यूरो अस्पताल बाँसबारी, बयोधा अस्पताल जस्ता अस्पतालमा भन्दा पनि केही सरकारी अस्पतालको खानाको दररेट बढी छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा खाना गुणस्तरहीन भएको भन्दै पटक–पटक सिल गरिसकिएको छ । तर, पनि प्रशासनका कर्मचारीको अवैध आर्थिक चलखेलका कारण तिनै व्यक्तिहरु हावी हुँदै आएका छन् । २०७१ सालमा कान्ति बाल अस्पतालमा चमेनागृह सञ्चालन गर्दा उक्त होटलले जथाभावी मूल्य लिने गरेको, म्याद नाघेको सामान, लेवल नभएका सामान बिक्री गरेको फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्