काठमाडौं । नेता खुसी पार्न मापदण्डविपरीतका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) गृहमन्त्रीकै निर्देशनमा प्रहरी मुख्यालयले खटाएको छ । यसअघिको पुष्पकमल दाहाल प्रचण्ड सरकारका गृहमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले नेता खुसी पार्न मापदण्डबिपरीत खटाइएका पीएसओ र सवारीचालकहरु फिर्ता गरेका थिए । तर कांग्रेस–एमाले सरकार बनेपछि फेरि त्यस्ता पीएसओ र चालकहरु नेताको घर घरमा खटाइएको छ ।

मापदण्डबिपरीत प्रहरी मुख्यालयबाट खटाइएका पीएसओ र सवारी चालक लिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले केही दिनअघि कर्णाली चिसापानीमा तान्डव देखाएका छन् । मदिराको नसामा गिरीको उदण्डता रोक्न झन्डै नियन्त्रणमै लिनुपर्ने परिस्थिति निम्तिएको थियो ।
सांसद गिरी माघे संक्रान्तिका दिन माघी मनाउने क्रममा दाङको बगलाचुली हुँदै कैलालीको धनगढी पुगेका थिए । माघ २ गते धनगढीबाट फर्कने क्रममा कर्णाली चिसापानीस्थित सिद्धार्थ रिसोर्टमा राति ११ बजेतिर पुगेका थिए ।
मध्यरातमा रिसोर्टमा पुगेका गिरीले कोठा मागे । रिसोर्टका कर्मचारीले कोठा नभएको जवाफ दिए । गिरीले होटलका कर्मचारीलाई तथानाम गालीमात्र गरेनन्, मन्त्री भइसकेको मान्छेलाई कोठा छैन भन्दै रिसोर्टका कर्मचारीलाई हातपात गर्न थाले । उनको सुरक्षाका लागि खटिएका नेपाल प्रहरीका असई शेरबहादुर अधिकारीले गिरीलाई सम्झाएर हातपात गर्नबाट रोक्न खोज्दा उल्टै उनलाई नै ‘मेरो सुरक्षागार्ड भएर मलाई नै रोक्ने’ भन्दै लात्ती मुड्की प्रहार गर्न थाले ।
मदिराको नसामा गिरीले जथाभावी आक्रमण गर्नथालेपछि उनलाई रोक्नका लागि असई अधिकारीले कैलालीका एसपी पदमबहादुर बिष्टलाई फोन गरी प्रहरी पठाइदिन अनुरोध गरे । एसपी बिष्ट हुँदै गिरीको हर्कतका बारेमा सुदूरपश्चिम प्रदेशका डीआईजी गणेश चन्दलाई समेत जाहेर भइसकेको थियो ।
त्यसैबीचमा एसपी बिष्टदेखि डीआईजी चन्दसम्म जाहेर भएको थाहा पाएपछि गिरीले रिसोर्टका कर्मचारीसँग दुई हात जोडेर माफी माग्दै हल्ला नगरिदिन अनुनय बिनय गरेका थिए । मन्त्रीका पीएसओ अधिकारीले आफूमाथि गिरीले आक्रमण गरेकाले उनको सुरक्षा गर्न नसक्ने जानकारी एसपी बिष्टलाई गराएका थिए । तर एसपी बिष्टले उनलाई राति छाडेर नहिंड्न, भोलिपल्ट जान आदेश दिए । असई अधिकारी गिरीलाई छाडेर नेपालगंज हुँदै काठमाडौंमा प्रहरी प्रधान कार्यालय आए । र, गिरीले आफूलाई लात्ती प्रहार गर्नेदेखि मनपरी गाली गरेको भन्दै उनको पीएसओमा जान नसक्ने जनाउ दिइसकेका छन् ।
अधिकारी पीएसओ बस्न नमानेपछि प्रहरी प्रधान कार्यालयले धेरै असईलाई गिरीकोमा पठाउन खोजे पनि उनको हर्कतका कारण कोही पनि मानेनन् । पीएसओको सान देखाउनुपर्ने गिरीले गृहमन्त्री लेखकलाई तुरुन्त अर्को असई खटाउन तारन्तार ताकेता गरेपछि केही दिनका लागि एक प्रहरीलाई खटाइसकिएको छ ।
पूर्वमन्त्री गिरीले पदकै गरिमा विपरीतका हर्कत पटक पटक देखाउँदैआएकाले उनको सुरक्षामा खटिएका प्रहरी हैरान हुने गरेका छन् । पूर्वगृहमन्त्रीले मात्र पदमुक्त भएको २ बर्षसम्म मात्र सुरक्षाकर्मी पाउँछन् । तर गिरी ८ बर्षअघि २०७३ मा सिंचाइमन्त्री भएका थिए । तर उनले पीएसओमात्र होइन, सवारीचालक समेत प्रहरीबाटै लिएर दुरुपयोग गर्दै आएका छन् । सवारी चालक पनि कानुनबिपरीत उनलाई प्रहरी मुख्यालयले उपलब्ध गराउँदै आएको छ ।
उनको निर्वाचन क्षेत्र अन्तर्गत घरमै काम गर्ने २ महिलामाथि गरेको दुब्र्यवहारको काण्डमा भन्डै उनी झमेलामा परिसकेका थिए । तर ठूलै कसरतमा उक्त केस मिलाएका गिरीले कर्णाली चिसापानीको सिद्धार्थ रिसोर्टमा देखाएको हर्कतले मन्त्री र सांसद पदकै छविमा दाग लगाउने काम गरेका छन् ।
यसअघि सशस्त्र प्रहरी बलका पूर्वआईजीपी शैलेन्द्र खनालले नेतादेखि बिचौलियासम्मलाई पीएसओ र चालकलाई दिएको बिषय विवादमा परेको थियो । तत्कालीन कांग्रेस सांसद अमरेशकुमार सिंह, बिचौलिया नरेश भट्ट, म्यानपावरकी संचालक अम्बिका शर्मा, अर्का बिचौलिया सुवास राईले सशस्त्रबाट पीएसओ र सवारीचालक पाएका थिए ।
त्यसो त रामचन्द्र भट्ट नामक बिचौलियालाई यसअघिका प्रहरीका आईजीपी धिरजप्रताप सिंहले सवारीचालक मात्र होइन, गाडी नै उपहार दिएको चर्चा चलेको थियो । त्यसो त अहिले पनि उनलाई एक एआईजीले सवारीचालक नै उपलब्ध गराउँदैआएका छन् ।
प्रस्तुत समाचारमा खण्डन प्राप्त भएकाले प्रकाशन गरिएको छ । –सम्पादक
समाचारको खण्डन गरिएकोबारे
उपरोक्त सम्बन्धमा दृष्टि अनलाइन पत्रिकामा “पूर्वमन्त्रीको धाक लगाउँदै बबाल” भन्ने शिर्षकमा मेरा बारेमा छापिएको समाचार असत्य, तथ्यहीन र भ्रामक भएको जानकारी गराउँछु ।
म पार्टीको कामको सिलसिलामा मेरो गृह जिल्ला दाङ हुँदै छिमेकी जिल्ला बाँकेको नेपालगन्जबाट काठमाडौं आएको हुँ । उक्त समाचारमा भनिए झैँ न मैले मापदण्ड विपरीत पीएसओ र सवारी चालक लिएको छु, न त उक्त दिन मदिरा सेवन गरेको थिएँ, न त पूर्व मन्त्री र बहालवाला सांसदको हैसियतमा मेरो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी माथि दुर्व्यवहार नै गरेको छु । यसबारे सम्बन्धितहरुसँग बुझ्न सकिने अवस्था हुँदाहुँदै पनि त्यसो नगरी सत प्रतिशत कपोकल्पित र मेरो चरित्रहत्या गर्ने गरी समाचार प्रकाशन गर्नु पत्रकारिताको न्यूनतम मूल्य मान्यता विपरीत रहेको मेरो ठहर छ । यसप्रति आपत्ति जनाउँदै उक्त समाचारको खण्डन गर्दछु ।
दीपक गिरी
पूर्वमन्त्री एवं सांसद
नेपाली कांग्रेस संसदीय दल