Logo
Logo

ओलीदेखि बाघ पनि आतंकित !


पूर्णहरि अमात्य

4.5k
Shares

एउटा जिम्मेवार पदमा आसिन व्यक्तिले आवेगमा सार्वजनिक रूपमा अभिव्यक्ति दिँदा त्यसको ‘व्याकफायर’ आफूलाई नै पर्छ भन्ने कुराको ज्ञान हाम्रा नेताहरूले कहिले बुझ्ने होला ? त्यस्तै नेतामा पर्दछन्, प्रधानमन्त्री केपी शर्मा ओली ।

सन्दर्भ, बाघको सङ्ख्या बढी भएकोले यसलाई उपहारको रूपमा बाँड्नुपर्ने हास्यास्पद कुतर्कबाट उनी कुन मनस्थितिमा छन् भन्ने झल्किन्छ । नेपालको राजनीतिक परिदृश्यमा जति विकृति देखापरे पनि बाघ संरक्षणमा नेपालले प्राप्त गरेको सराहनीय कामको विश्व समुदायले उच्च मूल्यांकन गरिरहेको छ । यस्तो अवस्थामा बाघको सङ्ख्यालाई लिएर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले यस क्षेत्रमा कार्यरत संघसंस्थाहरु, राष्ट्रसेवकहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आश्चर्यमा परेका छन् ।

केही दिन पहिले प्रधानमन्त्री ओलीले ‘नेपालमा ३५० भन्दा बढी बाघ छन् । यत्रो सानो देशमा त्यति धेरै बाघ किन चाहियो ? एक सय पचास जति बाघ भए पुग्छ । बाघ पाल्नुपर्छ, तर थोरै । यताउति हिँड्दासमेत बाघले खाला कि भनेर डराएर हिँड्नुपरेको छ । मान्छे खुवाएर बाघ पाल्न सकिँदैन’ प्रधानमन्त्री ओलीबाट यस्तो गैरजिम्मेवार टिप्पणी आउनु दुःखद कुरा हो । यसले अन्तर्राष्ट्रमा हाम्रो छवि धुमिल भएको छ । कुनै विदेशी विज्ञले नेपालका प्रधानमन्त्रीले यस्तो किन बोल्यो भनेर प्रश्न ग¥यो भने के भन्ने ? हाम्रा प्रधानमन्त्री यस्तै हुन्, जे मन लाग्छ त्यही बोल्छन् भन्ने ? त्यसैले बोल्दा पदीय मर्यादाको ख्याल गर्नुपर्छ ।

विश्वमा बाघ संरक्षणको बाबजुद पनि बाघको सङ्ख्या घट्दै गएपछि बाघको प्राकृतिक वासस्थान भएको १३ मुलुकहरूका सरकारले सन् २०१० मा रुसको पिटर्सवर्गमा आउँदो १० वर्षमा दोब्बर सङ्ख्यामा बाघ बढाउने निर्णय गरेका थिए । र, रुसमा भएको सम्ममेलनमा नेपाल पनि बाघ लोप हुँदै गएकाले यसको संरक्षण गर्न सक्रिय भयो । सन् २००९ सम्म नेपालका वनजंगलमा १२९ वटा मात्र बाघ थिए र १० वर्षको दौरानमा २५० को सङ्ख्यामा पु¥याउने नेपाल सरकारको लक्ष्य भए पनि यसको सङ्ख्या ३५५ पुग्नुमा यसको संरक्षणमा घाम, पानी र चिसो नभनी अहोरात्र ज्यानको बाजी लगाएर खट्ने सुरक्षाकर्मी कर्मचारी तथा स्थानीय समुदायको जति प्रशंसा गरे पनि थोरै हुन्छ ।

हामीले गम्भीर भएर सोच्ने हो भने पर्यावरण (इकोस्टिम)चक्रलाई स्वस्थ राख्न बाघको संरक्षण आवश्यक हुन्छ । किनकि, जुन वनजंगलमा बाघको वासस्थान हुन्छ, त्यहाँ पर्यावरण स्वस्थ हुन्छ भन्ने सम्बन्धित वैज्ञानिकहरु बताउँछन् । बाघ एउटा मांसहारी जीव हो र यसको आहारा भनेको वनजंगलमा पाइने हरिण, मृग, चित्तल र बँदेल हो । बाघको आहाराको रूपमा रहेको हरिण, मृग, चित्तललाई कलिलो दुबो मन पर्छ जुन एउटा राम्रो घाँसेमैदानमा मात्र उपलब्ध हुन्छ र त्यस्ता ठाउँ हुनका लागि भूमिगत पानीका साथै वरिपरि प्राकृतिक रूपमा खोलानाला, सिमसार, पोखरी आवश्यक पर्छ । प्रकृतिले एकअर्काप्रतिको अन्तरसम्बन्धले पर्यावरण चक्रमा सन्तुलन कायम गर्न बाघको संरक्षण गर्न सरकारमात्र होइन, अन्तर्राष्ट्रिय संस्थाको साथै विश्व बैंकसमेत सक्रिय हुनुले यसको महत्व कति रहेछ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।

बाघ प्राकृतिक सन्तुलन स्थिर राख्न मात्र होइन, नेपालमा पर्यटन व्यवसाय चलायमान बनाउन पनि बाघ संरक्षण गर्नु हाम्रो दायित्वभित्र पर्छ । नेपालका पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा जस्ता राष्ट्रिय निकुञ्जहरूमा प्रकृतिमा विचरण गरिरहेको बाघको अवलोकन गर्न ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक पुग्छन् । केही दशक अघिसम्म चितवनको सौराहामा बाघ हेर्नकै लागि पर्यटकहरू नेपाल आउँथे । नेपालका राष्ट्रिय निकुञ्जहरूमा विशेष गरेर दशैँ र तिहारको लामो बिदाको साथै अन्य सार्वजनिक बिदाहरुमा स्वदेशी पर्यटक तथा अक्टोबर, नोभेम्बरको महिनामा तेस्रो मुलुकका तथा गृष्म याममा भारतीय पर्यटकको घुइँचो लाग्छ । त्यसमध्ये गैँडा र बाघ पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन पर्यटनको महत्त्वपूर्ण भूमिकाबारे समान दृष्टिकोण हुनु एउटा सुखद पक्ष हो । चितवन र बर्दियाजस्ता वन्यजन्तु अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकमाझ अत्यन्त लोकप्रिय गन्तव्यहरूमा स–साना लज तथा रेष्टुराँहरुमात्र होइन, मुलुककै पहिलो पाँचतारे होटेल सोल्टीले समेत चितवनमा होटेल सञ्चालन गरेकोबाट त्यहाँ गुणस्तरीय पर्यटक भित्रिएको स्पष्ट हुन्छ ।

पर्यटन एक बहुआयामिक गतिविधि हो र यसको बहुपक्षीय प्रभाव हुन्छ । पर्यटनको गतिविधि बढ्दा स्थानीय कृषिजन्य उत्पादनहरूको विक्री वितरण, रोजगारी सृजनाका साथै स्थानीय सरकारका साथै संघीय सरकारको राजस्वमा राम्रो योगदान पु¥याइरहेको छ ।

पर्यटन गतिविधिले गर्दा नै ट्राभल एजेन्सी, एयरलाइन्स, टूर गाइड, होटेल, रिसोर्ट, रेष्टुराँ, पव, ट्याक्सी र सोभिनियर सपहरुले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेलिरहेको छ । निकुञ्ज वरिपरि बस्ने स्थानीय जनता कृषिमा मात्र भर पर्नुपरेको छैन, र त्यस क्षेत्रमा पर्यटक आगमनले गर्दा हजारौँको सङ्ख्यामा रोजगारी सृजना गरेको छ । त्यसैगरी आनुवंशिक (जेनेटिक) विविधता, तथा जैविक विविधता कायम गर्न महत्त्वपूर्ण भूमिका हुन्छ ।

वनजंगलको राम्रो संरक्षणले गर्दा बाघको सङ्ख्या बढ्नाले वन्यजन्तु तथा मानवबीच द्वन्द्वको सृजना भएको कुरा यथार्थ हो । बाघ आफैँमा एउटा ह्रिसंक जीव होइन । बाघ भन्नासाथ हाम्रो मनमा त्रासको भावना आउँछ, तर त्यो वास्तविकता होइन । म्यानइटरबाहेक कुनै पनि बाघले एक्कासि मानिसलाई आक्रमण गर्दैन । बाघ देख्नासाथ हामी तर्सेर चिच्याउँदा बाघले आफ्नो ज्यानमा खतरा आएको सम्झिन्छ अनि मानिसलाई हमला गर्न पुग्छ ।

निश्चय पनि बाघ मात्र होइन अन्य जन्तुहरूबाट पनि मानवबीच क्षति हुनुहुँदैन । मानवका साथै जीवजन्तुको बाँच्ने संरक्षण गर्दैगर्दा ह्युमन फेसलाई बिलकुलै बिर्सन हुँदैन । बाघका साथै अन्य वन्यजन्तुहरुको प्राकृतिक बासस्थानहरुमा विकासका नाममा अन्धाधुन्द भौतिक निर्माणका कार्यहरू हुँदा तिनीहरू संकटापन्न अवस्थामा पुगेका छन् ।

चितवनको भण्डारा, रामनगर, बाराको पूर्वपश्चिम राजमार्ग, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा राष्ट्रिय राजमार्गको निर्माणले वन्यजन्तुहरुलाई समस्या परेको छ । बाघलगायत अन्य जीवजन्तु आहाराको खोजीका साथै पानी खान खोलानाला तथा तालतलैया पुग्न व्यस्त गाडी गुड्ने राजमार्ग भई ओहोरदोहोर गर्दा किच्चिएर मारिएका छन् । राजमार्गका केही सीमित ठाउँमा अण्डरपास जनावरहरुलाई ओहोरदोहोर गर्न सजिलो होस् भनेर निर्माण गरिएका छन्, जुन पर्याप्त छैन ।

वन्यजन्तु संरक्षण सरकारको दायित्व हो । त्यसबाट विमुख भएर प्रधानमन्त्रीजस्तो व्यक्तिले अन्टसन्ट बोल्दा नेपालीहरू मात्र होइन, विदेशीहरू पनि अचम्म मानेका छन् । बाघको सन्दर्भमा प्रधानमन्त्रीले जुन कुरा बोलेका छन्, त्यसप्रति पश्चात्ताप गर्नुपर्छ । बाघ संरक्षणलाई प्राथमिकतामा राख्नुपर्छ । त्यसबाट मानव जीवन जोगाउने उपायहरू अवलम्बन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्