काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले रोजेर लगेका सचिव हुन् गोपालप्रसाद सिग्देल । मणिराम गेलालको अवकाशपछि सिग्देललाई उनले ऊर्जा मन्त्रालयबाट सहरीमा रोजेरै लगेका थिए । गेलाल सोझा प्रकृतिका सचिव थिए । तर सिग्देल भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक विभागको इन्जीनीयरबाट सचिव भएका खेलाडी मानिन्छन् ।

२०७३ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सडक विभागअन्तर्गतका विभिन्न आयोजनामा करिब १ खर्ब रुपैयाँका ठेक्कामा सेटिङ गरी २० अर्ब भन्दा बढी देशलाई नोक्सान पुर्याउने कार्यमा सिग्देलको भूमिका महत्वपूर्ण रहेको थियो । सिग्देल त्यो समयमा सडक विभागको महानिर्देशक थिए । उनले त्यतिबेला ७ वटा ठेकेदारहरुको सिन्डीकेटलाई ठेक्का दिएर अरबौं भ्रष्टाचार गरेको आरोप लागेको थियो ।
सेटिङमा माहिर सचिव सिग्देललाई मन्त्री सिंहले सहरी विकास मन्त्रालयमा ल्याउनुको कारण कीर्तिपुरमा क्रिकेट रंगशाला, कान्ति बाल अस्पतालको भवन निर्माण, नवलपुर नमूना सदरमुकाम र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल निर्माण जस्ता करिब १ खर्बकै परियोजना निर्माणमा ठेक्का सेटिङ गरी कमिसन लिनकै लागि भएको चर्चा हुँदैआएको छ ।
१ खर्बबराबरका यी चारवटा परियोजनामध्ये क्रिकेट मैदानको टेण्डर भई अन्तिम चरणमा छ । पछिल्ला दिनमा मन्त्रीको स्वकीय सचिवालयमा कार्यरत एक÷दुई व्यक्ति र मन्त्रालयका उच्च कर्मचारी तथा आयोजना प्रमुखरुबीच द्वन्द्व चर्किएको छ ।
मन्त्रीको स्वकीय सचिवालयका युपी लामिछानेले कर्मचारी सरुवादेखि ठेक्कापट्टामा समेत चासो राखेपछि उनलाई मन्त्रालयका उच्चपदस्थ कर्मचारीको बैठकमा प्रवेश निषेध नै गरिएको छ । आजभोलि मन्त्रालयमा छिर्ने बित्तिकै युपीले सधैंजसो कर्मचारीलाई गाली गर्ने गरेका छन् ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सचिवहरुले मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीहरुलाई मन्त्रालयमा नराख्ने हो भने आधा भ्रष्टाचार नियन्त्रण हुने धारणा राखेका थिए ।
सहरी विकास मन्त्रालयमा मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीहरुको हैकमले आयोजना प्रमुखहरु आजित हुनथालेका छन् । बागमती प्रदेश अन्तर्गतको एक आयोजनाका प्रमुखले भने–‘पूर्व सहरी विकास मन्त्री सीता गुरुङको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरु धेरै भलाद्मी थिए । अहिलेका मन्त्रीका सचिवालयका कर्मचारीहरुको त चर्को हस्तक्षेपले काम गर्नै नसकिने अवस्था छ ।’ अहिले ती कर्मचारीको सरुवा हुने स्थिति छ ।
उच्च कर्मचारी तथा आयोजना प्रमुखहरु उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीसँग वाक्कदिक्क भएका छन् ।
साना–साना काममा समेत हस्तक्षेप गर्ने, कर्मचारीको आन्तरिक बैठकभित्रै बसेर ठूला ठूला कुरा गर्र्ने, विभाग र आयोजनामा आफ्ना मान्छे भर्ना गर्न दबाब दिने, डीपीआर दिन सिफारिस गर्ने जस्ता व्यवहारबाट मन्त्रालयका उच्च कर्मचारीहरु दिक्क भएका हुन् ।
खासगरी मन्त्री सिंहका स्वकीय सचिव युपीको यस्तो हर्कतबाट मन्त्रालयका केही आयोजना प्रमुखहरु सरुवा गराई लो–प्रोफाइनलमा बस्ने मनस्थितिमा पुगेका छन् । लामिछानेले काठमाडौं तथा काठमाडौं बाहिर रहेका आयोजना प्रमुखहरुलाई मन्त्रालय नजिकैको सर्भिस सेन्टर (क्यान्टिन) मा बोलाउने र बार्गेनिङ गर्ने गरेको एक आयोजना प्रमुखले बताए । पछिल्लो समय लामिछानेको सिको स्वकीय सचिवालयका अरु कर्मचारीले समेत सुरु गरेका छन् ।
सिग्देलले यसअघि उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको प्रशासनिक नेतृत्व गरेका थिए । उर्जा र भौतिकभन्दा सहरीमा काम गर्न गाह्रो भयो भन्दै सिग्देलले आफूनिकट कर्मचारीसँग भन्ने गरेका छन् । मन्त्रीको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरुले दिक्क बनाएको भन्दै सिग्देलले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुनासो गरेका थिए । उनले भन्ने गरेका छन्, ‘मन्त्रीज्यू त सोझो हुनुहुन्छ । केही गरौं भन्न खोज्नुभएको छ । तर उहाँनिकट मान्छेहरुले काम गर्न दिंदैनन् ।’
मन्त्रीपत्नी, मन्त्रीका नातेदार तथा स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरुले काम गर्न नदिएको उनको आसय थियो– स्रोत भन्छ । पछिल्लो समयमा सिग्देलले लामिछाने र उज्ज्वललाई मन्त्रालयका कर्मचारीहरुको उच्च बैठकमा प्रवेश गर्नसमेत रोक लगाएका छन् । मन्त्रीपत्नी सिर्जना सिंहको सरुवादेखि ठेक्कापट्टा र परामर्शका काममा चर्को हस्तक्षेपले उनी हैरान भएका छन् ।
मन्त्रालयले केही दिनमा केही आयोजनामा नयाँ पदस्थापन र कतिपयमा सरुवा गर्न खोज्दैछ । खासगरी भर्खरै बढुवा भएका ३ सहसचिवलाई नयाँ ठाउँमा पदस्थापन गर्न लागिएको छ । यसमा लामिछानेले आँखा लगाएका छन् ।
सघन सहरी आयोजना काठमाडौंको आयोजना प्रमुखबाट जगदिश लाछिानेलाई हटाउन खोजिएको छ । मन्त्रालयले गरेको संगठन तथाव्यवस्थापन (ओएनएम) मा काठमाडौं आयोजना प्रमुखमा सहसचिवसरहका कर्मचारीलाई राखिएको छ । हाल त्यहाँ उपसचिवसरहका कर्मचारी लामिछाने आयोजना प्रमुख छन् । त्यसैले लामिछानेलाई हटाउन खोजिएको छ । लामिछानको ठाउँमा अर्को व्यक्तिलाई ल्याउन लामिछानेले पहल सुरु गरिसकेका छन्–स्रोत भन्छ ।
यसैगरी मन्त्रालयको आरयुडीपी आयोजनामा आयोजना प्रमुख पनि हाल रिक्त रहेको छ । त्यहाँ ल्याउन पनि नयाँ व्यक्तिको खोजी भइरहेको छ ।