काठमाडौं । सुन तस्करी हुने नाकाबाट इलेक्ट्रिक चुरोट (भेप)को तस्करी भैरहेको छ । भेपको माध्यमबाट सुन तस्करी भएको तीन वर्ष नपुग्दै अहिले तिनै नाकाबाट भेपको तस्करी भैरहेको हो । भेपको आयातलाई केही खुकुलो बनाइएको भएपनि तस्करहरुले अवैध रुपमा ल्याउन थालेका छन् । चीनको बजारबाट नेपालको बाटो हुँदै अवैध भेप भारततर्फ तस्करी गर्नका ल्याउने गरेका छन् ।

पहिला सुन तस्करी हुने नाकाबाटै भेप तस्करी हुन थालेको सुरक्षा अधिकारीले जनाएका पनि सीमा नाकामा खटिने निकायहरुले आँखा चिम्लिरहेका छन् । खासगरी सशस्त्र प्रहरीले मुस्ताङको कोरोला नाकाबाट नाकाबाट भन्सार नतिरी आयात गरेका १९ हजार थान विद्युतीय चुरोट (भेप) बरामद गरेपछि तस्करी हुन थालेको खुलासा भएको हो ।
सशस्त्र प्रहरीकै सहयोगमा राजस्व अनुसन्धान विभागको टोलीले ललितपुरको इमाडोलमा स्टोर गरेर राखेको अवस्थामा उल्लेख्य परिमाणमा भेप बरामद गरिसकेको छ । जसले देशभित्र भेपको अवैध तस्करी भइरहेको देखाएको छ । इमाडोल क्षेत्रबाट राजस्वको टोलीले ५ सय १ कार्टुन अर्थात ८६ हजार पिस भेप बरामद गरेको थियो । राजस्वको टोलीले अहिले भेप चीनबाट नेपाल आएर भारत जान सक्ने अनुमान गरेको छ । सशस्त्र प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले एक साताको अवधिमा अन्य जिल्लाबाट पनि भेप बरामद गरिहेको छ ।
पथलैयामा पनि ४ हजार पिस भेप बरामद भएको थियो । बुटवलमा पनि २ हजार ६ सय ३० पिस भेप बरामद भएको थियो । भेरी ट्रान्सपोर्टको लु प ३००१ ख ०११४ नम्बरको गाडीमा ल्याइएको उक्त परिमाणको भेप बरामद भएको थियो । त्यहाँ डायमन्ड नेपाल इन्टरनेशनलका रोजन न्यौपाने र सनाउल्लाह अन्सारीलाई पक्राउ गरेर अनुसन्धान भैरहेको स्रोतले जनाएको छ । उनीहरूको बयानको आधारमा नै थप भेपहरु भेटिएको हो ।‘अनुसन्धान चलिरहेको छ ।
पछिल्लो समय इमाडोल र मुस्ताङबाट बरामद भएको भेपको सूचना पक्राउ परेका तिनै दुई जनाले दिएका थिए । त्यही सूचनाको आधारमा प्रहरी र राजस्वले थप अवैध रुपमा आएको भेप बरामद गरेको हो । चीनबाट आएको भेप खरिद गर्ने अन्सारीको श्रीमतीको नाममा तसनीय जनरल स्टोरको फर्म रहेको छ । त्यही फर्मले भेप खरिद गरेको देखिएको हो । सस्तोमा खरिद गरेको भेप उनले भारतको अर्को पार्टीलाई बिक्री गर्ने गरेको देखिन्छ ।
प्रहरी र राजस्वले बरामद गरेको अधिकांश भेप नेपालबाट भारत जाने गरेको देखिएको छ । चीनबाट रसुवा र तातोपानी नाका हुँदै काठमाडौं भेप ल्याउने गरिएको छ । बुटवलमा बरामद भेप काठमाडौंबाट डायमन्ड नेपाल इन्टरनेसनल ल्याएको खुलेको हो ।
यसका सञ्चालक सुमन शर्मा फरार रहेका छन् । निकोटिनयुक्त भेप आयात गर्दा प्रति किलो ४० प्रतिशत भन्सार महसुल, ४७५ रुपैयाँ अन्तःशुल्क र मूअकर बुझाउनुपर्ने हुन्छ । तर निकोटिनविहीन भेपको आयातमा भन्सार महसुल ५ र अन्तःशुल्क ३० प्रतिशतसहित मूअकर पनि तिर्नुपर्ने हुन्छ । ८ डलरमा कर तिरेपछि यसको मूल्य करिब दोब्बर हुनपुग्छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र गएको वैशाखमा भेपको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचारप्रसारमा प्रतिबन्ध लगाउन सरकारी निकायहरूलाई पत्रचार गरेको थियो । त्यस्तो प्रतिबन्ध कार्यान्वयनका लागि वाणिज्य मन्त्रालयहुँदै राजपत्रमा सूचना प्रकाशित हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
ललितपुरबाट एउटा गोदामबाट बरामद भएका भेपहरू दुईवटा ट्रकमा तातोपानी नाका हुँदै नेपाल भित्रिएको थियो । सो भेप व्यापारी रमेश शेर्पा र पवनकुमार साहको भएको स्रोतको दावी छ । यद्यपि उनीहरु अहिलेसम्म सम्पर्कमा पुगेका छैनन ।
पवनकुमार साह र रमेश शेर्पाले विगत केही बर्षदेखि चीनबाट नेपालका तातोपानी रसुवा हुँदै भेप तस्करी गरी भारतमा बिक्री गर्दैआएको स्रोतको दावी छ । तातोपानी र रसुवामा भन्सार विभाग र राजस्व अनुसन्धानले अनुगमन बढाएपछि उनीहरुले मुस्ताङको कोरलाबाट भेप तस्करी गर्दैआएको सूचना राजस्व अनुसन्धानले पाएपछि निगरानी बढाएको थियो । निगरानीकै क्रममा ललितपुरको इमाडोलको गोदाममा छापा मारेको ५० करोड बराबरको भेप बरामद गरेको थियो ।
उनीहरुले चीनबाट भेप नेपाल ल्याई भारतमा तस्करी गर्ने गरेको स्रोत बताउँछ । रौतहटको चन्द्रनिगाहपुरबाट नक्कली बाबु बनाई नागरिकता लिएका पवनकुमार साह र रमेश शेर्पाले लामो समयदेखि भेपको तस्करी गर्दैआएका थिए । उनीहरुले अरबौंको भेप चीनबाट ल्याउने र भारत लैजाने गरेको स्रोत बताउँछ ।
प्रहरीदेखि भन्सार सबैतिर सेटिङ गरी उनीहरुले भेपको तस्करी गर्ने र भारतमा लाने गरेका थिए । तर यो पटक राजस्वले सूचना पाएपछि उनीहरुको गोदाममै छापा मार्न सफल भएको थियो । अहिले यी सबै नाकामा राजश्व र सशस्त्रको टोलीले निगरानी बढाएपनि तस्करी रोकिएको छैन ।