काठमाडौं । नेपाल टेलिकममा प्रबन्ध निर्देशक संगीता पहाडीको भ्रष्टाचार बढ्दै गएको छ । सत्ता र शक्ति केन्द्र समेतलाई प्रभावमा पारेर उनले एकपछि अर्को घोटाला मच्चाउने क्रम बढेको हो । टेलिकमको प्रबन्ध निर्देशक नहुँदै उनी संलग्न कतिपय निर्णयहरु अख्तियारको छानविनमा छ ।

यस मामलामा उनीमाथि पटक पटक बयान समेत लिइएको छ । एशिया इन्फोको बिलिङ सम्बन्धी विस्तारको ठेक्कामा अख्तियारले ४२ जनाको बयान लिएको थियो । तर तिनै संगीता पहाडीलाई सरकारले एमडीमा बढुवा गरेको थियो । अहिले उनी टेलिकमको विभिन्न टेन्डरमा आर्थिक चलखेल गर्दै सक्रिय छिन् ।
संगीताले आफ्ना पति विश्वबन्धु पहाडीलाई विचौलिया बनाइरहेकी छिन् । सेनाका कर्णेल पहाडी बिचौलियाको शैलीमा नेताको घरदैलो जाने र विभिन्न गोप्य स्थानहरुमा भेटघाटमा सक्रिय हुँदै आएका छन् । त्यो क्रम अहिले झन् बढेको छ ।
पहाडीलाई भेटेपछि मात्र टेलिकमको ठूला सौदावाजी हुने अवस्था बनेको छ अहिले । पदमा संगीता छिन् तर ठेक्काका कामहरुको रिमोट सबै विश्वबन्धुको हातमा छ । उनले नै सरकारका शक्तिशाली व्यक्तिहरुसँग विभिन्न सूत्रमार्फत् भेटेर ठेक्काको निर्णय गराउँछन् टेलिकमको ।
केही महिनायता एसएमएस र एसएमएस फाइरवालको टेन्डरमा चलखेल स्पष्ट देखिएको छ । मंसिरमा जिन्यु टेक्नोलोजीलाई ठेक्का मिलिसकेकोमा फेरि बालुवाटारको दबाबमा जेटटीईलाई ठेक्का दिइएको छ । यो विषयमा अख्तियारमा पनि गहन छानबिन भइरहेको छ । पहिले एउटालाई दिइसकेको ठेक्कामा दुई महिनापछि अर्कोलाई दिएकोमा कमिशनको खेल छ ।
टेलिकमले बिलिङको पुनः टेन्डर निकालेको छ । अमेरिकी कम्पनीलाई टेन्डर पर्ने निश्चित भएपछि टेन्डर नै खारेज गरी हुबाबेलाई पार्न नयाँ टेन्डर खोल्ने प्रक्रिया बढाइएको हो । टेलिकमको संवेदनशील उपकरण हुवाबे र जेटटीइबाट मात्र किन्न संगीताले आफ्ना पति विश्वबन्धुलाई बिचौलियाका रुपमा दौडाइरहेकी छिन् ।
विश्वबन्धु प्रचण्ड प्रधानमन्त्री हुँदा वर्षमानको साथमा बधाई दिन पुगेको तस्बिर नै सार्वजनिक भएको थियो । उनी पदीय मर्यादा बिर्सिएर भेटघाट र दौडधूपमा लाग्छन् ।
संगीताको गतिविधिले उनी योजनावद्ध तरिकाले हुवाबे र जेटटीइ कम्पनीका लागि काम गरिरहेको तथ्यहरु खुल्दै गएका छन् । ठूला ठेक्का ती कम्पनीलाई मात्र पार्ने योजना अनुसार काम गर्छिन् ।
टेलिकममा विगतमा विकल पौडेल र सुनिल पौडेलको योजनाअनुसार कतिपय ठेक्का अगाडि बढाइएका थिए । विकल जेल गएपछि सुनिल पनि जेल गएका छन् । विकलले कमिशन र घूस मागेको तथ्यहरु फेला परेपछि अर्को तरंग आएको छ । विगतमा उनै सुनिलसँग नजिक रहेर संगीताले ठेक्कासम्बन्धी धेरैजसो निर्णयमा भूमिका खेलेकी थिइन् । ठेक्का दिने प्रक्रिया बढाउने बैठकहरुमा उनको समेत हस्ताक्षरहरु छन् ।