Logo
Logo

किन असफल हुन्छन् आइजिपी ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असार । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली थोरै भाग्यमानी प्रहरी प्रमुखमध्ये हुन् जसले यो पदमा पुग्न धेरै चलखेल गर्नु परेन । इन्सपेक्टरमा वैकल्पिकमा नाम निकालेर पनि उनी प्रहरीको सर्वाेच्च पदसम्म पुग्न सफल भए ।

ज्ञवालीले यति महत्वपूर्ण अवसर पाएपनि उनको कार्यकाल उल्लेखनीय भने हुन सकेन । पूर्व प्रहरी महानिरीक्षकको सूचीमा फोटो झुन्ड्याएर उनी आगामी साता मुख्यालयबाट बिदा हुनेछन् । तर, प्रहरी संगठनमा त्यही फोटो झुन्ड्याउनेबाहेक सम्झने लायक काम उनले छाडेर जान सकेनन् । उनको छोटो कार्यकाल करिब पाँच महिनाको अवधिमा कुनै उपलब्धिमूलक काम हुन सकेन । बरु सरुवा बढुवामा राजनीतिक दबाब थेग्न नसकेको र काबिल अधिकृतमाथि अन्याय गरको आरोप उनीमाथि लाग्यो ।

त्यसो त उनको कार्यकाल लगभग लकडाउनमै बित्यो । त्यसकारण नियमित पुलिसिङबाहेक अन्य काम गर्न सक्ने अवस्था पनि भएन । प्रहरी महानिरीक्षकको मूल्याङकन मुख्यत उनले गर्ने बढुवा र सरुवाबाट हुन्छ । त्यसमा महानिरीक्षक ज्ञवालीको भूमिका कमजोर देखियो । नेताहरुलाई खुशी बनाउने प्रहरी अधिकारीहरु संगठनमा हाबी भए भने व्यावसायिक अधिकृतहरु उनको कार्यकालमा पनि निराश भए ।

संगठनमा इमान्दार छवि बनाएका ज्ञवालीले योग्य प्रहरी अधिकारीका लागि अडान लिने धेरैले अपेक्षा गरेका थिए । तर, त्यसो हुन सकेन । उनले एआईजीदेखि इन्सपेक्टरसम्मको बढुवा गरे । तर, सबै बढुवामा राजनीतिक शक्तिकेन्द्रहरु हाबी भए । सरुवामा पनि त्यस्तै देखियो । प्रहरीका सेवा सुविधामा पनि उनले ठूलो लबिङ हुन सकेन ।

अधुरै निर्मला प्रकरण

ज्ञवालीले निर्मला पन्त प्रकरणलाई टुंगोमा पु¥याउने अपेक्षा धेरैले गरेका थिए । महानिरीक्षक भएलगत्तै उनले यो प्रकरणलाई टुंगाउने भनेर अन्तर्वाता पनि दिए । तर,लगत्तै लकडाउन सुरु भएपछि प्रहरीको प्राथमिकता फेरियो । लकडाउनमै उनले अवकाश पाउने भएका छन् । उनको वाचा पनि अधुरै रह्यो ।

एसएसपी हुँदा उनी सीआइबीमा थिए । सीआइबीबाट उनी सो घटनाको छानबिनमा स्थलगत रुपमा कञ्चनपुर खटिएका पनि थिए । प्रहरीले कहाँ गल्ती ग¥यो र यसलाई कसरी निक्र्याैलमा पु¥याउनुपर्छ भन्ने जानकारी भएकाले यसमा उनले केही बोल्ड डिसिजन गर्ने धेरैको आँकलन थियो । तर, परिस्थितिले उनलाई साथ दिएन । जसकारण सर्वेन्द्र खनालको नेतृत्व क्षमताको अभावले जेलिएको निर्मला प्रकरण अधुरै रहने भयो ।

किन कमजोर हुन्छन् महानिरीक्षक ?

नेपाल प्रहरीमा सबै जसो प्रहरी महानिरीक्षकहरु असफल भएका छन् । पछिल्ला वर्ष महानिरीक्षक झन्–झन् कमजोर हुँदै गएको देखिन्छ ।

रमेशचन्द ठकुरीलाई भ्रष्टाचार मुद्दा लागेपछि आइजिपी भएका रवीन्द्रप्रसाद शाहले अपेक्षाभन्दा राम्रो काम गरे । उनको कार्यकालमा सरुवामा व्यवसायिक प्रहरी अधिकृतहरुले अवसर पाए ।

त्यसपछि महानिरीक्षक भएका कुबेरसिंह रानाबाट धेरै निराश भए । रानाले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लाग्यो । सरुवा बढुवामा निष्पक्ष हुन नसकेको आरोप लाग्यो । रानापछि प्रहरी महानिरीक्षक बने उपेन्द्रकान्त अर्याल । सुरुमा उनले राम्रै काम गरेपनि उनका पछिल्ला निर्णयहरु विवादास्पद रहे । कहिले गृह त कहिले अख्तियारको पेलाईमा उनी परे । प्रकाश अर्यालको कार्यकाल पनि विवादमुक्त हुन सकेन । सर्वेन्द्र खनालमाथि पनि अनियमितता र चरम गुटबन्दीको आरोप लाग्यो । ज्ञवाली पनि सफल महानिरीक्षकमा पर्न सकेनन् ।

यसरी महानिरीक्षकहरु कमजोर बन्नुमा आइजिपी नियुक्तिमा हुने चलखेल नै प्रमुख कारण हुन्छ । क्षमताको आधारमा भन्दा आर्थिक चलखेल र राजनीतिक निकटताका आधारमा नियुक्ति हुने भएकाले संगठनमा सत्तापक्ष सधैं हाबी हुन्छ ।

अर्काेतर्फ प्रहरीमा पनि गुटबन्दी हुँदा महानिरीक्षक कमजोर बन्दै गएका छन् । हरेक आइजिपीहरु आफ्ना ब्याचमेटबाटै पीडित हुने गरेका छन् । जसकारण आफु हट्नसक्ने चिन्ताले पनि उनीहरु नेताहरुको सिफारिस अस्वीकार गर्न सक्दैनन् । आफ्नो पद जोगाउने नाममा प्रहरी महानिरीक्षकहरुले संगठनमाथि अन्याय गर्दै आएका छन् ।

अब नयाँ प्रहरी महानिरीक्षकको नियुक्त भए पनि संगठनको अवस्था भने उस्तै हुने प्रहरी अधिकारीहरु बताउँछन् । आफ्नो प्रतिस्पर्धीलाई समेत विश्वासमा लिएर व्यक्तिगत स्वार्थ त्यागेर नेतृत्वलाई साथमा लिएर महानिरीक्षक अघि बढ्न सके मात्र सफल हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

लकडाउनमा पनि रोकिएन प्रहरीमा भ्रष्टाचार

लकडाउनको समयमा पनि प्रहरीभित्र बेथिती बढ्दै गएको छ । पछिल्लो साता मात्र तीन जना इन्सपेक्टर पक्राउ परेका छन् । दुई जना भने प्रहरीकै आन्तरिक संयन्त्रको फन्दामा परेका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुमा कार्यरत इन्सपेक्टर रुद्र शाही लागूऔषध कारोबारको आरोपमा पक्राउ परे । लागूऔषध नियन्त्रण ब्यूरोले उनलाई पक्राउ ग¥यो । उनी लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न देखिएका छन् । उनी आफैं पनि दुव्र्यसनी भएको खुलेको छ । लकडाउनको समयमा तराईमा गएर उनी आफैं लागूऔषध लिएर आउने गर्दथे । इन्सपेक्टर जस्तो पदमा रहेको व्यक्ति आफैं लागूऔषध ओसारपसारमा संलग्न भएको घटनाले प्रहरीको बर्दीमा दाग लाग्यो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्सपेक्टर प्रकाशसिंह कार्की ५० हजार रुपैयाँ घुससहित पक्राउ परे । मुद्दा मिलाइदिने भन्दै वकिल हिमालय बिक्रम बिष्टमार्फत घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसनन आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

६ असारमा इलाका प्रहरी कार्यालय भिमफेदीका इन्चार्ज रहेका इन्सपेक्टर रामबालक राय घुससहित पक्राउ परेका थिए । प्रदेश प्रहरी कार्यालयको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । स्थानीय व्यापारी दुर्गा लामासँग उनले १२ हजार रुपैयाँ घुस लिएका थिए ।

त्यस्तै काठमाडौंका दुई प्रहरी हुन्डी व्यापारीलाई लुटेको आरोपमा पक्राउ परेका छन् । हवल्दार धिरेन बिष्ट र बिक्रम चन्दले न्यूरोडका एक व्यापारीसँग १० लाख लिएको खुलेपछि उनीहरु पक्राउ परेका हुन् । उनीहरु विगतमा घुमुवा प्रहरीका रुपमा कार्यरत थिए । उनीहरुलाई काठमाडौं परिसरले चोरी मुद्दामा कारबाही गरेको छ । अन्य घुुमुवाहरुलाई कारबाही स्वरुप हटाइएको छ ।

प्रदेश नम्बर २ का केही घुस्याहा प्रहरीहरु पनि हालै निलम्बनमा परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरले असईद्वय ललित शाह र संजिव कुमार झा तथा जवान दिनेश हजारालाई निलम्बन गरेको हो ।

प्रहरी चौकी औराहा रौतहटका कार्यरत असई ललित शाहले हुन्डी कारोबारमा संलग्नलाई सहयोग गरी आर्थिक लाभ लिएको तथा संजीव कुमार झाले पटक पटक चेतावनी दिदां पनि आचरण सुधार नगरेको प्रहरीले जनाएको छ ।

यसरी बारम्बार प्रहरी अधिकारीहरु अनियमिततमा संलग्न हुँदा प्रहरीको छवी बिग्रदै गएको छ । यसले प्रहरीका हाकिममाथि पनि प्रश्न उठेको छ । प्रहरी प्रधान कार्यालयका एक अधिकारी भने यस्ता घटनाले गल्ती गर्ने कोही जोगिदैनन् भन्ने सन्देश पनि गएको बताउँछन् । ‘प्रहरीले आफ्नै इन्सपेक्टर हत्कडी लगाएको छ, घुस खाने समेत समातिएका छन्,’ ती प्रहरी अधिकारी भन्छन्,‘प्रहरी नेतृत्वले शून्य सहनशीलता अपनाएकाले नै उनीहरु नजोगिएका हुन् ।’

प्रतिक्रिया दिनुहोस्