
यतिबेला सँसारको राजनीति नै तरङ्गित छ डोनाल्ड ट्रम्पका कारण । उनले आफ्नै देशको विकाससम्बन्धी परियोजनाको भण्डाफोर गरिदिए राष्ट्रपति बनेपछि । बयान गरिनसक्नुको भ्रष्टाचार युएसएआइडीमा भइरहेको अभिव्यक्ति दिए ।
संसारकै धनी र शक्तिशाली देशका राष्ट्रप्रमुखले यसो भनिरहनु सामान्य घटना होइन । त्यो पनि विश्वभर विभिन्न परियोजनामा पैसा बाँडिरहेको संस्थाबारे । ट्रम्पले युएसएआडी नै बन्द गर्ने घोषणा गरिसकेका छन् । कानूनी अड्चन राखेर यसलाई रोक्न खोजिएको छ । तर, बोलेको पूरा गरिछाड्ने ट्रम्प पछि हट्ने देखिँदैन ।
ट्रम्पको चरित्र अविश्वसनीय खालको होइन बरु प्रस्ट छ । उनी जे बोल्छन् त्यही गर्छन् । हरेक पाइलामा लडाइँ हुनसक्छ युद्धका लागि तयार भएर जीवनमा चल्नुपर्छ भन्ने धारणा विकास गरेका निडर व्यक्ति हुन् । न्युयोर्कमा ट्रम्प टावर बनाउनु अघिका सारा चुनौतीको अध्ययन गर्ने हो भने पनि उनलाई हरेस नखाने र भनेको गरी छाड्ने स्वभावका मान्न सकिन्छ ।
त्यसैले उनले युएसएआइडीको भ्रष्टाचार छानबिनमा बढिसकेका छन् छताछुल्ल पार्छन् नै । युएसएआइडी बन्द गराउँछु भनेका छन् गराइछाड्छन् । यो घटनाले भने नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा ठूलै तरंग आउँदै छ ।
नेपालको नीतिनिर्माणको तहमा सञ्जाल नै बनाएर हालीमुहाली भएकाहरूको मुखुण्डो उतारिन थालेको छ । उनीहरू देशको स्वार्थका लागि नभई बाह्य स्वार्थबाट निर्देशित हुन्थे भन्ने सामान्य जनताले पनि बुझ्न थालेका छन् । यसले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा दूरगामी असर पार्ने देखिन्छ ।
रास्वपाका पूर्वनेता डा. मुकुल ढकालले युएसएआइडीले खर्च रोक्दा धेरै सांसदको रोटी बन्द हुने लेखेका छन् सामाजिक सञ्जालमा । उनले रास्वपाका बहुचर्चित ४ सांसदको त सचिवालय नै बन्द हुने खुलासा गरे । ढकालले यसो भनिरहँदा संसदमा युएसएआइडीसम्बन्धी विषयमा कुनै पनि सांसद बोल्न तयार छैनन् ।
यसले नेपालको संसदमा युएसएआइडीको गहिरो प्रभाव बुझ्न सकिन्छ । नाम चलेका मिडियाका संस्था र सामाजिक संस्थामा यो घटनाको असर पर्न थालिसकेको छ । कतिपय मिडिया र संस्थाको नाम उल्लेख गरी नास्तिकता फैलाउन रकम लिएको आरोप छ ।
त्यसमध्ये हरिवंश आचार्यबाहेक कोही बोलेका छैनन् । सम्भवतः अमेरिकी सरकारका तर्फबाट युएसएआइडीको रकम दुरुपयोगको तथ्यसहित आउने भयमा छन् धेरै । हुनपनि युएसएआइडीबाट रकम पाउने संस्था र सम्बद्ध व्यक्तिहरूको छटपटी यसअघि कहिले यति थिएन ।
नेपाली समाजले छद्म तरिकाले र छापामार शैलीमा धर्म, संस्कृति, भाषा, परम्परानियोजित स्वार्थ बमोजिम कुनैपनि जल्दोबल्दो विषयमा प्रतिक्रिया दिइहाल्ने ती व्यक्तिहरू अहिले तै चुप मैँ चुप छन् । ट्रम्पको अभिव्यक्तिले नेपालमा युएसएआइडीले दिएको रकममा व्यापक घोटाला भएको बलियो आधार प्रदान गर्दछ ।
युएसएआइडीले नेपालको सामाजिक संस्था र मिडियासम्वद्ध संस्थामा अरबौँ रकम दिएको छर्लङ्ग छ । ती रकममध्ये नेपालमा नास्तिकता फैलाउन पनि दिइएको तथ्यसहित अमेरिकी सांसदले बोलिसकेका छन् ।
नेपालमा कुन कुन संस्था र सम्बद्ध व्यक्तिले यसका लागि पैसा पाए भन्ने खुल्दै गएको छ । त्यसबारे पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा शृंखलावद्ध लेख्दै उनीहरुलाई देशद्रोही, लाज पचेका सम्म भन्न पुगे ।
नेपाली जनताले विश्वास गरेको मिडिया क्षेत्रमा बाह्य लगानी कसरी घुमाउरो बाटोबाट आइरहेको छ र तिनको उद्देश्य नेपालको धर्म, संस्कृति, राष्ट्रियतामाथि प्रहार गर्न केन्द्रित छ भन्ने छर्लङ्ग हुँदै गएको छ । ती रकमहरू नेपालमा समलिङ्गी अधिकार, ट्रान्सजेन्डर गतिविधिमा समेत खर्च भयो । समलिङ्गी पर्यटक भित्राउने गतिविधि चलाइयो विदेशी पैसामा । नेपालको संसदमा समलिङ्गी अभियन्ताहरू योजनाबद्ध तरिकाले पुगे ।
अहिले आएर अमेरिका आफैले संसारमा पुरुष र महिला गरी दुई मात्र लिङ्ग हुने नीतिलाई अवलम्बन गर्न पुग्यो । नेपालमा धर्मान्तरणको धन्दा देखि धर्मनिरपेक्षका लागि अरबौँ खर्च भएको खुलिसकेको छ । त्यसका लागि संसद् देखि राज्यसत्तालाई नै प्रभावित गरियो । तर, ट्रम्प आएपछि त्यही अमेरिकाले इशाईविरोधी गतिविधिमाथिको अनुदान ठप्प पारिदियो ।
वाइडेन राष्ट्रपति हुँदा आफ्नो एजेन्डा संसारभर लागू गराउन सक्ने अर्को संस्था हो ओपन सोसाइटी र जर्ज सोरस । त्यसको सक्रियता नेपालमा पनि रह्यो । धर्मनिरपेक्षताका लागि योजनाबद्ध काम ग¥यो सोरसको संस्थाले । सामाजिक संस्था र मिडियामा पैसाको खोलो बग्यो । ट्रम्प आएपछि सोरस र उनको ओपन सोसाइटी धरापमा परिसकेको छ । सोरसले विश्वभर निर्माण गरेको मिडिया सञ्जाल नै कमजोर भइसकेको छ । यसलाई इलन मस्कको सामाजिक सञ्जालको सफलताले प्रमाणित गरिदियो ।
मस्कको उदयसँगै अमेरिकाले विश्वमा रकम दिँदै आएको विभिन्न मिडियासम्वद्ध संस्थाको अनुदान नै रोकिएको छ । सोरस अब यूरोप केन्द्रित भएर पुनः सक्रिय हुने छाँटकाँट छ । यसको असर नेपाललगायत दक्षिण एशिया र विश्वका विभिन्न देशमा देखिँदै जानेछ ।
युएसएआइडीको भ्रष्टाचारको विषय संसारभर पेचिलो बन्दै गएको छ । हँगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले युएसएआइडीको रकम आफ्नो देशमा कहाँ कहाँ दुरुपयोग भएको हो छानबिन गर्ने घोषणा गरिसके । यस्ता घोषणा धमाधम अन्य देशमा पनि हुनसक्छ ।
युएसएआइडीकै भ्रष्टाचारको छानबिन भइरहेकोमा नेपालमा खर्चिएको रकमको पनि छानबिन हुने भइहाल्यो । गृह मन्त्रालयले परिपत्र नै जारी गरेर एनजीओ आइएनजीओको काम, असर र खर्चबारे अध्ययन गर्न ७७ जिल्लालाई निर्देशन दिइसकेको छ । वास्तवमै यो छानबिन भएर सत्य तथ्य प्रतिवेदन सार्वजनिक भए नेपालमा मण्डी ओढेर घ्यू खानेहरूको असली चरित्र उदांगिनेछ ।
सदाचार, सुशासन, मानवअधिकार जस्ता जे जे शब्दको प्रयोग गरेर सक्रिय भएकाहरू छन् तीमध्ये को कति पानीमा छन् भन्ने छर्लङ्ग हुनेछ । यो धेरै अघि हुनुपथ्र्यो । यदि हुन्थ्यो भने नेपाली जनताले सक्कली र नक्कली बेलैमा छुट्याउन पाउँथे । नेपाल यो हदसम्म बिग्रने थिएन ।
नेपालमा एकातर्फ हिंसामा लगानी गर्ने र अर्कोतर्फ शान्तिमा पनि लगानी गर्ने एउटै शक्ति हुने गरेको छ । ती एउटै शक्तिले नेपालीलाई भुलभुलैयामा पारेका छन् । मलिलो माटो र हिमालको कञ्चन पानी भएको देश एनजीओमार्फते डलरको खेतीमा चुर्लुम्म डुब्यो । दशौं हजार एनजीओ दर्ता भए । कतिपय जिल्ला सदरमुकाममा त घर घरमा एनजीओको कार्यालय नै रह्यो ।
देशलाई दरिद्र, असभ्य, हिंसाग्रस्त, मानव तस्कर जस्ता नकारात्मक पहिचानको देखाएर सुकिलोमुकिलो भई माग्न हिंड्नेहरुको भीड नै लाग्न थाल्यो आइएनजीओ र विदेशसम्म । उनीहरू अनुदान जोहोका लागि देशकै बदनामी गर्न पनि तयार भए ।
नेपालको मुख्य दलहरूमध्ये नेपाली काँग्रेस र नेकपा एमालेको त शक्तिको स्रोत नै एनजीओ बन्न पुग्यो । तिनको भूमिका ठिक थियो भने देशमा यति धेरै बेरोजगारी, भ्रष्टाचार, अन्याय र अत्याचार किन बढ्यो ? बरु त्यस्तै संस्थाभित्र भ्रष्टाचार व्याप्त रहेछ भन्ने घटनाक्रमले पुष्टि गर्दै लगेको छ ।
देशको दुरदराजमा पुगेर विकास, प्रगति, जागरणको काम गर्नुपर्ने संस्थाहरू धर्म संस्कृतिमाथि आक्रमण गर्ने र जातजाति लडाउने विष छर्न लागेका रहेछन् भन्ने देखिइसकेको छ । अहिले समाजमा यति अराजकता बढिसकेका छ ससाना विषयमा पनि जातजाति र समुदायबीच मारकाटको खतरा छ । सुरक्षा निकायले नै देशमा जातीय द्वन्द्वको खतरा देखिसकेका छन् । यी सबैमा बाह्य मुलुकबाट विभिन्न मार्गबाट आउने रकम पनि कारण बनेको छ ।
विदेशी स्वार्थमा आएका कतिपय अनुदानहरू नेपालमा कति खतरनाक बन्दै गएका छन् भन्ने पछिल्लो २० वर्षको घटनाक्रमलाई अध्ययन गर्दा बुझ्न सकिन्छ । नेपालमा धर्मनिरपेक्षताका लागि ठूलो धनराशि आएपछि त्यही अनुसारको सामाग्री मिडियादेखि तारे होटेलको सेमिनारमा बढ्न थाल्यो । ती सबै योजनाबद्ध थिए । दलहरूमा त्यही विचारलाई स्वार्थी समूहले सफल बनाउने सफलता हासिल ग¥यो । त्यसपछि सुरु भयो गुठी प्रथा मास्न । जसलाई काठमाडौंको नेवार समुदायले असफल बनाइदिए ।
देवनागरी लिपिलाई समाप्त पार्ने योजना अनुसार काम भए । त्यसको परिणामस्वरुप इम्बोस्ड नम्बर प्लेटमा लिपि नै हटाइयो । अदालतलाई समेत प्रभावित पारियो चोलेन्द्र शमशेर मार्फत् । अहिले विक्रम संवत् हटाउने डिजाइनमा काम थालेको छ त्यस्तै समूहले । यसमा पनि स्वार्थी समूहले ठूलो धनराशि भित्राइसकेका छन् नेपालमा ।
युएसएआइडीको भ्रष्टाचारको मामलाले भने त्यस्ता समूहलाई प्रतिरक्षामा उत्रन बाध्य पारिदिएको छ । समाजले त्यस्ता समूहलाई चिन्दै गएको छ तर चिनेर मात्र पुग्दैन देशको दूरगामी हितका लागि त्यस्ता पात्रहरू दण्डका भागिदार हुनुपर्छ । कुनैपनि आवरणमा या कुनैपनि शक्तिको संरक्षणमा हुने देश र जनविरोधी गतिविधि क्षम्य हुनुहुँदैन ।