
काठमाडौं । काठमाडौस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको नेपाल–पाकिस्तामैत्री टी २० क्रिकेट प्रतियोगिताको उपाधि हिमालयन क्रिकेट एकेडेमीले जितेको छ ।
आइतबार सम्पन्न प्रतियोगितामा एन्जल्स स्पोट्र्स एकेडेमीले उपविजेता भयो । माघ १६ गतेदेखि सुरु भएको प्रतियोगीतामा १२ क्लबस्तरीय क्रिकेट टोली सहभागी थिए ।
विजेता र उपविजेता टिमलाई आइतबार आयोजित विशेष समारोहमा ट्रफी र पुरस्कार प्रदान गरिएको पाकिस्तानी दूतावासले जनाएको छ । कार्यक्रममा सहभागी विशेष अतिथिहरुले उत्कृष्ट खेलाडी र अफिसियलहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
विशेष अतिथिको रुपमा नेपालका लागि चीनका राजदूत छन सोङ, इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलेग्बालीलगायत उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राजदूत अब्रार एच हास्मिीले यस्ता प्रतियोगिताले दुई मुलुकका युवाहरुलाई एकताबद्ध र भाइचारा सम्बन्ध कायम राख्न सहयोग पुग्ने धारणा राखेको जारी विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिता सञ्चालनमा हिमालयन बैंक र ग्लोबल आईएमई बैंकको सहयोग थियो ।