काठमाडौं । मधेश प्रदेशको प्रहरी प्रमुख भएदेखि नै सादा पोशाकमा काजमा खटाइएका घुमुवा हटाउने अभियान सुरु गरेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सेवावधि १ महिनामात्र बाँकी छ ।

आइजीपी भएपछि पनि मधेश प्रदेशका जिल्लामा काजमा घुमुवा राख्न रोकेका आइजीपी कुँवरको अवकाशको मिति नजिकिएसँगै बागमती प्रदेशका डिआइजी कृष्णहरि शर्माले नाका नाकामा घुमुवा तैनाथ गरी असुली गरेको आरोप छ । चितवनको लोथर, मकवानपुरको भैैंसे, चौकीटोल हुँदै रातमाटे चेकपोष्टबाट प्रहरीकै सेटिङमा गाँजा भारततर्फत् जाने गरेको छ ।
मधेश प्रदेशबाट मकवानपुरको ठिंगन हुँदै नक्कली बिलबिजक देखाएर चिनीदेखि कपडा तस्करीका माध्यमबाट काठमाडौंमा गइरहेको छ । तस्करीको लाइन चलाउन डिआइजी शर्माले नै लोथर र रातमाटेमा काजमा इन्चार्जदेखि सिपाहीसम्म ल्याएर राखेका छन् ।
रातमाटे चेकपोष्टमा अन्यत्रै दरबन्दी भएका हवल्दार विनय चौधरीलाई राखेर खुलेआम गाँजा तस्करी हुँदैआएको छ । चितवन रमकवानपुरका गाउँ गाउँबाट रातमाटे हुँदै दैनिक टनका टन गाँजा भारततर्फ जाने गरेको छ । नेपालबाट गएको गाँजा भारतमा पटक पटक बरामद हुँदैआएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट गएको माघ १८ गते सरुवा भएका असई राजेशप्रसाद साहलाई डिआइजी शर्माले नै रमाना नदिन दबाब दिएको स्रोत बताउँछ । साहको प्रहरी चौकी चिती लमजुङ सरुवा भएको छ । तर डिआइजी शर्माकै दबाबमा मकवानपुरका एसपी विश्वराज खड्काले उनलाई रमाना दिएका छैनन् ।
उल्टै डिआइजी शर्माले असई साहलाई सुरुमा बसपार्क, त्यसपछि भैंसे र त्यहाँ पनि नभए हेटौंडाको चौकी टोल प्रहरी चौकीमा सरुवा गर्न दबाब दिएका थिए । तर एसपी खड्काले साहको छवि राम्रो नभएकाले सरुवा गर्न सकेका छैनन् । डिआइजी शर्माले महोत्तरी दरबन्दी भएका सिपाही अमिता पटेललाई पनि सचिवालयमा राखेका छन् ।
त्यसो त यसअघि ललितपुरमा दरबन्दी भएका सई बृजेशकुमार चौधरी र महोत्तरी दरबन्दी भएका बरिष्ठ सई राजेश यादवलाई रातमाटे चेकपोष्ट र लोथरमा काजमा ल्याएर इन्चार्ज बनाएका थिए । तर धेरै विवाद भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा उनीहरुलाई तानिसकिएको छ ।
२०८२ भदौमा अवकाश हुने डिआइजी शर्मा बागमतीमा सरुवा हुनासाथ कमाउधन्दामा लागेको र काजमा प्रहरी ल्याउँदै असुलीमा लगाएको आरोप छ ।