काठमाडौं । सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) विक्रम हुमागाईंको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वाटर रौतहटको प्रमुखको रूपमा रहेका बेला चौतर्फी गुनासो बढेको बताइएको छ । एसपी हुमागाईंको एक वर्षे कार्यकालमा अबैध सामान बरामद, हुण्डी कारोबारी, अबैध लागुऔषध कारोबार नियन्त्रणमा खासै प्रगति नभएको र उनले अघिल्लो वर्ष बरामद भएको सामानलाई पनि आफ्नो कार्यकालको रिपोर्ट बनाएर पेश गर्दै कार्यकाल सफल भएको देखाउन खोजेको गुनासो सशस्त्र प्रहरी मुख्यालयमा पुगेको छ ।

एसपी हुमागाईंले २०८० फागुन ६ गते जिल्लाको कमाण्ड सम्हालेका थिए । उनको कार्यकालमा खास प्रगति नभएपनि अघिल्लो कार्यकालको समेत जोडेर कुल ५ करोड, ६६ लाख,४१ हजार, ८८४ बराबरको अबैध सामान र सामान ओसार–पसारमा प्रयोग गरिएको २ थान पिकअप, १ थान सफारी, १ थान बोलेरो, १ थान भ्यान, १ थान अटो रिक्सा, १७२ थान मोटरसाइकल र ३३ थान साइकल बरामद भएको थियो । उक्त रकम र सामान आवश्यक कारबाहीको लागि सम्बद्ध निकायमा पठाइएको विवरण पठाएपछि शंका उत्पन्न भएको थियो ।
सोही अवधिमा सशस्त्र प्रहरी इन्टेलीजेन्स व्यूरोले हुण्डी कारोबारीबाट ४९ लाख,१४ हजार ७४० रुपैयाँ, जिल्लाको बिभिन्न स्थानबाट २ थान सेमी अटो पेस्तोल, ४ थान नलकटुवा पेस्तोल, १५ थान गोली विभिन्न स्थानबाट बरामद गरेको विवरणलाई पनि आफ्नो कार्यकालमा भएको प्रगति विवरणमा उल्लेख गरेका छन् ।
उनकै कार्यकालमा भारतीय सीमा क्षेत्र हुँदै आउने–जाने मानिसले नशालु ट्याब्लेट डाइजेपाम २२ सय ७८ ट्याब्लेट, नाइट्राभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु इन्जेक्सन ६०६ एम्पुल, प्रोमेथआजिन नशालु इन्जेक्सन १७९८ एम्पुल, फेनारगन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम नेपाल प्रहरीले बरामद गरेको थियो छ ।
आफू जोगिनका लागि सशस्त्र प्रहरीका एसपी हुमागाईंको सहभागितामा विभिन्न मितिमा जिल्लाको ईशनाथ नगरपालिका–७ घिउरामा सरस्वती पूजाको मूर्ति बिसर्जन, वडा ६ महाबिरी झण्डा, राजापुर कुडिया दाहा मेलामा दुई समुदायबीचको विवाद शान्तिपूर्ण मिलाइएको पनि उपलब्धीमा उल्लेख गरेका छन् । जबकि त्यो मिलाउने काम सशस्त्र प्रहरीको नभई नेपाल प्रहरीको थियो ।
पश्चिमी तथा दक्षिणी सीमासित जोडिएका बंकुल, कचोर्वा, नरकटिया, मठिया, बन्जरहा, औरैया, रामपुर खापलगायतका विभिन्न नाकाहरुमार्फत भारतीय बजारबाट राजस्व छलीका सामानहरु निर्वाध रुपमा नेपाल ल्याउदा पनि उनी मौन बसेका थिए । डिउटीमा सशस्त्र प्रहरी खटिएको भएता पनि उनीहरु केवल तस्करहरुको सुरक्षामा खटिएको जस्तो देखिएका थिए । उनीहरुको आँखै अगाडि तस्करी भइरहेता पनि केही पनि सोधपुछ नगरी निर्बाध आवतजावत गर्न दिइएको थियो । नेपाल र भारतको सिमानाका सशस्त्र प्रहरीकै कारण बदनाम बन्दै गएको थियो । सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएर आउँदा नेपाल प्रहरीले तस्करीको सामान बरामद गर्ने गरेको थियो ।