काठमाडौं । ठूलो हल्लाखल्लाका बीच अघिल्लो सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकालमा २०८० मंसिर १४ गते गठन भएको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले दोषी ठहर गरेका प्रहरीका उच्च अधिकारीलाई यो सरकारले पुरस्कृत गर्दै झन् महत्वपूर्ण जिम्मेवारी दिनेदेखि बढुवा समेत गर्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक सूमा भएको ६० किलो सुन तस्करीपछि आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोग बनेको थियो । विमानस्थलबाट २२ पटक ब्रेकसुमा सुनतस्करी भएको तथ्य खुलेको थियो । आचार्य नेतृत्वको ४ सदस्यीय १ चैत, २०८० मा दिएको ४८५ पृष्ठको प्रतिवेदनमा औंल्याइएका वाल्डो क्यासिनोका मालिक चिनियाँ नागरिक टेरेन्स टीएचसीदेखि जीवन चलाउनेलाई पक्राउ गरेर छाड्ने सीआईबीकी तत्कालीन प्रमुखलाई वर्तमान सरकार आउनासाथ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख बनाएको थियो ।
टेरेन्स टीएचसीलाई पक्राउ गरी उनको मोवाइल जफत गरेर ठूलो रकम लिएर फिर्ता गरेको आरोप लागेका इन्स्पेक्टर सुरेश खत्रीलाई पनि बुढानीलकन्ठ प्रहरी प्रभागको इन्चार्ज बनाइएको छ । इन्स्पेक्टर खत्री सीआईबीका तत्कालीन प्रमुखका पीए थिए ।
ठूलो आर्थिक चलखेलमा चिनियाँ नागरिक टेरेन्सदेखि जीवन चलाउनेलाई पक्राउ गरी भगाएको बिषयमा प्रतिवेदनमा उल्लेखित पात्रहरुलाई एकपछि अर्को महत्वपूर्ण जिम्मेवारी दिइएपछि सुन तस्करीको बारेमा ठूलो रकम खर्च गरी तयार भएको प्रतिवेदन नै अर्थहीन हुन पुगेको छ । यसअघि २०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन र सनम शाक्य हत्याप्रकरणमा गठित इश्वर पौडेल नेतृत्वको आयोगले १६ साउन, २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको ७ सय ७२ पृष्ठ लामो प्रतिवेदनले औंल्याएका तथ्यहरुलाई पनि सरकारले लागू गर्न सकेन ।
प्रतिवेदनमा सुन तस्करी र संगठित अपराधका मिलेमतोसमेत खुलाइएको र शंकास्पद व्यक्तिको फेहरिस्त र तस्करी रोक्न सरकारले चाल्नुपर्ने कदमका बारेमा दिएको सुझाव कार्यान्वयन नै गर्न सकेन ।
सुन तस्करीको छानबिन गर्न आयोग बनाउने तर ती आयोगका प्रतिवेदनले औंल्याएका शंकास्पद ब्यक्तिहरुलाई कारबाही नगर्ने प्रबृत्ति देखिएको छ । जसका कारण सुन तस्करहरुको मनोबल बढ्ने र तस्करी फस्टाइरहेको छ । ब्रेक सुमा राखेर भएको सुन तस्करीमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ ।
चिनियाँहरु पहिला नेपालीमार्फत् सुन तस्करीमा संलग्न रहँदैआएका थिए । तातोपानी र रसुवागढीबाट क्यारिङ गर्नेहरुबा सुन तस्करी गर्ने चिनियाँहरु पछिल्लो समयमा नेपालमै आएर ब्यवसायको आवरणमा सुन तस्करीमा संलग्न रहँदैआएका छन् ।
विगतमा नेपाली कारोबारीमार्फत् अबैध रुपमा सुन क्यारिङ गर्दा लुटपाट भयो भनेर हिनामिना गरेपछि पछिल्लो समय चिनियाँहरु आफैं नेपालबाट तस्करी गर्न थालेका हुन् । ६ बर्षअघि चिनियाँ ब्यापारीको तस्करीको सुन क्यारिङ गर्ने सुमन खत्रीले ४ किलो सुन काठमाडौंमा ल्याइसकेपछि लुटिएको जानकारी दिए । तस्करीको सुन लुटिएको खत्रीको रिपोर्टिङपछि सुन मालिक चिनियाँ ब्यापारीले उनीमाथि नै शंका गरे ।
चिनियाँको दृष्टिमा सुन आफूले लुटेको होइन भन्ने पार्नका लागि खत्रीले तत्कालीन एसएसपी सहकुल थापा मार्फत् सुन लुटेको आरोपमा एक निरीह मजदुर विष्णु खड्कालाई पक्राउ गर्न लगाए । थापाले बौद्ध बृत्तका तत्कालीन डीएसपी रमेशबहादुर सिंहलाई भनेर निर्दोष नागरिक खड्कालाई थुन्न लगाए ।
२०७६ मंसिर ११ देखि महानगरीय प्रहरी बृत्त बौद्धमा खड्कालाई लुट्दै नलुटेको सुन लुटेको भनेर थुनियो । गरिबका छोरा खड्कालाई अनाहकमा थुनिएको बिषयमा समाचार आएपछि एक सातापछि २०७६ मंसिर १७ गते छाडिएको थियो । सुमन खत्रीकै डिजाइनमा सुन लुटिएको भए पनि उनले खड्कालाई थुनाएर तस्करहरुको आँखामा छारो हाल्न खोजेको तथ्य खुलेको थियो ।
उक्त सुनको भागबण्डा बौद्ध बृत्तका डीएसपी रमेशबहादुर सिंह, तत्कालीन एसएसपी थापा र खत्रीले भागशान्ति गरेको चर्चा सिन्धुपाल्चोकका ब्यापारीक जगतमा हुँदैआएको छ । सरकारी कागजात कीर्ते गरेको पुष्टि भएपछि विशेष अदालतले दोषी ठहर गरेपछि सेवाबाट बर्खास्त भएका डीएसपी सिंहले हालसालै बुढानीलकन्ठमा करिब १० करोड पर्ने बंगला बनाएको स्रोतको दाबी छ ।
त्यसो त उनले अदालतमा मुद्दा हाली अन्तरिम आदेशका भरमा क्यासिनो संचालन गर्दैआएका सुरेन्द्र सिंहको रकम मिटरब्याजमा पनि लगाउँदैआएको आरोप छ । चिनियाँको सुन लुटपाटमा संलग्न सुमन खत्री भने विगतमा रक्तचन्दनको कारोबारमा पनि संलग्न थिए । रक्तचन्दन र सुनको धन्दामा मन्दी आएपछि पछिल्ला दिनमा उनी क्रिप्टो करेन्सीको कारोबारमा लागेका छन् ।