
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश दौडाहामा निस्किएका छन् । सरकारबाट बाहिरिएपछि फुर्सदिला बनेका प्रचण्ड देशभर पुगेर जनता, नेता–कार्यकर्ता र समर्थकसँग साक्षात्कार गरिरहेका छन् ।
२०६४ मा जस्तै माओवादीको पक्षमा उभार ल्याउने भन्दै दौडिरहेका प्रचण्डले सोमबार एक महिने तराई–मधेस जागरण अभियानको सुरुवात झापाबाट गरे । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेका प्रचण्डको एक अर्थपूर्ण तस्बिरसमेत सार्वजनिक भएको छ । उनले पार्टीका प्रतिस्पर्धी मानिएका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई दायाँबायाँ राखेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ ।
यस तस्बिरलाई माओवादीको आन्तरिक जीवनमा निकै अर्थपूर्ण मानिएको छ । तथापि, प्रचण्डको चरित्र भने आफ्ना सारथिहरूलाई यसरी मिलाउनेभन्दा पनि विभाजित गर्दै आएको दृष्टान्त छ । पार्टीमा प्रतिस्पर्धीलाई सधैँ भिडाएर आफू शक्तिमा रहँदै आएका प्रचण्डले पार्टीमा प्रभावशाली रहेका दुई प्रतिस्पर्धी उपमहासचिवद्वयलाई दायाँबायाँ राखेर सकारात्मक सन्देश दिन खोजे पनि व्यहारतः निषेधकारी प्रवृत्ति नै अंगिकार गर्दै आएका छन् ।
उपमहासचिव पुन प्रचण्डसँग निकट रहे पनि अर्का उपमहासचिव शर्मा भने केही समययता पार्टीमा प्रचण्डलाई चुनौती दिँदै आएका छन् । शर्मा भने पार्टीमा लोकतान्त्रिक विधिमार्फत नेतृत्व चयन गर्नुपर्ने अडानमा छन् ।
त्यसकै तुषस्वरुप प्रचण्डले शर्मामाथि प्रतिशोध साँधेर पार्टीको कार्यविभाजनमा उपेक्षा गरेका छन् । माओवादीले भर्खरै जारी गरेको सर्कुलरअनुसार नयाँ कार्यविभाजनमा शर्मा पक्षीय नेताहरूलाई भूमिकाविहीन बनाइएको छ ।
करिब १९ महिना सरकारमा रहेर बाहिरिएपछि पार्टीलाई जीवन्त तुल्याएर ६४ मै फर्काउने मोह प्रचण्डमा जागेको छ । उनको त्यही मोहअनुरूप पार्टीको आन्तरिक जीवनमा समेत प्रभाव पार्ने तस्बिर झापाबाट सार्वजनिक गर्न पुगेका छन् ।
यसअघि पनि प्रचण्ड तेस्रो कार्यकाल प्रधानमन्त्री रहँदा नै माओवादीले ‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’ सुरु गरेको थियो । त्यस अभियानले पनि पार्टीको साङ्गठनिक पुनरोत्थानमा खासै प्रभाव नपारेको माओवादी नेताहरूले सार्वजनिक रुपमै स्वीकारेका छन् ।
अहिलेको फेरि यो एक महिने तराई–मधेश जागरण अभियानले पनि साङ्गठनिक जीवनमा उल्लेख्य प्रभाव पार्नेमा आशंका कायमै छ । जनयुद्धको समयमा आधारभूत वर्गको प्रतिनिधित्व गर्दै त्यही विश्वास दिलाएर शक्ति आर्जन गरेको माओवादीले शान्ति प्रक्रियामा आएयता भने धरातलविहीन बन्न पुगेको छ । आफ्नो वर्ग र पक्षधरता गुमाएपछि माओवादीको पहिचान नै नामेट भएको छ ।
माओवादीले आधारभूत तहका श्रमजीवी वर्गको विश्वास गुमायो भने मध्यम वर्ग र पुँजीपतिहरूको विश्वास जित्न सकेन । वर्गविहीन समाजको निर्माण गर्ने भन्दै जनयुद्ध लडेको माओवादी कुनै पनि वर्गका लागि विश्वसनीय दल बन्न सकेन । फलतः निर्वाचनमार्फत निराशाजनक मत परिणाम व्यहोरिरहेको छ ।
यद्यपि, कतिपय माओवादी नेताहरूले गत स्थानीय तह उपनिर्वाचनको मत परिणामले आगामी दिनमा उभार आउने बताइरहेका छन् । उनीहरूले आगामी दिनमा पार्टीको पक्षमा बलियो मत परिणाम आउने संकेत गरेका दाबी गर्ने गर्छन् । तर, सीमित क्षेत्रको मत परिणामले समग्र पार्टीप्रति आकर्षणको प्रतिनिधित्व गर्दैन । त्यसमा जनताको असन्तुष्टि र अपेक्षाले पनि प्रमुख भूमिका खेलेको हुन्छ । र, त्यसैले मत परिणाम निर्धारण गर्ने गर्दछ ।
यो उपनिर्वाचनमा पनि कांग्रेस–एमालेको सरकारका कामबाट व्याप्त असन्तुष्टि र नयाँ भनिएको रास्वपा नेतृत्वमाथि लागेको सहकारी ठगीको आरोपले मतदाताहरूले निराशा र असन्तुष्टिस्वरुप माओवादीको पक्षमा मत हालेका हुन् । त्यसैलाई नै माओवादी नेताहरुले समग्रतामा जनताकै अभिमत ठानेर बस्तुगत यथार्थता नहेरी दम्भ प्रदर्शन गर्दै आत्मरति लिइरहेका छन् ।
आफ्नो निश्चित पहिचान कायम गराउन असमर्थ भएको माओवादीको पक्षमा विगतमा अनेकौँ आश्वासनले प्रभावित भएका जनताहरू सबै रुष्ट छन् । २०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ १२० सिट ल्याएको माओवादी अहिले प्रत्यक्षतर्फ १८ सिटमा सीमित भएको छ ।
सरकारमा रहँदा भुइँतहका जनता बिर्सेर जनाधार गुमाएको माओवादीले सडकमा रहँदा मात्रै आधारभूत वर्गका जनताप्रति सहानुभूति दर्शाउने गर्छ । अहिले फेरि सोही नियति दोहो¥याउँदै प्रचण्ड देश दौडाहामा निस्किएका छन् ।
उनले पार्टीमा मनोमानी तवरले आफूनिकटका नेताहरूलाई कार्यविभाजनमा उचित भूमिका दिने गरेका छन् । तर, इमानदारीपूर्वक जिम्मेवारी बहन गरिरहेकाहरूलाई भूमिकाविहीन बनाउने उनको प्रवृत्तिले माओवादीको आन्तरिक जीवन तहसनहस बनेको छ । पार्टीमा चार दशकदेखि एकछत्र नेतृत्व गर्दै आएका प्रचण्ड आफ्नो विकल्पसमेत दिन तयार छैनन् ।
भावी नेता उत्पादन गर्ने थलोको रूपमा रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा समेत निर्वाचनमार्फत नेतृत्व चयन गर्ने प्रक्रियामा प्रचण्ड अनुदार देखिएका थिए । चौतर्फी दबाब र विद्यार्थी नेताहरूको निर्वाचन गराई छाड्ने अडानले मात्रै उनी पछि हटेका हुन् । तैपनि आफूपक्षीय नेतालाई जिताउन सम्पूर्ण शक्ति नै परिचालन गरेका थिए ।
पार्टीका सहयात्रीलाई दुश्मनवत व्यवहार गरी निषेध गर्ने र अन्ततः पार्टी छाड्न बाध्य पार्ने उनको निषेधकारी रणनीति आजपर्यन्त जारी छ । अहिले पनि पार्टीमा कसैले विधिपद्धतिका विषय उठान गरे त्यसलाई किनाराकृत गरे मात्रै आफू सुरक्षित रहने भ्रममा छन् प्रचण्ड । र, उनी त्यसलाई नै आफ्नो सफलता ठान्छन् ।
उनको यस प्रवृत्तिले माओवादी पूर्ववत अवस्थामा फर्किने कुनै सम्भावना देखिँदैन । पार्टीको आन्तरिक जीवन नै विधि पद्धतिमा ढालेर व्यवस्थित गर्न नसकेका प्रचण्डले जनतामा जाँदा पछिल्लो चरण सरकारमा रहँदा गरिएका केही सकारात्मक कामको प्रचार गरेका छन् ।
सुशासनको पक्षमा प्रचण्ड सरकारले गरेका केही सकारात्मक काम सह्रानीय नै रहे पनि त्यत्ति कामले मात्रै जनता माओवादीप्रति आश्वस्त हुनेमा सन्देह नै छ । किनभने, आम जनतामाथि माओवादीले दिएका राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणका आश्वासन त्यसको तुलनामा कैयौँ गुणा बढी छन् ।
पछिल्लो सरकारको नेतृत्वकलामा भएका केही आंशिक कामसहित जनताले माओवादीको संसदीय राजनीतिको दुई दशकका अवधि पनि नियालिरहेका छन् । आजकाल देश दौडाहामा निस्किएका प्रचण्डले बारम्बार आफूलाई हेर्न र छुन लाखौँ जनता आएको अभिव्यक्ति दिने गर्छन् । तर, उनले विगतमा ती जनतालाई दिइएका आश्वासन पूरा गर्ने मूर्त र ठोस योजना प्रस्तुत गर्न सकेका छैनन् ।
आम जनतालाई दिइएका आश्वासन पूरा गर्ने योजनाविना क्षणिक भिडभाडका आधारमा मात्रै २०६४ को उभार फर्किने भ्रममा प्रचण्ड छन् । पार्टीको साङ्गठनिक जीवन अस्तव्यस्त बनाएर तामझामसहित सुरु गरिएको प्रचण्डको देश दौडाहाले माओवादीलाई पुनर्जीवित तुल्याउन मुस्किल छ । यसको एक मात्र उद्देश्य पार्टीमा अझैँ आफू निर्विकल्प रहँदै जनतामा समेत माओवादीको अस्तित्व आफूमै निहित रहेको देखाउन प्रचण्ड उद्यत छन् ।