Logo
Logo

सहकारी डुबाउने उपसचिव गृहमन्त्रीका पीए


145.1k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले धर्मराज जोशीलाई अध्यागमन बिभागअन्तर्गत सरुवा गरेर निजी सचिवमा ल्याएका बद्री तिवारी पनि सहकारी डुबाउनेमध्येका एक अधिकारी भएको खुलासा भएको छ ।

गृहमन्त्री रेमश लेखक र बद्री तिवारी

उपसचिव तिवारीले निजामती सेवामा प्रवेश गरेको केही बर्षमै नियामक निकायका रुपमा रहेको सहकारी डिभिजन ललितपुरको प्रमुख हुँदा लाखौं घुस खाएर मनपरी सहकारी दर्ता गर्ने र कार्यक्षेत्र बढाएका कारण आज धेरै सहकारी बचतकर्ताको अर्बौँ बचत डुबेको छ ।

निजामती सेवामा प्रवेशपछि सधैं आकर्षक स्थानमा सरुवा हुने भाग्यमानीमा पर्दछन् तिवारी । २०६४–०६५ मा बैदेशिक रोजगार बिभागमा कार्यरत तिवारी त्यसपछि सहकारी डिभिजन कार्यालय ललितपुरको प्रमुखमा सरुवा भएका थिए । ललितपुरको सहकारी डिभिजन प्रमुख भएको समयमा उनले गरेका निर्णयले गर्दा नै धेरै सहकारी अहिले समस्याग्रस्त भएका छन् ।

बचतकर्ताको अर्बौँ बचत हिनामिना गर्ने सहकारीको कार्यक्षेत्र लाखौं घुस खाएर बढाउने अनुमति तिवारीले नै दिएको स्रोतको दाबी छ । जीबी राई र उनका आफन्त संलग्न भएको गोर्खा सहकारी, लालीगुरासँग बहुउद्देश्यीय सहकारी, देउराली सहकारीको कार्यक्षेत्र तिवारी प्रमुख भएको समयमा ५ लाखदेखि ३० लाख घुस खाएर बढाइएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार नियामक निकायको प्रमुख भएर घुसको दररेट तोकी उनले ललितपुरमा हुँदा हचुवाका भरमा कार्यक्षेत्र बढाउन अनुमति दिएका लालीगुराँस सहकारीमा जनताको ६ अर्ब बचत रकम डुबेको छ । देउराली सहकारीमा ७ अर्ब बचत डुबेको छ भने गोरखा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमा ४ अर्र्ब बचतकर्ताले फिर्ता पाउन सकेका छैनन् ।

स्रोतका अनुसार तिवारी पंचशील सहकारी कुमारीपाटीको अहिले पनि सल्लाहकार छन् । त्यहाँ उनको नक्कली नाममा खातासमेत रहेको छ ।

सहकारी डिभिजन कार्यालय ललितपुरका प्रमुख भएर अन्धाधुन्ध अनुमति दिने र कार्यक्षेत्र बढाएर अकुल आर्जन गरेपछि तिवारी तनहुँको एलडीओमा सरुवा भएका थिए । तनहुँको एलडीओपछि गैंडाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भए । दोलखाको सहायक प्रजिअ हुँदै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पीए भएका थिए । देउवाको पीए हुँदै दिल्ली दूताबासमा सरुवा भएका उनी त्यहाँबाट फर्किएपछि गएको कात्तिक ५ गतेदेखि गृहमन्त्री लेखकको निजी सचिव भएका हुन् ।

लामो समयदेखि आफूनिकट रहेका उपसचिव तिवारीलाई मन्त्री लेखकले सचिवालयको जिम्मा दिएका हुन् । यसअघि लेखक मन्त्री हुँदा पनि तिवारी नै उनका निजी सचिव थिए । गृहमन्त्रीका स्वकीय सचिव धर्मराज जोशीको अध्यागमन विभागमा सरुवा गरिएको छ ।

गृहमन्त्रीको लक्ष्यअनुसार काम गर्न नसकेपछि जोशीलाई हटाइएको स्रोत बताउँछ । तिवारीले लेखकका नाममा सहकारीहरुसँग रकम उठाएर कांग्रेसको १३ औं महाधिवेशनमै उनलाई सहयोग गरेकाले पनि सचिवालयमा स्थान पाएको चर्चा हुँदैआएको छ ।

उपसचिव तिवारी लामो सयमदेखि शक्तिकेन्द्रसँग निकट भएर अनेक धन्दामा संलग्न कर्मचारी हुन् । देउवाको समेत सचिवालयमा बसेका उनको आरजु देउवासँग पनि निकटस्थ सम्बन्ध छ । ‘उठाउने र बुझाउने कामको उहाँलाई राम्रो अनुभव छ’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्–‘उनी आएलगत्तै गृहमा उनको तडकभडक देखिएको छ ।’ चलखेलका आधारमा उनले अध्यागमनमा केही अधिकृतहरु खटाइसकेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख तिर्थराज भट्टराई पनि तिवारीका अतिनिकट मानिन्छन् ।

पर्वत घर भएका तिवारी शाखा अधिकृत हुँदा गृहमन्त्री लेखकको गृहजिल्ला कञ्चनपुरमा बसेका थिए । त्यहाँ हुँदा लेखकको स्वार्थअनुसार काम गरेर विश्वास जितेका उनी त्यसयता लेखककै छत्रछायामा अकूत आर्जन गरिसकेका छन् । सहकारी डिभिजन ललितपुरको प्रमुख हुँदादेखि हालसम्म उनले चितवनदेखि काठमाडौंको सामाखुसीसम्म घरघडेरी जोडिसकेका छन् ।

बुद्धनगरमा निर्माण गरेको बंगला उनले अकूत सम्पत्तिमा अख्तियारले छानबिन गर्ने भएपछि हतार हतार बिक्री गरेका थिए । अकूत सम्पत्ति कमाएका उनले पछिल्लो समय ललितपुरको च्यासलमा श्रीमतीको नाममा बिशाल बंगला बनाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्