काठमाडौं । कांग्रेस–एमाले सरकारले सुशासनको नाममा सिन्को भाँच्न नसकेका बेला नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स फेरि संकटमा फसेको छ । आन्तरिक उडानमा प्रयोग हुँदै आएको अन्तिम ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक सेवा पूर्णरूपमा बन्द भएको छ ।

यो घटनाले दुर्गम भेगका नागरिकहरूको हवाई पहुँचमा प्रत्यक्ष असर पुर्याएको छ भने निगमको व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । ‘निजी विमान कम्पनीहरूले व्यापार गर्छन, नेपाल एयरलाइन्सका व्यवस्थापक र सञ्चालकहरू भएका विमान पनि ग्राउण्डेड गराउछन्’, एयरलाइन्सका एक कर्मचारीले भने ।
अहिले पर्यटन मन्त्रालयको जिम्मेवारीमा नेपाली कांग्रेसका नेता बद्री पाण्डे छन् । आर्थिक रुपले समेत संकटमा रहेको एयरलाइन्सलाई उकास्न मन्त्री पाण्डेले अहिलेसम्म कुनै कार्ययोजना बनाउन सकेको छैनन् । एयरलाइन्समा धमिरा परिसकेको आंशका गरिएको छ ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) गम्भीर संकटको घेरामा परे पनि मन्त्री पाण्डे मौन छन् । आन्तरिक उडानका लागि प्रयोग गरिँदै आएका दुई ट्वीनअटरमध्ये उडान भरिरहेको विमानसमेत ग्राउण्डेड भएपछि निगमको आन्तरिक सेवा पूर्णरूपमा ठप्प छ ।
निगमले दुईवटा ट्विनअटर जहाजबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडान गर्दै आएको थियो । आन्तरिक उडान बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नुपरेको छ ।
नेपाल एयरलाइन्सले विगत केही वर्षयता आन्तरिक उडानमा बलियो उपस्थिति देखाउन सकेको छैन । निजी क्षेत्रका एयरलाइन्सहरू आक्रामक रूपमा विस्तार भइरहेका बेला राष्ट्रिय ध्वजावाहक भनेसंकटमा फस्दै गएको छ ।
निगमले ट्वीनअटर विमान ९ एन–एबीयूमा आवश्यक इन्जिनको मर्मतपछि मार्च ४ बाट नियमित उडानमा जाने जानकारी विज्ञप्तीमार्फत गराएको थियो तर अझै उडिहाल्ने अवस्था नभएको त्यहाँका एक कर्मचारीले दृष्टिलाई बताए ।
त्यस्तै त्यसको अर्को साता दोस्रो ट्वीनअटर विमान ९ एन–एबीटीको पनि इन्जिनको मर्मत कार्य सकेर नियमित उडान सञ्चालन गर्ने योजना रहेको निगमको भनाइ छ । निगमले विमान ग्राउण्डेड हुने वित्तिकै ‘प्राविधिक समस्या’ भन्दै पन्छन खोज्ने गरेको छ ।
निजी वायुसेवा कम्पनीहरू एकै समयमा आधा दर्जनभन्दा बढी जहाज सञ्चालन गरिरहेका छन् । राष्ट्रिय ध्वजावाहकलाई मात्रै बारम्बार ग्राउण्डेड समस्यामा पारिएको छ ।











