काठमाडौं । किराना पसल, कस्मेटिक्स पसल र साना रेष्टुरेण्टमा पुगेर तपाईँको बिल मिलेन भन्दै तर्साउने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा राजन पौडेललाई सरुवा गरिएको छ । सरकारले ७८ जना सहसचिवको सरुवा गरेसँगै उनको पनि सरुवा भएको हो ।

फागुन १२ गतेको मन्त्रिपरिषद बैठकले ठूलो संख्यामा सहसचिवहरू सरुवा गर्दा उनीसहित ३ वटा महत्वपूर्ण विभागका महानिर्देशकहरूको सरुवा भएको छ । तर त्यहाँ अहिलेसम्म कसैलाई पठाइएको छैन ।
सरकारले सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेलाई सरुवा गरेको छ । उनको ठाउँमा अहिलेसम्म कसैलाई पठाइएको छैन । घिमिरेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत सरुवा गरिएको छ ।
यस्तै, पशु सेवा विभागका डिजी उमेश दाहालको पनि सरुवा भएको छ । दाहाललाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पठाइएको छ । दाहालको ठाउँमा अर्काे डिजी पठाइएको छैन ।
सरुवा सुचीमा परेका अर्का डिजी राजन पौडेल हुन् । उनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा थिए ।
पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा सरुवा गरिएको छ । हालका डिजी पौडेलको सरुवा भएपनि सो विभागमा नयाँ डिजी पठाइएको छैन । सहकारी ठगी आरोपीहरूको विषय संसद, सरकार, सडक जताततै उठिरहेका बेला उनको सरुवा भएको हो । राम्रो परिणाम दिन नसकेको भन्दै सरकारले सरुवा गरेपछि त्यहाँ कसलाई पठाउने भन्नेमा मन्त्रालय अन्योल रहेको छ ।
सबैभन्दा आकर्षक मानिएको पशु सेवा विभाको डिजीमा सरकार मौन रहेको छ । पशुको औषधि व्यापार गर्ने समूहहरू डिजी लैजान मन्त्रालय धाइरहेका छन् । बडाल थरका एक पशु औषधी व्यवशायीले आफू अनुकुलका डिजी लैजान कांग्रेस नेतृत्वलाई भेटघाट गरिरहेको स्रोतको दावी छ । केही समय अघि रवि लामिछानेको मुद्धामा पनि धरौटी राख्न तम्सेका ती व्यवसायी एमाले नेता केशव बडालका आफन्त पर्छन ।
सरकारले ४ वटा उपमहानगरपालिकामा प्रमुख कार्यकारी अधिकृत पठाएको छ । सरकारले इटहरी उपमहानगरपालिकामा हेमराज भुसाललाई पठाएको छ भने हेटौडा उपमहानगरपालिकामा भरत गौतम प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।
जीतपुरसीमरा उपमहानगरमा शान्तिराज प्रसाईँलाई पठाइएको छ । यहाँ लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयमा लफडा छ । जनकपुरधाम उपमहानगरपालिकामा भने वीरेन्द्रकुमार मिश्रले जिम्मेवारी पाएका छन् ।
सरकारले पठाएका यी ठाउँहरू आकर्षक रहेका छन् । मन्त्री पनि मधेश प्रदेशकै भएकाले आफू अनुकुलका कार्यकारी अधिकृत पठाएको स्रोतको दावी छ ।