काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनैलाग्दा नयाँ गभर्नरको लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू आन्तरिक गृहकार्य लागेका छन् । अधिकारीको कार्यकाल यही चैत २५ गते सकिँदैछ । उनी त्यसअघि नै बिदामा बस्न लागेको स्रोतले दृष्टिलाई जानकारी दियो ।

अधिकारी राष्ट्र बैंकबाट बाहिरने दिन नजिकिँंदै गर्दा नयाँ गभर्नर बन्नका लागि बैंकका सिइओ, राष्ट्र बैकका पूर्वअधिकारीहरू र केही अर्थविदहरूको दौडधुप तीब्र भएको छ । गभर्नरका लागि अहिले एक दर्जन नाम चर्चामा छ ।
कांग्रेस र एमाले दुबै दल आफ्नो तर्फबाट गभर्नर बनाउने तयारीमा छन् । बैक तथा वित्तीय संस्थाका बिचौलियाहरू पनि गभर्नर बनाउन दौडधुप गरिरहेका छन् । आफू निकटलाई गभर्नर बनाउन अहिले व्यवसायी, नेता र स्वार्थ समूहको दौडधुप छ ।
केन्द्रीय बैंकको गभर्नर निकै महत्वपूर्ण पद भएकाले सत्तारुढ दलभित्र समेत यसबारेमा गम्भीर छलफल सुरु भएको छ । एमाले गभर्नर कुनै पनि हालतमा नछोडने अडान लिएको स्रोतले बताएको छ । ‘कांग्रेसलाई धेरै छाडिएको छ, बीमा बोर्डदेखि अन्य क्षेत्र कांग्रेसलाई दिदै आएका छौ’, एमालेका एक नेताले भने ‘धितोपत्र बोर्डमा पनि कांग्रेसकै पहल हो, मान्छे साझा जस्तो देखिए पनि उहाँको पृष्ठभूमि कांग्रेसी हो ।’
कांग्रेसले पनि गभर्नरका लागि भित्रभित्रै लविइङ गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच समेत यसबारेमा छलफल भइसकेको छ । दुवै नेताबिच भएको छलफलमा स्वच्छ छवि भएको, अर्थतन्त्र बुझेको र स्वार्थ समुहबाट नचल्नेलाई गभर्नर बनाउनेमा अनौपचारिक सहमति भएको नेताहरू दाबी गर्छन ।
तर, ओली र देउवालाई समेत चलाउन सक्ने स्वार्थ समूह भने आफू निकटलाई गभर्नर बनाउन लागिरहेको स्रोतको दाबी छ । कांग्रेस सभापति देउवाले त आफूनिकट नेता प्रकाशशरण महतलाई व्यापारीको नाम लिएर गभर्नर नियुक्तिबारे उनैसँग सल्लाह गरेर अघि बढ्न भनेको स्रोतले दावी गरेको छ ।
गभर्नरका लागि बमबहादुर मिश्र, नीलम ढुंगाना, चिन्तामणी शिवाकोटी, प्रकाशकुमार श्रेष्ठ, गुणाकर भट्ट, सुशील भट्ट, ज्ञानेन्द्र ढुंगाना, रामेश्वर खनाल, अशोक शेरचनलगायत दौडमा छन् । एमालेनिकट रहेका व्यवसायीहरू श्रेष्ठलाई गभर्नर बनाउने लाइनमा छन् ।
सरकारले गभर्नर नियुक्तिको लागि अर्थमन्त्रीको संयोजकत्वमा छनोट समिति बनाउने तयारी गरिसकेको छ । जसमा राष्ट्र बैंकका एकपूर्वगभर्नर र एक विज्ञ सदस्य रहनेछन् । त्यसैले सिफारिस गरेको आधारमा ३ जनाको नाम मन्त्रिपरिषद्को बैठकमा पेश हुने र त्यसैमध्येबाट गभर्नर बनाउने ऐनमा उल्लेख छ ।
स्रोतका अनुसार राष्ट्र बैंकको गभर्नरका लागि प्रकाश श्रेष्ठ, ज्ञानेन्द्र ढुंगाना र रामेश्वर खनालमध्ये एक जना बन्ने पक्कापक्की छ । त्यसमध्ये पनि एमालेभित्र महासचिव शंकर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलले श्रेष्ठलाई बोकेका छन् भने खनाललाई प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले बोकेका छन् ।
उता ढुंगानालाई विनोद चौधरीले बोकेर बूढानिलकण्ठ पुगेका छन् । राष्ट्र बैकका पूर्वकर्मचारी ढुंगाना अहिले नविल बैकमा कार्यकारी अधिकृत रहेका छन् । विनोद चौधरीकै बैंकमा कार्यरत रहेका उनलाई बोकेर वूढानिलकण्ठ पुग्नुको उदेश्य अर्कै रहेको छ । नविल बैकसँग नेपाल बंगलादेश बैकको मर्जर हुँदा तथा नाफाको हिसाब किताब पारदर्शी नभएको भन्दै तत्कालीन समयमा नेपाल राष्ट्र बैकले प्रश्न उठाएको थियो । त्यही प्रश्नको निरुपण उनै ढुंगानाले गरेका कारण नबिल बैंकको सिइओ बनाइएको थियो ।
अहिले पनि व्यापारिक घरनाका चौधरी ग्रुपका अध्यक्ष र कांग्रेस सांसद रहेका चौधरीले उनलाई नै बोकेर हिडेपछि व्यवसायिक स्वार्थ रहेको स्पष्ट भएको राष्ट्र बैकका एक कर्मचारीले बताए । ‘ज्ञानेन्द्र ढुंगाना राष्ट्र बैकका हुँदा पनि चौधरी ग्रुपसँग नजिक रहेका थिए, त्यो कुरा नबिल बैकको सिइओ भएपछि पुष्टि भयो, अहिले गभर्नरको आकांक्षी हुनुहुन्छ उहाँलाई गभर्नर बनाएमा मुलुकको वित्तीय अवस्था संकुचन हुने स्पष्ट छ’, राष्ट्र बैकका एक कर्मचारीले दृष्टिसँग भने ।











