काठमाडौं । कुटनीति क्षेत्रमा निकै चर्चामा आउने भू–राजनीतिबारे सशस्त्र प्रहरीले औपचारिक रुपमा ‘डिस्कोर्स’ सञ्चालन गरेको छ । सशस्त्र प्रहरीको उच्चतहका अधिकारीहरूलाई राखेर यो डिस्कोर्स सञ्चालन गरेको हो । आइतबार दिउँसो सानो गौचरणमा रहेको स्टाफ कलेजमा डिआइजी अञ्जनीकुमार पोखरेलले भारत र चीनले मुलुकका के कस्तो प्रभाव पारेका छन् भनेर परराष्ट्रविदलाई बोलाएर छलफल गराएका हुन् ।

सुरक्षा अंगले आफ्नो नीति नियम विपरित गएर यो ढंगको छलफल गराएपछि गृह मन्त्रालयमा हलचल पैदा भएको छ । ‘भारत चीन पढाउने र उनीहरुले गरेको कामको समीक्षा गर्ने निकाय सशस्त्र प्रहरी हो कि परराष्ट्र मन्त्रालय भन्ने विषयमा गम्भीर छलफल हुनुपर्छ’, मन्त्रालयका एक अधिकारीले भने ।
गृह मन्त्रालयका अधिकारीका अनुसार नेपाल प्रहरी होस वा सशस्त्र प्रहरी दुवैले मुलुकको आन्तरिक सुरक्षाको बारेमा छलफल गर्ने हो । विज्ञहरू बोलाएर आफ्नो कोर्स अनुसारको शिक्षा दिनुपर्नेमा सशस्त्र प्रहरीले यस्तो डिस्कोर्सको आयोजना गर्दा त्यसले राष्ट्रिय सुरक्षामा पर्ने असरबारे पनि सोच्नुपर्ने मन्त्रालयका एक अधिकारीले दृष्टिलाई बताए । ‘अब लगाम लगाउने बेला आयो, परराष्ट्रको काम सशस्त्रले गर्ने हो र ?’, ती अधिकारीले भने ।
डिआइजी पोखरेलले सशस्त्र प्रहरी मुख्याललाई पनि थाहा नदिइ यस्तो डिस्कोर्सको आयोजना गरेको बताइएको छ । सशस्त्रले मधुरमण आचार्य र दूर्गाप्रसाद भट्टराईलाई बोलाएर दुई देशको भूराजनीतिले नेपाललाई पारेको असरबारे छलफल गरेको थियो । त्यसमा केही पत्रकारहरूलाई पनि बोलाइएको थियो । निश्चलराज पाण्डेलाई पनि बोलाइएको स्रोतले जनाएको छ ।
अमेरिकी सरकारको अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालको प्रतिनिधिसभाबाट पारित गर्नुभन्दा पहिले र पछि भूराजनीतिको चर्चा ज्यादै भएको थियो । चीनको वान वेल्ट वान रोड (बिआरआई) इनिसिएटिभअन्तर्गतको सहयोग लिँदा पनि भूराजनीतिमा वहस भएको थियो ।
भारत र चीनले नेपालले दाबी गरेको भूभाग लिपुलेककै छेउबाट सडक बनाउन खोज्दा पनि भूराजनीतिले महत्व पाएको थियो । भारतले नाकाबन्दी लगाउँदा हाम्रा मिडियाले हाम्रो देशको भूराजनीति र छिमेकीसँगको सम्बन्ध कस्तो बनाउने भन्ने बारेमा धारणाहरु सार्वजनिक भएको थियो । सुरक्षा अंगले पनि विदेश मामिलामा पढ्ने पढाउने गरेको भएपनि यसरी खुला रुपमा डिस्कोर्स भने गरेको थिएन ।
सशस्त्रले गरेको सो डिस्कोर्समा हिन्दमहासागरमा भइरहेको सैनिक उपस्थिति, साउथ चाइना सीमा चीनको प्रभुत्व विस्तार योजना, भारत र उत्तर कोरिया सामरिक पथको यात्रा तथा संयुक्त राज्य अमेरिकाको सैनिक उपस्थिति, युक्रेनको क्रिमियामाथि रसियाको जबरजस्त कब्जा र रसिया युक्रेन युद्ध, मध्यपूर्व र सिरियाको ‘अनफिनिस वार’ सुडानको विभाजन र शक्ति राष्ट्रको प्राकृतिक स्रोतमाथिको निर्वाध दोहन सबैमा भूराजनीतिको अर्थ र स्वार्थको विषयमा छलफल भएको थियो ।
भूराजनीति भूगोल र राजनीति (जीओ प्लस पलिटिक्स)मा सशस्त्र प्रहरी किन प्रवेश गरेको भन्नेबारेमा कही कसैले जवाफ दिएका छैनन् । त्यसअघि पनि पत्रकार सुधीर शर्मासँग भू राजनीतिबारे छलफल भएको थियो । ‘भूराजनीतिबारे जानकारी राख्नु राम्रो हो, बहस गर्ने र ‘कि नोट’तयार पारेर बाहिर प्रचारबाजी गर्ने जस्ता सस्तो लोकप्रियता हासिल गर्ने कुरा सुरक्षा अंगका लागि राम्रो होइन, भूराजनीतिबारे सेना र नेपाल प्रहरीमा पनि विभिन्न कक्षाहरू सञ्चालन हुन्छन तर बहस गराउदैनन्’, गृह मन्त्रालयका ती अधिकारीले दृष्टिसँग भने ।