काठमाडौं । आगामी साता अर्थात चैत ४ गते नेपाल प्रहरीले नयाँ नेतृत्व अर्थात् ३१औं महानिरीक्षक (आइजी) पाउने दिन हो । संगठनमा नयाँ आइजी आउने भएपछि पुरानालाई बिदाइ र नयाँलाई स्वागतको तयारी भव्य भइरहेको छ । आइजीको सचिवालय र निवास दुवैतिर सहयोगीहरू आउने जाने क्रम चलिरहेको छ । को आइजी हुन्छ भन्ने निश्चित छैन तर संगठन र बाहिर भने एआइजी दीपक थापाकै पल्लाभारी रहेको चर्चा सुरु भैसकेको छ ।

नयाँ आइजीमा दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्ये एकजना हुने निश्चित छ । एकजना मात्रै आइजी हुने भएकाले तीनैजना आफू हुनका लागि दौडधुप गरिरहेका छन् । यद्यपि, उनीहरू एकले अर्कालाई निषेध गर्नेगरी अघि नबढेको स्रोतले दृष्टिलाई बतायो ।
उनीहरु मध्ये एकजना आइजी भएपछि ६ एआइजी पद रिक्त हुनेछ । सो पदका लागि आइजीको लागि भन्दा बढी दौडधुप सुरु भएको छ । अब हुने ६ एआइजीमध्येबाट ३२औं र ३३औं आइजी हुने भएपछि उनीहरूले आफूलाई केन्द्रमा राखेर बढुवाका लागि शक्ति केन्द्रमा लविङ थालेका छन् ।
आगामी चैत ४ गते साँझ हालका आइजी वसन्त कुँवर अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि मन्त्रिपरिषद्को बैठकले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरी कुँवरको बिदाइ गर्ने छ । कुँवरको विदाइसँगै थापा, गिरी र तामाङ मध्ये एकजनाले नक्सालको ‘हट सिट’ कब्जा गर्नेछन् ।
अहिलेसम्मको अवस्था हेर्दा आइजीमा थापा नै अघि देखिन्छन् । अन्य दुईभन्दा थापा एकमहिनाअघि नै एआइजीमा बढुवा भएका थिए भने केहीदिन यता प्रधानमन्त्रीलाई नियमित रुपमा व्रिफिङ गर्ने काम ‘डिफ्याक्टो’आइजीले गर्ने काम पनि उनले गर्दै आएका छन् ।
आइजी कुँवरसँगै एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराईले अवकाश पाउनेछन् । आइजीमा एकजना एआइजीको नियुक्ति हुनासाथ ६ वटा दरवन्दी खाली हुनेछ । जसमा प्रहरीका तीन ब्याचबीच बढुवाको टक्कर छ । सिनियर ब्याचबाट चन्द्र्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा छन् ।
नेपाल प्रहरीको ऐन संसदबाट पास हुन ढिला भएमा यो ब्याचबाट दुई महिनाका लागि आइजी हुने सम्भावनासमेत छ । तर यो विषय सरकारको तजवीजमा भरपर्ने भएकाले उनीहरूको सम्भावना कम रहेको छ ।
प्रहरी महानिरीक्षक कुँवर ब्याचका अधिकृतसँगै इन्सपेक्टर भर्नाको परीक्षामा सहभागी भएकोमा नियुक्ति भने ०५२ साल कात्तिक २७ गते दिइएको थियो । कुँवरपछि नियुक्त हुने ३१औं आइजीको कार्यकाल नथपिएमा १९ भदौमा अवकाश पाउनेछन् । त्यो अवस्थामा मात्र उनीहरू आइजी हुनेछन् ।
२०५४ को चैत १८ गते भर्ना भएको टोलीबाट ३२औं आइजीका लागि मुख्य दाबेदार रहनेछ । जसमा डीआईजी दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी गत वर्ष नै बढुवा भएकाले उनीहरु सिनियर छन् । तर यहाँनिर राष्ट्रिय अनुसन्धानको टोलीबाट आएका सिद्धिविक्रम शाह छिर्ने संभावना बढेको छ । कसलाई हुत्याएर उनी छिर्ने हुन भन्ने एकिन हुन सकेको छैन । यही व्याचबाट ३३औँ आइजी हुने भएकाले एआइजी बढुवाका लागि शक्ति केन्द्रको बल लगाउने गरी कार्की, केसी, अधिकारी र शाह लागिरहेका छन् ।
कार्की अहिले लुम्बिनी प्रदेशमा छन् । अधिकारी कोशी प्रदेशमा छन् भने केसी एकेडेमीमा छन् । यसैगरी शाहले विशेष ब्यूरो सम्हालेका छन् । यतिबेला शाह निकै बलशाली भएकाले उनी एआइजी बढुवामा अघि बढ्ने प्रायः निश्चित जस्तै भएको स्रोतको दाबी छ ।