Logo
Logo

भाबी गभर्नरमा कांग्रेस–एमालेको तछाडमछाड


2.2k
Shares

काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले राज्यको महत्वपूर्ण निकायमा आफ्नो वर्चस्व कायम गर्ने होडबाजीमा छन् । आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका कांग्रेस र एमाले भाबी गभर्नर यतिबेला बनाउन तछाडमछाड गरिरहेका छन् । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ ।

राज्यका महत्वपूर्ण अंगमा हाबी हुने होडबाजीले सरकार नै तलामाथि हुने हो कि भन्ने खबरहरूसमेत बाहिरिन थालेका छन् । गभर्नरका विषयमा बालुवाटार र बूढानीलकण्ठमा दिनहुँ कुराकानी चल्ने गरेको छ । गभर्नरमा कांग्रेसले बढी नै जोड गरेको छ भने एमालेले पनि नछाड्ने अडान लिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते सकिदै छ । सरकारले २०७६ चैत २४ गते अधिकारीलाई पाँच वर्षका लागि गभर्नर नियुक्त गरेको थियो । त्यसबेला पनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्रीसमेत एमालेकै थिए । अधिकारीको कार्यकाल सकिने बेलामा पनि संयोगले ओली नै प्रधानमन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेल एमालेकै उपाध्यक्ष हुन् ।

अधिकारी स्वयं पनि एमालेका होलटाइमर कार्यकर्ता हुन् । गभर्नरको कार्यकाल सकिनु एक महिना अगाडि नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा भए पनि सरकारले नियुक्त गर्न सकेको छैन । अर्थमन्त्री पौडेलको संयोजकत्वमा सिफारिस समिति बने पनि समितिमा अन्य सदस्यहरु थप भएका छैनन् ।

गभर्नर अधिकारी चैत ५ गतेदेखि १५ गतेसम्म १० दिन फोर्स बिदामा बस्दैछन् । बिदा सकेर पुनः फर्किने र आफ्नो कार्यकालको अघिल्लो दिनसम्म कार्यलयमा जाने मनस्थितिमा गभर्नर अधिकारी रहेको उनीनिकट स्रोतको भनाइ छ । चैत २२ गतेसम्म अधिकारी राष्ट्र बैंक जाने र पुनर्नियुक्ति नभएमा २४ गते राष्ट्र बैंकले बिदाइ गर्ने तयारी रहेको बताइएको छ ।

गभर्नर अधिकारी बिदामा रहेको समयमा डेपुटी गभर्नर डा.निलम ढुंगानाले कायममुकायको जिम्मेवारी पाउने छिन् । उनी एमालेनिकट पारिवारिक सदस्य हुन् ।

अधिकारीअघिका केही गभर्नर र अन्य सार्वजनिक नियुक्त पाएका केही संस्थाका प्रमुख कार्यकाल समाप्त हुन एक महिनाअघि बिदा बस्ने गरेका थिए । तर, अधिकारी भने कार्यकाल सकिनुअघिको एक महिने बिदाभन्दा राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बस्न लागेका हुन् ।

गभर्नरको दौडमा ज्ञानेन्द्र ढुंगाना, निलम ढुंगाना, रामेश्वर खनाल, चिन्तामणि देवकोटा, बमबहादुर मिश्र, डा.गुणाकर भट्ट, प्रकाशकुमार श्रेष्ठ, सुशील भट्टलगायत छन् ।

एमालेको भागमा परेमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ पनि गभर्नरका बलियो दावेदार हुन् । उनी हाल राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा (काज सरुवा) भएर कार्यरत छन् । श्रेष्ठले एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए । राष्ट्र बैंकको कार्यकारी निर्देशक भएपछि प्रदेश योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका उनले हालका अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा काजमा अर्थमन्त्रालयको सल्लाहकार भएरसमेत काम गरिसकेका छन् ।

२०५४ साल मंसिर २३ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका श्रेष्ठ ०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । उनले अर्थशास्त्रमा पिएचडी गरेका छन् । राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिका बेला अहिलेका अर्थमन्त्री पौडेल नै अर्थमन्त्री थिए । पौडेलले त्यसबेलै श्रेष्ठलाई डेपुटी गभर्नर बनाउन चाहेका थिए । तर, प्रधानमन्त्री ओलीको हस्तक्षेपका कारण श्रेष्ठ डेपुटी गभर्नर बन्न सकेका थिएनन् ।

प्रधानमन्त्री ओलीले नै निलम र बमबहादुरलाई डेपुटी गभर्नर बनाउन अर्थमन्त्रीलाई निर्देशन दिएपछि पौडेलले चाहँदा चाहँदै पनि श्रेष्ठले मौका पाएनन् । प्रधानमन्त्री ओलीले श्रेष्ठलाई पछि हेरौंला भनेर बचन दिएकाले यसपटक एमालेको भागमा गभर्नर परेमा उनी गभर्नर बन्ने संभावना रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्