Logo
Logo

‘इनफ इज इनफ’ : प्रधानमन्त्री बोलिरहे, युवाले सुनिरहे


- एमपी सुब्बा


  • एमपी सुब्बा

प्रधानमन्त्री केपी शर्माले ओलीले ‘कोभिड–१९ नियन्त्रण गर्न सरकार पारदर्शी ढंगले सक्रिय’ रहेको बताइरहँदा अस्पतालको बेडमा पल्टिरहेका युवाले नसुनेझैँ गरे । प्रधानमन्त्रीतिर एकहोरो हेरे, तर, ओठ खोलेनन् । प्रधानमन्त्री ओलीले माक्सभित्रैबाट थपे, ‘ढुक्क हुनुस्, कोभिड–१९ नियन्त्रण गर्न सरकार सफल हुन्छ ।’ तर, युवाहरु प्रधानमन्त्रीको आश्वासनप्रति ढुक्क नभएको अनुहारबाटै प्रष्टिएको थियो किनकि, एक शब्द बोलेनन्, प्रधानमन्त्री ओली बोलिरहँदा दायाँ–वायाँ आँखा डुलाइरहे ।

यो गत साता धुम्बाराहीस्थित ह्याम्स अस्पतालको दृश्य हो । प्रधानमन्त्री ओली गएको बिहीबार धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनशनकारीको स्वास्थ्य बुझेका थिए । प्रधानमन्त्री ओलीले करिब २० मिनेट ह्याम्स अस्पतालको वार्डमा बिताए । जहाँ उनले युवाहरुलाई आश्वास्त पार्ने प्रयास गरेका थिए ।

नेताहरु सत्ता र पद टिकाउन रातदिन दौडधुप गरिरहँदा जनतामा भने कोरोनाबाट आक्रान्त बनेका छन् । दैनिक बृद्धि भइरहेका संक्रमितहरुको उपचारमा समेत सरकारको ध्यान जान सकेको छैन । भोलीका दिनमा इटली, अमेरिका, बेलायतमा जस्तै नेपालमा पनि कोरोनाको भयावह स्थिति नआउँला भन्न सकिन्न । तर, यसबारे सरकार अझै गम्भीर बन्न सकेको छैन । यदि युवाहरुको मागलाई सरकारले गम्भीर रुपमा लिएमात्रै पनि जनता केही ढुक्क हुने स्थितिमा पुग्थे ।

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकार सक्रिय रहेको र सरकारको कामकारबाही र पारदर्शीतामा शंका नगर्न सुझाइरहँदा ती युवाको आँखा अर्को बेडतिर तर्किएको थियो । ‘यो सरकार जनताकै सरकार हो, सरकार हामी सबैको हो’ प्रधानमन्त्री आफ्नो हरेक भाषणमा बोल्ने शब्द त्यहाँ पनि दोहो¥याए, ‘यो महमारीमा जनताको जिउज्यान जोगाउने सरकारको पहिलो प्राथमिकता हो ।’ चिकित्सकसँग ती युवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि स्वाथ्यलाभको कामना गर्दै प्रधानमन्त्री त्यहाँ विदा भए ।

तर, युवाहरु ढुक्क छैनन् । ‘सरकारको आश्वासन धेरै सुनियो, अब अति नै भइसक्यो’, ‘ती युवाले भने, ‘अब हामी गफ सुन्न चाहँदैनौँ, सरकारको काम व्यवहारमै हेर्न चाहन्छौँ ।’ लतितपुरको पाटन दरबार स्क्वायरमा अनशनमा बसिरहेकै बेला ती युवाको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो । विभिन्न सञ्चारमाध्यममा ‘इनफ इज इनफ’ समूहका युवा सत्याग्रहमा बसेकै बेला अस्वथ्य भएको समाचार आएपछि प्रधानमन्त्री ह्याम्स असप्ताल पुगेर अवस्था बुझेका हुन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारको लापरबाही र कामकारबाहीमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा केही युवाले ‘इनफ इज इनफ’ गु्रप बनाएर सरकारलाई दवाव सुरु गरेका थिए । सामाजिक सञ्जालमार्फत सुरुवात भएको दवावमूलक आन्दोलनले केही दिनमै बृहत्तरुप लियो ।

युवाहरुको माग जायज भएकाले ऐक्यवद्धता दिनदिनै बढ्दै गयो । जनता कोरोना महामारीको त्रासदी रुमालिरहेका बेला सरकार भ्रष्टाचार र आन्तरिक खिचलोमा लिप्त भएपछि जनआक्रोश बढ्दै गर्दा ‘इनफ इज इनफ’ सुरुवात भएको हो । जतिखेर कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन जारी गरेको ‘लकडाउन’ले जनता विक्षिप्त बन्दै गएका थिए भने गरिब, मजदूर एवं श्रमिक वर्ग भोकभोकै हुन थालेका थिए ।

जनस्वाथ्यमा मात्र नभएर राहत प्याकेजमा समेत भ्रष्टाचार बढ्दै गएपछि जनता आक्रोशित हुनु सामान्य हो । तर, ‘इनफ इज इनफ’ यस्तो आन्दोलन हो, जहाँ सहभागी कुनै राजनीति दलसँग जोडिएका छैनन् । विशुद्ध जनहितका लागि सडकमा ओर्लिएका युवाले क्वारेन्टिनमा बसेकाहरुको पीसीआर टेस्ट गरिनुपर्ने, कोरोना रोकथाम तथा उपचारमा भएको खर्च पारदर्शी गरिनुपर्ने, स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी गरिनुपर्नेलगायत माग गरेका छन् । उनीहरु एक सातासम्म प्लेकार्डसहित सडकमै ओर्लिएका थिए ।

सडकमा युवाहरुको भीड बढ्दै गएपनि शान्तिपूर्ण थियो । सरकारले जारी गरेको ‘लकडाउन’को नियम पालना गरेरै उनीहरु सडकमा ओर्लिएर सरकारलाई खबरदारी गरिरहेका थिए । तर, त्यसैबेला सरकार धरपकडमा उत्रिएपछि युवाहरु संयमित भएर सत्याग्रह सुरु गरेका हुन् ।

सरकारले जबसम्म जनताको आवाज सुन्दैन, तबसम्म आफूहरुको आन्दोलन जारी रहने सत्याग्रहमा सहभागी युवा सुदन गुरुङले बताएका छन् । सरकार कोभिड–१९ विरुद्धको तयारी र व्यवस्थापन गर्न अक्षम भएको निष्कर्षसहित सबल व्यवस्थापनको माग आफूहरु सत्याग्रह सुरु गरेको उनको भनाइ छ । सत्याग्रहमा बसेकै बेला अस्वथ्य भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल महाराजगन्ज पु¥याइएको गुरुङले प्राथमिक उपचारपछि अस्पतालमै अनशनलाई निरन्तरता दिइरहेका छन् । अन्य सत्याग्रहीहरु अभियन्ता ई, शुभानी प्रजापति, पुकार बम र पुजा केसीले पनि अनशनलाई निरन्तरता दिइरहेका छन् ।

‘इनफ इज इनफ’ भन्ने अभियान बालुवाटारबाट शुरु गरेको भएपनि देशैभरि फैलिएको थियो । आन्दोलनबाट अत्तालिएको सरकारी पक्षले प्रदर्शनमा घुसपैठ गरी आन्दोलनलाई कमजोर पार्न खोजिएको आरोप अभियन्ताले लगाउँदै आएका छन् । पहिलो चरणको आन्दोलनपछि युवाहरुले विरोधको स्वरुपलाई परिवर्तन गर्दै सत्याग्रह सुरु गरेका हुन् ।

‘इनफ इज इनफ’ गु्रपले जारी गरेको विज्ञप्तिमार्फत सत्याग्रहमा ऐक्यवद्धता जनाउन आमसमुदायलाई आग्रह गरेको छ । ‘देश सार्वजनिक स्वास्थ्य संकट, विकराल आर्थिक विपत्ति र अरू कैयौँ क्षेत्रमा चुनौतीहरूले घेरिइरहेको बेला नेपाली जनता आफ्नो आधारभूत आवश्यकता र अधिकारहरूको सुरक्षाका लागि लड्दैछन्,’ उक्त समूहको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजलाई पहिल्यैदेखि पिरोल्दै आएका गम्भीर सामाजिक र आर्थिक असमानताको कारण हामीमध्ये सबैभन्दा नाजुक अवस्थामा रहेका प्रवासी नेपाली, दलित र महिलाहरूले अहिले अरुलेभन्दा धेरै संघर्ष गर्नुपरिरहेको छ ।’ कोभिड–१९ को रोकथाम तथा व्यवस्थापनमा सरकारबाट देखाउनुपर्ने कार्यतीव्रता, पारदर्शिता र जवाफदेहिता नदेखिएकाले त्यसको प्रतिक्रियास्वरूप देशभरि नै नागरिक पहलमा शृंलाबद्ध अहिंसात्मक गैरदलीय विरोध प्रदर्शनहरू भइरहेको ‘इनफ इज इनफ’ले जनाएको छ ।

यसैबीच युवाहरुको आन्दोलनप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐक्यवद्धता जनाएका छन् । उनी युवाहरुको सत्याग्रह स्थल पाटन दरबार क्षेत्र पुगेर ऐक्यवद्धता जनाएका हुन् । पाटन दरबार परिसरमा डा. भट्टराईले अनसनरत युवाको ज्यान जोखिममा पर्दै गएको हुँदा सरकारको ध्यान जानुपर्ने बताएका थिए । डा. भट्टराईका अलावा नेपाली कांग्रेसका नेता गगन थापाले अनसन बसेका युवालाई भेटेर ऐक्वद्धता जनाएका छन् । युवाहरूले स्वतन्त्रतपूर्वक अभियान सञ्चालन गरेकोमा भट्टराईले आफ्नो ऐक्यवद्धता रहेको बताएका छन् । ‘यो स्वतन्त्रपूर्वक चलेको अभियानमा ऐक्यवद्धता छ,’ उनले शोसल मिडिया ट्विटरमा लेखेका छन्, ‘माग राज्यले सुन्नुपर्छ ।’

यस्तै कांग्रेसका नेता थापाले संसद वा पार्टीबाट आफूले स्वतन्त्रपूर्वक चलेको अभियानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । युवाहरुले सामाजिक सञ्जालमार्फत् कुराकानी गरेर देशका विभिन्न ठाउँमा सरकारलाई खबरदारी गर्दै सुरु गरेको प्रदर्शनलाई जारी राख्ने बताएका छन् । युवाहरुको विज्ञप्तिपछि विभिन्न नेता तथा व्यक्तिहरुले ऐक्यवद्धता जनाइसकेका छन् । उनीहरुलाई ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले समेत भेटेर युवाहरुको मागलाई सर्मथन गरेका छन् ।

यस्तै, युवाहरुको मागप्रति साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पनि ऐक्यवद्धता जनाएका छन् । उनले खाना, पानी केही नखाई सत्याग्रह बसेका युवाहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै त्यसमा तत्काल सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् । तर, युवाहरुको मागप्रति सरकारको ध्यान जान सकेको छैन ।

देशमा दिनदिनै कोरोना संक्रमित बढिरहेका छन् । संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले पनि नेपालमा कोरोनाभाइरसले भयावह स्थिति निम्ताउन सक्ने भन्दै पटक–पटक चेतावनी दिँदै आएको छ । एकातिर डब्लुएचओले चेतावनी दिँदै आएको छ भने, अर्कोतिर युवाहरुले खबरदारी गरिरहँदा समेत सरकारले आन्तरिक खिचलोमै व्यस्त रहेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको अहिलेको अवस्थामा कोरोना भाइरस डरलाग्दो रुपले जाग्दै गएको छ । नेताहरु सत्ता र पद टिकाउन रातदिन दौडधुप गरिरहँदा जनतामा भने कोरोनाबाट आक्रान्त बनेका छन् । दैनिक बृद्धि भइरहेका संक्रमितहरुको उपचारमा समेत सरकारको ध्यान जान सकेको छैन । भोलीका दिनमा इटली, अमेरिका, बेलायतमा जस्तै नेपालमा पनि कोरोनाको भयावह स्थिति नआउँला भन्न सकिन्न । तर, यसबारे सरकार अझै गम्भीर बन्न सकेको छैन । यदि युवाहरुको मागलाई सरकारले गम्भीर रुपमा लिएमात्रै पनि जनता केही ढुक्क हुने स्थितिमा पुग्थे । तर, प्रधानमन्त्री ओलीले भाषणमा मात्रै ‘ढुक्क हुनुस्’ भन्ने अनि व्यवहारमा नउतार्ने भएपछि अझै जनआक्रोश बढ्दै जाने छ । जसले सरकारलाई समेत अप्ठ्यारोमा नपार्ला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्