Logo
Logo

प्रथम शहीद लखन थापा मगर सङ्ग्रहालय निर्माणका लागि २ लाख ५१ हजार सहयोग


4.7k
Shares

काठमाडौं । प्रथम शहीद लखन थापा मगर सांस्कृतिक सङ्ग्रहालय भवन निर्माणका लागि नेपाल मगर संघ वैदेशिक शाखा कुवेतले २ लाख ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

बुधबार मगर संघ केन्द्रीय कार्यालय कलंकीमा आयोजित एक कार्यक्रमबीच मगर संघ कुवेतका द्वितीय उपाध्यक्ष तथा सङ्ग्रहालय अभियान कुवेत शाखाका संयोजक केदार आले मगरले संघका केन्द्रीय अध्यक्ष एवं प्रथम शहीद लखन थापा मगर सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अभियानका संयोजक ज्ञानेन्द्र पुन मगरलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा संघका सह अध्यक्ष गंगा थापा मगर,उपाध्यक्ष रक्षा रैका मगर, जगत रेस्मी मगर, महासचिव टेकबहादुर नाम्जाली मगर, कोषाध्यक्ष पुर्ण राना मगर, विदेश सचिव छत्र घले, सदस्य कैलाश केप्छाकी मगर, मगर संघ कुवेतका पूर्व महिला उपाध्यक्ष नानु राना मगर र युवा संगठन कुवेत शाखाका पूर्व प्रमुख राम बहादुर रोक मगर उपस्थिति थिए ।

प्रथम सहिद लखन थापा मगर सांस्कृतिक सङ्ग्रहालयमा मगर जातिको सांस्कृतिक पहिचान, भेषभुषा, परिकार र सिङ्गो मगर समुदायको इतिहासलाई समेटेर निर्माण गरिने मगर संघका अध्यक्ष पुनले बताए । अध्यक्ष पुनले प्रथम शहीद लखन थापा मगर सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण गर्न सम्पूर्ण मगर समुदायलाई सहयोगको आग्रह गरे । साथै उनले प्रथम शहीद लखन थापा मगर सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण गर्ने कर्तव्य नेपाल सरकारको भए पनि सरकार उदासीन देखिएको बताए ।

गत डिसेम्बर २०२४ मा कार्यवाहक अध्यक्ष जय आले मगरको अध्यक्षतामा बसेको संघको १५२औं मासिक बैठकले सङ्ग्रहालय निर्माणको लागि केन्द्रीय समितिद्वारा पेस गरेको परिपत्रहरूका आधारमा तत्कालै द्वितीय उपाध्यक्ष केदार आले मगरलाई सङ्ग्रहालय अभियान रकम संकलनको कुवेत संयोजकको जिम्मेवारी दिने निर्णय गर्दै संकलन अभियान सुरु गरेको थियो ।

मगर संघ कुवेतले रकम संकलन अभियान अनिश्चित कालसम्म निरन्तर रहने जनाउँदै सहयोग गर्न इच्छुक मगर दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयोजक केदार आले मगर, अध्यक्ष जय आले मगर, संरक्षक मनु भुजेल मगर र मगर संघ शाखा कुवेतको कुनै पनि पदाधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्