काठमाडौं । प्राक्टिकल बिषयमा अध्ययन नै नगरी खुल्ला विश्वविद्यालयबाट बीएस्सीको प्रमाणपत्र ल्याएर प्रमुख नापी अधिकृत(उपसचिव) मा बढुवा हुन सबै शक्ति प्रयोग गरेका सुग्रिव यादवको प्रयास असफल भएको छ । केही दिन नबित्दै लोकसेवा आयोगलाई समेत गुमराहमा पारी अर्को बढुवा गर्ने चलखेल भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयले ग्लोबल युनिभर्सिटी, नागाल्याण्ड भारतबाट ल्याइएको माष्टर अफ साइन्स(एम.एससी. रिमोट सेन्सिङ बिषयलाई मान्यता तथा समकक्षता दिन रोक लगाइसकेको छ । तर भूमि ब्यवस्था मन्त्री बलराम पोखरेल र सचिव अर्जुन पोखरेललाई प्रभावमा पारी बढुवा हुन यादवले त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रमा बिषयको बारेमा नसोधी विश्वविद्यालयलाई मान्यता छ कि छैन भनेर काइते भाषा प्रयोग गरी सोध्न लगाएका थिए । तर दृष्टि साप्ताहिकको निरन्तरको खबरदारीपछि यादवको बढुवा हुने प्रयास असफल भएको थियो ।
लाखौं लाख खर्च गर्दा पनि दृष्टिले किनुवा प्रमाणपत्रका आधारमा बढुवा हुन लागेको समाचार प्रकाशित गरेपछि भूमिब्यवस्था मन्त्रालयका सहसचिव मदन कोइरालाले पाठ्यक्रम विकास केन्द्रमा सोधीखोजी गरी पछि हटेका थिए । भूमिब्यवस्था मन्त्रालय अन्तर्गतकै नापी अधिकृत ज्योति ढकाललाई बढुवा गर्न लोकसेवा आयोगलाई समेत झुक्याउने काम नापी बिभागका योजना शाखा प्रमुख दामोदर ढकाल र सहसचिव गणेशप्रसाद भट्टले गरेका छन् । भूगोल विषयमा स्नातकोत्तर तह उत्तीर्णसँग सिनियर नापी तालिम अनिवार्य चाहिने ब्यवस्था रहेको छ । तर ढकाल र भट्टले लोकसेवा आयोगमा गएर सिनियर नापी तालिम आवश्यक नपर्ने भनी नापी अधिकृत ढकालको दरखास्त लिन लगाएर परीक्षा समेत भइसकेको छ ।
लोकसेवा आयोगलाई यसरी झुक्याइयो
नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को अनुसूची–३ (सेवा प्रवेशका लागि चाहिने न्यूनतम शैक्षिक योग्यताको प्रकरण १३ सर्भे समूहको लागि) मा ‘राजपत्रांकित तृतीय श्रेणीको पदको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सर्भेमा स्नातक वा सो सरह उत्तीर्ण वा भूगोलमा स्नातकोत्तर उपाधि प्राप्त गरी एक वर्षको सिनियर नापी तालिम वा सरहको तालिम प्राप्त वा गणित विषयसहित विज्ञान विषयमा स्नातक वा सो सरह उत्तीर्ण वा सिभिल इन्जिनियरिङ विषयमा स्नातक वा सो सरह उतिर्ण गरी एक वर्षको तालिम प्राप्त’ भन्ने उल्लेख छ ।
राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पदको लागि ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट सर्भेमा स्नातकोत्तर उपाधि प्राप्त वा भूगोल वा गणितसहित विज्ञान विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरह र एक वर्षको सिनियर नापी तालिम प्राप्त’ भन्ने उल्लेख छ ।
२०६८ भदौ १२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को अनुसूची–३ (सेवा प्रवेशका लागि चाहिने न्यूनतम शैक्षिक योग्यताको प्रकरण १३ सर्भे समूहको लागि) को सट्टा सेवा प्रवेशका लागि चाहिने न्यूनतम शैक्षिक योग्यतामा परिवर्तन गरी राजपत्रांकित तृतीय श्रेणी (नापी अधिकृत वा सो सरह) को पदका लागि ‘मान्यताप्राप्त शिक्षण संस्थाबाट सर्भेमा वा जियोमेटिक्स इन्जिनियरिङमा स्नातक वा सो सरह उत्तीर्ण गरेको’ भन्ने उल्लेख छ ।
राजपत्रांकित द्वितीय श्रेणी (प्रमुख नापी अधिकृत वा सो सरह) र प्रथम श्रेणी (सहसचिव वा सो सरह) को पदका लागि ‘राजपत्रांकित तृतीय श्रेणी (नापी अधिकृत वा सो सरह) को पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको र मान्यता प्राप्त शिक्षण संस्थाबाट सर्भे वा जियोमेटिक्स इजिनियरिङसँग सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो सरह उतिर्ण गरेको’ भन्ने उल्लेख छ ।
२०६८ कात्तिक २१ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल इन्जिननयरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को अनुसूची–३ (सेवा प्रवेशका लागि चाहिने न्यूनतम शैक्षिक योग्यता) को प्रकरण १३ (सर्भे समूहको लागि) को सट्टा सेवा प्रवेशका लागि चाहिने न्यूनतम शैक्षिक योग्यतामा ‘तर सम्वत् २०६८ साल भदौ १२ गते सूचना प्रकाशित हुनुअघि इञ्जिनियरिङ सेवा, सर्भे समूहमा बहाल रहेका कर्मचारीको हकमा त्यस्तो सेवा समूहमा प्रवेश गर्दा तोकिएको शैक्षिक योग्यता नै न्यूनतम शैशिक योग्यता मानिने छ’ भनी थप गरिएको छ ।
लोकसेवा आयोगबाट २०८१ असोज ३०मा प्रकाशित सूचना नं. ४०८–०८१–८२ विज्ञापन नं. १७१८७–०८१–८२, नेपाल इन्जिनियरिङ्ग सेवा, सर्भे समूह, राजपत्राङ्कित द्धितीय श्रेणी, प्रमुख नापी अधिकृत वा सो सरह (उपसचिवस्तर) खुला (महिला) पदको परीक्षाका लागि नापी विभागको योजना शाखामा कार्यरत नापी अधिकृत ज्योति ढकालले लोकसेवा आयोगमा दरखास्त पेश गरेकी थिइन् । नापी अधिकृत ढकालले काठमाडौं विश्वविद्यालय धुलिखेलबाट जियोमेटिक्स इन्जिनियरिङमा स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन् । २०६८ साल भदौ १२ गते सूचना प्रकाशित हुनुअघि इन्जिनियरिङ सेवा, सर्भे समूहमा बहाल रहेका कर्मचारीको हकमा राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पदको लागि ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट सर्भेमा स्नातकोत्तर उपाधि प्राप्त वा भूगोल वा गणितसहित विज्ञान विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरह र एक वर्षको सिनियर नापी तालिम प्राप्त गरेको हुनुपर्दछ ।
२०६८ साल भदौ १२ गते सूचना प्रकाशित भइसकेपछि इञ्जिनियरिङ सेवा, सर्भे समूहमा सेवा प्रवेश गर्नेको हकमा राजपत्रांकित द्वितीय श्रेणी (प्रमुख नापी अधिकृत वा सो सरह) र प्रथम श्रेणी (सहसचिव वा सो सरह) को पदका लागि ‘राजपत्रांकित तृतीय श्रेणी (नापी अधिकृत वा सो सरह) को पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको र मान्यता प्राप्त शिक्षण संस्थाबाट सर्भे वा जियोमेटिक्स इन्जिनियरिङसँग सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्दछ ।
नापी अधिकृत ढकालको हकमा २०६८ भदौ १२ अगाडि सेवा प्रवेश गरेकाले नापी अधिकृतको लागि तोकिएको न्यूनतम योग्यता त पुग्यो तर इञ्जिनियरिङ सेवा, सर्भे समूहमा राजपत्रांकित द्वितीय श्रेणी (प्रमुख नापी अधिकृत वा सो सरह) पदको खुला प्रतियोगिताका लागि सर्भेमा स्नातकोत्तर उपाधि प्राप्त वा भूगोल वा गणितसहित विज्ञान विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरह र एक वर्षको सिनियर नापी तालिम प्राप्त वा सर्भे वा जियोमेटिक्स इजिनियरिङसँग सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेमा उनले भूगोल विषयमा स्नातकोत्तर तहमात्र उत्तीर्ण गरेको, जसलाई सर्भे वा जियोमेटिक्स इजिनियरिङसँग सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो सरह भन्न मिल्दैन । भूगोल विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी एक वर्षको सिनियर नापी तालिम प्राप्त गरेको हुनुपर्दछ । तर ढकालले एक वर्षको सिनियर नापी तालिम प्राप्त गरेकी छैनन् ।
शुरुमा नापी अधिकृत ढकालको दरखास्त लोकसेवा आयोगले स्वीकृत गरेको थिएन । नापी विभाग योजना शाखाका निर्देशक दामोदर ढकाल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका इञ्जिनियरिङ सेवा, सर्भे समूहका सहसचिव गणेश भट्टले लोकसेवा आयोगमा गई जियोमेटिक्स इजिनियरिङमा स्नातक गरेकालाई सिनियर नापी तालिम चाहिंदैन भनी शैक्षिक योग्यताको गलत ब्याख्या गरी गराई ढकालको दरखास्त गैरकानुनी तवरबाट स्वीकृत गरिएको छ ।
जियोमेटिक्स इजिनियरिङमा स्नातक गरेकाको हकमा सिनियर नापी तालिम नचाहिने भनी नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ लाई संशोधन गर्नुप¥यो, संशोधन नहुँदासम्म नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ मा स्पष्ट रुपमा लेखिएको ब्यवस्थालाई मान्नुपर्यो । भूगोल विषयमा स्नातकोत्तर तह उत्तीर्णसँग सिनियर नापी तालिम अनिवार्य चाहिन्छ । उक्त नियमको गलत ब्याख्या गरी दरखास्त स्वीकृत गरी ढकालले परीक्षा दिएकाले लोकसेवा आयोगले आफ्नो गरिमा एवं साख जोगाउनका लागि नियम विपरीतको दरखास्त र सो बमोजिम उनले दिएको परीक्षासमेत अस्वीकृत एवं रद्द गर्नुपर्ने हुन्छ ।











