काठमाडौंमा राजसंस्थाको पक्षमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन पूर्णतः असफल भएको छ । प्रदर्शनका कारण राजधानीका केही स्थानहरूमा तनाव उत्पन्न भएको सामान्य भन्दा सामान्य अवस्थामा पनि काठमाडौको सुरक्षा व्यवस्थालाई नियन्त्रणमा लिन नसक्नु सुरक्षा अंगको कमजोरीको रुपमा लिइएको छ । प्रधानमन्त्रीसहितको राष्ट्रिय सुरक्षा परिषदमा भएको छलफलमा पनि काठमाडौको सुरक्षा चुक रहेको समीक्षा गरिएको थियो ।

प्रहरीले शुक्रबार दिउँसो ३ बजेदेखि राति १० बजेसम्म कफ्र्यू लागू गरेको थियो, जुन शनिबार बिहान ७ बजेबाट हटाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कफ्र्यू हटाउने निर्णयको सूचना जारी गर्दै स्थिति सामान्य बन्दै गएको बताएपनि काठमाडौ परिसरको कमाण्ड गरेका एसएसपी विश्व अधिकारीले कमजोर कमाण्डर बनेका छन् । प्रदर्शनका क्रममा, राजसंस्था पुनस्र्थापनाका पक्षमा उठेका आवाज र ज्यान गुमाएका दुई युवाको दुखद घटनाले आन्दोलनलाई हिंसात्मक बनायो ।
प्रदर्शनकारीहरूले निजी घरहरू, व्यावसायिक भवनहरू, दलका कार्यालय र सवारीसाधनहरूमा तोडफोड र आगजनी गरेका छन् भने कतिपय स्थानमा लुटपाटसमेत भएको छ । प्रदर्शनमा व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका पक्षमा संघर्षरत कार्यकर्ताहरूले हिंसात्मक गतिविधिहरू गरेका थिए ।
तीनकुनेमा आयोजना भएको प्रदर्शनमा शुरूवातदेखि नै गडबड र हिंसा फैलिन थालेको थियो । यसतर्फ काठमाडौ परिसर प्रमुखको ध्यान जान नसकेको स्पष्ट भएको छ । यसै क्रममा, पत्रकार सुरेश रजकले प्रदर्शनको रिपोर्टिङ गर्दै थिए, तर प्रदर्शनकारीहरूले आगो लगाएको भवनमा फसेर उनको मृत्यु भएको थियो । त्यसै दिन प्रहरीको गोलीबाट कीर्तिपुरका सविन महर्जनको पनि ज्यान गयो ।
प्रहरीका अनुसार, प्रदर्शनका क्रममा ५३ जना नेपाल प्रहरीका कर्मचारी र २४ जना सशस्त्र प्रहरीका कर्मचारी घाइते भए । झडपमा ३५ प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी अधिकारीहरूको भनाइ अनुसार, प्रदर्शन योजनाबद्ध भएको थियो । तर त्यसलाई नियन्त्रणमा लिने सुरक्षा योजना निकै कमजोर थियो ।
प्रदर्शनको सुरुवातमै दुर्गा प्रसाईंले आफैं गाडी चलाउँदै प्रहरीलाई धक्का दिँदै निषेधित क्षेत्र तोड्न प्रयास गरेका थिए । प्रहरीले उनलाई रोक्न प्रयास नगर्दा घट्नाले झन उग्र रुप लियो । प्रसाईंलाई मात्र होइन, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, लगायतका नेताहरूले पनि प्रदर्शनलाई उग्र बनाउन निर्देशन दिएका थिए । प्रत्यक्षदर्शीका अनुसार, दुर्गा प्रसाईं र रवीन्द्र मिश्रले प्रदर्शनकारीलाई प्रहरीको घेरा तोड्न उक्साएका थिए, जसले स्थिति अझ जटिल बनायो ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवाको रेसमा रहेका अधिकारीहरूले एसएसपी विश्व अधिकारीको नेतृत्व र क्षमतामाथि प्रश्न उठेको छ । कुनै पनि बेला काठमाडौको कुनै पनि यूनिट कमाण्ड नगरेका र प्रहरी प्रधानकार्यालयमा फाइल बोकेर तलमाथि गरेका अधिकारीले काठमाडौको भूगोल वस्तुस्थिति बुझ्न नसक्दा यस्तोअवस्था आएको हो । उनी एसपी हुँदा मोरङ र कैलाली दुवै ठाउँमा असफल भएका प्रहरी अधिकारी हुन् । काठमाडौ पनि उनी असफल भएका छन् । लामो सोर्सबाट काठमाडौ आएका उनले राम्रो कार्यसम्पादन र क्षमता देखाउन सकेनन् ।











