Logo
Logo

दुर्घटना कम गर्न टिपरलाई समय निर्धारण


- दृष्टि न्युज/संवाददाता


रुपन्देही । गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले टिपर चालकलाई समय तालीका लागू गरेको छ । तीव्र गतिका कारण सडक दुर्घटना बढेको भन्दै नियन्त्रणका लागि ट्राफिक प्रहरीले आइतबारदेखि टिपरका लागि समय तालीका निर्धारण गरेको हो । ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ का प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीका अनुसार पाल्पाको सिद्धबाबादेखि भैरहवा, कपिलवस्तुको गोरूसिङ्गेदेखि बर्दघाटसम्म चल्ने टिपरलाई समय निर्धारण गरिएको हो ।

मुख्य राजमार्ग क्षेत्र र बजार क्षेत्रमा चल्ने टिपरको गति नियन्त्रण गरी सडक दुर्घटना कम गर्ने उद्देश्यले आजदेखि लागुहुने गरी समय निर्धारण गरिएको उहाँले बताउनुभयो । अबदेखि टिपर चालकले पाल्पाको सिद्धबाबादेखि बुटवल धागो कारखानासम्मको ७ किलोमिटर दूरी २१ मिनेटमा पार गर्नुपर्नेछ । तोकीएको समयभन्दा छिटो पुग्ने टिपरका चालकलाई कारबाही हुने प्रहरीले जनाएको छ ।
यस्तै सुनवलदेखि बर्दघाट ३४ मिनेट, सिद्धबाबादेखि मङ्गलापुर ३० मिनेट, मंगलापुरदेखि अञ्चलपुर भैरहवा १८ मिनेट, कपिलवस्तुको गोरूसिङगेदेखि सैनामैनाको मुर्गिया ६४ मिनेट, मुर्गियादेखि धागो कारखानासम्म ४० मिनेट र मुर्गियादेखि तिलोत्तमा मंगलापुरसम्मको दूरी पार गर्न ४८ मिनेट कायम गरिएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्